काठमाडौँ, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले नेपाली उत्पादनलाई अन्तर्राष्ट्रिय बजारमा स्थापित गर्ने उद्देश्यले नेपाल प्रत्यायन केन्द्र (एनएसी) सञ्चालनमा ल्याएको छ । उद्योग मन्त्री दीपक कुमार साहले बुधबार त्रिपुश्वेरस्थित नेपाल प्रत्यान केन्द्रको उद्घाटन गरेसँगै यो सञ्चालनमा आएको हो ।
मन्त्री साहले नेपाली उद्योगलाई प्रतिस्पर्धी बनाउने, उपभोक्ताले गुणस्तरीय र सुरक्षित वस्तु तथा सेवा प्राप्त गर्ने सुनिश्चितता बढाउने नेपाली उत्पादनलाई अन्तर्राष्ट्रिय बजारमा स्थापित गर्ने उद्देश्यले केन्द्रको स्थापना गरिएको बताए । उनले यसलाई नेपालको औद्योगिक विकास र व्यापार सहजीकरणका लागि महत्वपूर्ण उपलब्धिका रुपमा हेरिएको बताए । ‘हाम्रो उद्देश्य उद्योग खोल्ने वातावरण बनाउनु मात्र होइन, नेपाली उद्योगलाई गुणस्तरीय, प्रतिस्पर्धी र विश्व बजारमा स्थापित गर्नु हो । नागरिकले सुरक्षित वस्तु पाउनुपर्छ, उद्योगीले अनावश्यक खर्च र झन्झटबाट मुक्ति पाउनुपर्छ र नेपाली उत्पादनले विश्व बजारमा सम्मानजनक स्थान बनाउनुपर्छ । मन्त्रालय यसका लागि परिणाममुखी सुधारमा प्रतिबद्ध छ’, मन्त्री साहले भने ।
सरकारले प्रत्यायन ऐन, २०७९ अन्तर्गत नेपाल प्रत्यायन केन्द्रको स्थापना र सञ्चालन गर्ने छ । केन्द्रले प्रयोगशालाहरू, परीक्षण केन्द्रहरू र प्रमाणीकरण संस्थाहरूले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मापदण्डअनुसार काम गरे÷नगरेको जाँच गरी मान्यता प्रदान गर्नेछ । ‘एक पटक प्रमाणित, जताततै मान्य’ को सिद्धान्तअनुसार केन्द्रले प्रमाणित गरेपछि नेपाली वस्तु तथा सेवालाई अन्तर्राष्ट्रिय बजारमा पहुँचयोग्य बनाउन सघाउने मन्त्रालयका प्रवक्ता जितेन्द्र बस्नेतले जानकारी दिए ।
उनका अनुसार केन्द्रको सञ्चालनबाट अब प्रयोगशाला, मेडिकल ल्याब, निरीक्षण तथा प्रमाणीकरण गर्ने संस्थाले नेपालमै प्रत्यायन सेवा प्राप्त गर्ने आधार तयार भएको छ । यसले उद्योगी तथा व्यवसायीको परीक्षण र प्रमाणीकरणसम्बन्धी समय र खर्च घटाउन, गुणस्तर सुधार गर्न तथा विदेशी निकायमाथिको निर्भरता कम गर्न सहयोग पुग्नेछ । साथै खाद्य पदार्थ, औषधिजन्य उत्पादन, निर्माण सामग्री, विद्युतीय उपकरणलगायत वस्तुको गुणस्तर परीक्षण गर्ने संस्थाको विश्वसनीयता अभिवृद्धि हुँदा आम उपभोक्ताको स्वास्थ्य, सुरक्षा र हित संरक्षणमा समेत सकारात्मक योगदान पुग्ने अपेक्षा गरिएको छ ।
नेपालको निर्यात व्यापारलाई सहज बनाउन अन्तर्राष्ट्रिय प्रत्यायन तथा पारस्परिक मान्यताको व्यवस्था विकास गर्न केन्द्रले महत्वपूर्ण भूमिका खेल्नेछ । यसबाट नेपाली उत्पादनको गुणस्तरप्रति अन्तर्राष्ट्रिय विश्वास बढाउन र निर्यातकर्ताको लागत तथा प्रक्रियागत झन्झट घटाउन समेत सहयोग पुग्नेछ । प्रवक्ता बस्नेतका अनुसार केन्द्रले मुलुकमा भएका प्रयोगशाला, परीक्षण संस्था, प्रमाणीकरण निकाय र निरीक्षण निकायहरूको प्राविधिक क्षमता र गुणस्तरको मूल्यांकन तथा मान्यता प्रदान दिने काम गर्नेछ । प्रवक्ता बस्नेतका अनुसार मन्त्रालयको काम उद्योग खोल्ने वातावरण बनाउनु मात्र होइन, नेपाली उद्योगलाई गुणस्तरीय, प्रतिस्पर्धी र विश्व बजारमा स्थापित गर्नु हो ।
नागरिकले सुरक्षित वस्तु पाउनुपर्छ, उद्योगीले अनावश्यक खर्च र झन्झटबाट मुक्ति पाउनुपर्छ र नेपाली उत्पादनले विश्व बजारमा सम्मानजनक स्थान बनाउनुपर्छ भन्ने विषयलाई आत्मसात् गर्दै मन्त्रालयले प्रत्यायन केन्द्रको संस्थागत तथा प्राविधिक क्षमता विकास, अन्तर्राष्ट्रिय मान्यता प्राप्तिका लागि आवश्यक प्रक्रिया अघि बढाउने, स्वदेशी प्रयोगशालाको क्षमता अभिवृद्धि गर्ने र उद्योगी तथा निर्यातकर्तालाई गुणस्तरसम्बन्धी सेवा सहज बनाउने कार्यलाई प्राथमिकता दिने बताइएको छ ।
उद्योगको लागत घटाउने, उपभोक्ताको विश्वास बढाउने र नेपाली उत्पादनलाई विश्व बजारसँग जोड्ने दिशामा यस केन्द्रको सञ्चालन कोशेढुङ्गा सावित हुनेछ भन्ने कुरामा मन्त्रालय विश्वस्त रहेको मन्त्री साहले बताए । केन्द्र काठमाडौंमा रहने यसको प्रमुख अध्यक्ष रहने व्यवस्था प्रत्यायन ऐन, २०७९ले गरेको छ । सो ऐनअनुरूप केन्द्रले समरूपता परीक्षण तथा प्रत्यायनसम्बन्धी नीतिगत विषयमा नेपाल सरकारलाई परामर्श दिने, समरूपता परीक्षणसम्बन्धी काम कारबाहीलाई प्रभावकारी बनाउन आवश्यक नीतिको मस्यौदा तयार गरी स्वीकृतिका लागि नेपाल सरकारसमक्ष सिफारिस गर्नुपर्ने हुन्छ । यसैगरी विदेशी संस्थाले नेपालमा गरेको प्रत्यायनसम्बन्धी काम कारबाहीको अनुगमन गर्नेछ, केन्द्रले प्रदान गर्ने सेवाबापत लाग्ने शुल्क निर्धारण गर्ने र प्रत्यायनसम्बन्धी काम कारबाहीको स्वतन्त्रता र निष्पक्षता सुनिश्चित गर्ने सम्बन्धमा आवश्यक निर्देशन दिने काम केन्द्रले गर्नेछ ।
साथै केन्द्रले प्रत्यायनसम्बन्धी प्राप्त गुनासो सुनुवाइ गरी आवश्यक निर्णय गर्ने, प्रत्यायनका सम्बन्धमा आवश्यकताअनुसार द्विपक्षीय, बहुपक्षीय र अन्तर्राष्ट्रिय सन्धि, सम्झौताहरूको अध्ययन गरी केन्द्रलाई निर्देशन दिने र केन्द्रबाट पेस भएका प्रस्तावहरूउपर छलफल गरी आवश्यक निर्णय गर्नुपर्ने हुन्छ । यसैगरी केन्द्रले प्रयोगशाला विश्लेषण, अंशांकन (क्यालिब्रेसन), वस्तु, सेवा, प्रक्रिया वा व्यक्तिको क्षमता वा प्रणालीको प्रमाणीकरण, निरीक्षण, प्रमाणित सन्दर्भ सामग्री उत्पादन तथा प्रवीणता परीक्षणजस्ता कार्य गर्दा निर्धारित मापदण्ड पालना गरे वा नगरेको सुनिश्चित गर्नुपर्ने हुन्छ ।