विराटनगर, उद्योग संगठन मोरङले सञ्चालन गरेको बिजनेस एट स्कुल कार्यक्रमको चौथो श्रृंखला सम्पन्न भएको छ । उद्योग तथा व्यवसाय क्षेत्रमा युवाहरूलाई प्रेरित गर्दै स्वदेशमा रोजगारी तथा स्वरोजगारका अवसर पहिचान गर्न सक्षम बनाउने उद्देश्यले उक्त कार्यक्रम आयोजना गरिएको हो ।
इन्स्योर परियोजनाको प्राविधिक सहयोगमा सञ्चालित कार्यक्रममा कक्षा ९ र १० का विद्यार्थीलाई उद्योग, प्रविधि, सीप, रोजगारी तथा उद्यमशीलतासँग प्रत्यक्ष रूपमा जोड्ने गतिविधि सञ्चालन गरिएको थियो । कार्यक्रममा मनमोहन पोलिटेक्निकले ‘इन्टरनेट अफ थिङ्स, ज्ञान अटोमेशनले ‘इन्डस्ट्रियल अटोमेशन’ तथा शीर्षक इन्टरप्राइजेजले ‘सिसिटिभि क्यामेरा सेटअप’ सम्बन्धी विषयमा ‘टेस्ट द ट्रेनिङ’ सञ्चालन गरेका थिए ।
साथै विद्यार्थीका लागि करियर काउन्सेलिङ, सीप तथा उत्पादन प्रदर्शनी, लाइभ तालिम, सफल व्यक्तिहरूसँग अनुभव आदानप्रदान लगायतका कार्यक्रम पनि सञ्चालन गरिएको थियो । कार्यक्रमलाई थप प्रविधिमैत्री बनाउँदै विद्यार्थीका लागि भर्चुअल रियालिटी प्रविधि मार्फत भर्चुअल उद्योग भ्रमणको व्यवस्था समेत गरिएको संगठनका अध्यक्ष नन्दकिशोर राठीले बताए ।