काठमाडौँ, सरकारले निक्षेप तथा कर्जा सुरक्षण कोष र नेपाल स्टक एक्सचेन्जमा प्रमुख कार्यकारी अधिकृत (सीईओ) तथा नेपाल बीमा प्राधिकरणमा अध्यक्ष नियुक्त गरेको छ ।
मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले तीनवटै निकायमा रिक्त स्थानमा उनीहरूलाई नियुक्ति दिएको हो । यसअनुसार निक्षेप तथा कर्जा सुरक्षण कोषको कार्यकारी अधिकृतमा पिताम्बर भण्डारीलाई नियुक्त भएका छन् । अर्थ मन्त्रालयमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भण्डारीलाई नियुक्तिपत्र प्रदान गर्दै सफल कार्यकालको शुभकामना दिए । संस्थाको गरिमा र नागरिकको निक्षेप सुरक्षाको जिम्मेवारीमा कटिबद्ध हुन उनले भण्डारीइलाई निर्देशन दिए ।
त्यस्तै नेपाल स्टक एक्सचेञ्ज (नेप्से)को प्रमुख कार्यकारी अधिकृतमा प्रताप सुवेदी नियुक्त भएका छन् । अर्थ मन्त्रालयले गठन गरेको छनौट समितिको सिफारिसमा मन्त्रिपरिषद् बैठकले सुवेदीलाई प्रमुख कार्यकारी अधिकृत पदमा नियुक्त गरेको हो । सुवेदीलाई पनि अर्थमन्त्री वाग्लेले नियुक्तिपत्र प्रदान गर्दै इमानदारीपूर्वक कार्य सम्पादन गर्न निर्देशन दिएका छन् ।
यसैगरी नेपाल बीमा प्राधिकरणको अध्यक्षमा राजनविक्रम थापालाई नियुक्त गरिएको छ । अर्थ मन्त्रालयले गठन गरेको छनोट समितिको सिफारिसको आधारमा मन्त्रिपरिषद् बैठकबाट थापा अध्यक्ष नियुक्त भएका हुन् । मंगलबार नै अर्थमन्त्री वाग्लेले थापालाई पद तथा गोपनीयताको शपथ गराएका थिए । शपथपछि अर्थमन्त्री डा. वाग्लेले निर्देशन दिँदै नवनियुक्त अध्यक्ष थापालाई बिमा क्षेत्रको श्रेय वृद्धिमा निडर र निर्धक्क भएर काम गर्न निर्देशन दिएका थिए ।