काठमाडौं, नेपाल र जापानबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७०औँ वर्षगाँठका अवसरमा काठमाडौंमा ‘नेपाल–जापान महोत्सव २०२६’ आयोजना हुने भएको छ ।
‘संस्कृतिमार्फत ऐक्यबद्धता’ नारासहित आगामी मंसिर ६ गते दरबारमार्गमा महोत्सव आयोजना गर्न लागिएको हो । महोत्सवमा नेपाली तथा जापानी संगीत, कला र संस्कृतिसँगै पर्यटन तथा व्यापारसम्बन्धी गतिविधि समावेश गरिने आयोजकले जनाएको छ । नेपाल र जापानबीचको जनस्तरीय सम्बन्ध, सांस्कृतिक आदानप्रदान र आपसी सद्भावलाई प्रवद्र्धन गर्ने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागिएको हो ।
महोत्सवको प्रमुख आकर्षणका रूपमा जापानी सांगीतिक समूह गोडाईगोको प्रस्तुति रहनेछ । उक्त समूहले सन् १९८० मा काठमाडौंस्थित दशरथ रंगशालामा प्रस्तुति दिएको थियो । चार दशकभन्दा बढी समयपछि समूह नेपालमा पुनः प्रस्तुति दिन आउन लागेको आयोजक नेपाल–जापान महोत्सव २०२६ कार्यकारी समितिले जनाएको छ ।
कार्यक्रममा नेपाली कलाकारहरूको सांगीतिक प्रस्तुति तथा नेपाल र जापानसँग सम्बन्धित सांस्कृतिक, पर्यटकीय र व्यापारिक प्रदर्शनीसमेत आयोजना गरिनेछ । आयोजकका अनुसार महोत्सव सञ्चालनका लागि आवश्यक खर्च कटाएर बाँकी रहने रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा प्रदान गरिनेछ । महोत्सवले नेपाल–जापानबीचको सांस्कृतिक सम्बन्धलाई थप सुदृढ गर्नुका साथै नेपालको पर्यटन प्रवद्र्धन र अन्तर्राष्ट्रिय पहिचान विस्तारमा योगदान पु¥याउने आयोजकको भनाइ छ ।