काठमाडौं, सशस्त्र प्रहरी बल नेपालले बाढी, पहिरो तथा डुबान जस्ता मनसुनजन्य विपद्बाट हुनसक्ने जनधनको क्षति न्यूनीकरण एवं खोज तथा उद्धारका लागि देशभर ६ सय ५० वटा जोखियुक्त ठाउँहरूमा ११ हजार ७ सय भन्दा बढी जनशक्ति उच्च सतर्कताका साथ परिचालन अवस्थामा राखेको छ ।
सम्भावित जोखिमयुक्त क्षेत्रहरूमा सशस्त्र प्रहरी बल नेपालले मनसुनजन्य प्राकृतिक विपद्को उच्च जोखिमलाई ध्यानमा राख्दै देशभर व्यापक पूर्वतयारी तथा परिचालन योजना तयार गरी कार्यान्वयमा ल्याउनुकासाथै थप जनशक्ति र उद्धार सामग्रीहरूको प्रभावकारी व्यवस्थापनसमेत गरेको छ । जसअन्तर्गत २ हजार ६० जना विपद् व्यवस्थापन तालिमप्राप्त जनशक्तिका साथै १ सय ३३ जना गोताखोर, २ सय २४ जना रोप रेस्क्युलगायत उच्च भू–भाग खोज तथा उद्धार तालिम प्राप्त सशस्त्र प्रहरी कर्मचारीहरू प्रत्यक्ष रूपमा खटिएका छन् । यसका अतिरिक्त डुवानमा परेकाहरूको उद्धारको लागि १ सय ३ वटा र्याफ्ट बोट, ५८ वटा मोटर बोटसमेत तयारी अवस्थामा राखिएको हो । खोज तथा उद्धार कार्यलाई थप प्रविधिमैत्री र प्रभावकारी बनाउन ३० वटा तालिमप्राप्त के–नाइन डग स्क्वाड र ५ वटा विशेष ड्रोनहरू इयरमार्क गरी परिचालनको लागि तयारी अवस्थामा राखिएको छ ।
जोखिमयुक्त क्षेत्रमा विपद्बाट सडक अवरोध भएमा तत्काल हटाउन वा खुलाउन तथा हेभी रेस्क्युका लागि विपद् जोखिमयुक्त नदी करिडोरहरू र प्रदेशस्थित बाहिनी मुख्यालयहरूमा ह्विल लोडर, क्रेन र एक्साभेटर जस्ता हेभी इक्युपमेन्टहरू तयारी अवस्थामा राखिएको छ । त्यस्तै उच्च जोखिममा रहेका सुनकोशी, सप्तकोशी, भोटेकोशी, त्रिशूली, नारायणी, बाग्मती नदी तथा विष्णुमती, बल्खु, मनोहरा, हनुमन्ते, नख्खुलगायत खोलाहरूमा आवश्यक उद्धार सामग्रीसहित विपद् व्यवस्थापन जनशक्ति तयारी हालतमा राखिएको छ ।