काठमाडौँ, फाइनान्स कम्पनीहरूको वित्तीय अवस्था संकटग्रस्त बन्दै गएको देखिएको छ । सञ्चालनमा रहेका १६ फाइनान्समध्ये दुई फाइनान्स कम्पनी अझै पनि समस्याग्रस्त घोषणा भई सुधारकै प्रक्रियामा रहेको र बाँकी १४ वटाले चालू आर्थिक वर्षको पहिलो त्रैमासिक अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गर्दा छवटा खुद नोक्सानीमा गएका छन् । बाँकीको नाफा पनि खासै नबेढकाले वित्तीय अवस्था संकटग्रस्त देखिएको हो ।
सार्वजनिक वित्तीय विवरणले अधिकांश फाइनान्स कम्पनीको वित्तीय अवस्था कमजोर रहेको देखाएको छ । १४ मध्ये ६ वटा कम्पनी खुद नोक्सानीमा रहँदा बाँकी आठवटा कम्पनीले मात्रै खुद मुनाफा कमाएका छन् । अपरिष्कृत वित्तीय विवरणअनुसार चालू आर्थिक वर्षको पहिलो त्रैमासमा सबैभन्दा बढी खुद नोक्सानी बेहोर्ने कम्पनीमा रिलायन्स फाइनान्स देखिएको छ । कम्पनीले समीक्षा अवधिमा १२ करोड दुई लाख ७७ हजार रुपैयाँ खुद नोक्सानी बेहोरेको छ । यद्यपि गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीको खुद नोक्सानी १६ करोड ४८ लाख २७ हजार रुपैयाँ रहेको थियो । यसले घाटा घटे पनि कम्पनीको वित्तीय अवस्था अझै नाफामा फर्किन नसकेको देखिएको छ । यसैगरी प्रोग्रेसिभ फाइनान्सले पनि चार करोड ३१ लाख ५० हजार रुपैयाँ खुद नोक्सानी बेहोरेको छ । गत आवको पहिलो त्रैमासमा फाइनान्सको यस्तो नोक्सानी ३९ लाख ८० हजार रुपैयाँ मात्रै थियो ।
नेपाल फाइनान्सले समीक्षा अवधिमा दुई करोड ९९ लाख ५२ हजार रुपैयाँ खुद नोक्सानी बेहोरेको छ । गत आवको पहिलो त्रैमासमा यो फाइनान्सको खुद नोक्सानी पाँच करोड ९६ लाख ६० हजार रुपैयाँ थियो । त्यसैगरी पोखरा फाइनान्सले चार करोड ७० लाख ३३ हजार रुपैयाँ खुद नोक्सानी बेहोरेको छ । गत आवको सोही अवधिमा फाइनान्सको घाटा छ करोड ४५ लाख २३ हजार रुपैयाँ रहेको थियो । अपरिष्कृत वित्तीय विवरणअनुसार जानकी फाइनान्स पनि खुद नोक्सानीमा गएको छ । फाइनान्सले चालू आवको पहिलो त्रैमासमा ८५ लाख ८५ हजार रुपैयाँ खुद नोक्सानी बेहोरेको छ । गत आवको सोही अवधिमा भने फाइनान्सले १८ लाख ४५ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । गुहेश्वरी मर्चेन्ट बैंकिङ एण्ड फाइनान्स कम्पनीले पनि समीक्षा अवधिमा ३५ लाख ७५ हजार रुपैयाँ खुद नोक्सानी बेहोरेको छ । यद्यपि गत आवको पहिलो त्रैमासमा कम्पनीको खुद नोक्सानी तीन करोड सात लाख ६६ हजार रुपैयाँ थियो ।
नोक्सानीमा रहेका फाइनान्स कम्पनीहरूको संख्या उल्लेख्य भए पनि केही फाइनान्सले भने सन्तोषजनकरुपमा खुद मुनाफा आर्जन गरेका छन् । श्री इन्भेष्टमेन्ट एन्ड फाइनान्स कम्पनीले चालू आवको पहिलो त्रैमासमा एक करोड ९६ लाख ५० हजार रुपैयाँ खुद नाफा कमाएको छ । गत आवको सोही अवधिमा यो फाइनान्सको नाफा ३४ लाख ४३ हजार रुपैयाँ मात्रै थियो । गोर्खाज फाइनान्सले पनि गत वर्षको घाटाबाट बाहिर निस्कँदै चालू आवको पहिलो त्रैमासमा छ करोड ७४ लाख ५९ हजार रुपैयाँ खुद नाफा कमाएको छ । गत वर्षको सोही अवधिमा कम्पनीले चार करोड २४ लाख १५ हजार रुपैयाँ खुद नोक्सानी बेहोरेको थियो । त्यस्तै, आईसीएफसी फाइनान्सले समीक्षा अवधिमा छ करोड ९७ लाख ८८ हजार रुपैयाँ खुद नाफा कमाएको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीको नाफा दुई करोड २४ लाख ५५ हजार रुपैयाँ थियो । गुडविल फाइनान्सले पनि नाफा बढाएको छ । कम्पनीले चालू आवको पहिलो त्रैमासमा छ करोड ३१ लाख ५० हजार रुपैयाँ खुद नाफा कमाएको छ । गत आवको सोही अवधिमा कम्पनीको खुद नाफा तीन करोड ७३ लाख ८४ हजार रुपैयाँ थियो ।
अपरिष्कृत वित्तीय विवरणअनुसार सेन्ट्रल फाइनान्सले पनि दुई करोड नौ लाख ४२ हजार रुपैयाँ खुद मुनाफा कमाएको छ । गत आवको सोही अवधिमा यो फाइनान्सको नाफा एक करोड ८४ लाख ४४ हजार रुपैयाँ रहेको थियो । मञ्जुश्री फाइनान्सले भने गत वर्षको तुलनामा नाफा घटाएको छ । कम्पनीले चालू आवको पहिलो त्रैमासमा दुई करोड ३८ लाख ५९ हजार रुपैयाँ खुद नाफा कमाएको छ । गत आवको सोही अवधिमा कम्पनीको नाफा चार करोड ६३ लाख ९८ हजार रुपैयाँ थियो । त्यस्तै, मल्टीपर्पस फाइनान्सले ३२ लाख ६५ हजार रुपैयाँ खुद नाफा कमाएको छ । गत आवको पहिलो त्रैमासमा कम्पनीको नाफा एक करोड ३५ लाख ६७ हजार रुपैयाँ रहेको थियो । बेष्ट फाइनान्सले भने गत वर्षको घाटाबाट बाहिर निस्कँदै चालू आवको पहिलो त्रैमासमा दुई करोड १४ लाख ३२ हजार रुपैयाँ खुद नाफा कमाएको छ । गत आवको सोही अवधिमा कम्पनीले पाँच करोड १७ लाख ४७ हजार रुपैयाँ खुद नोक्सानी बेहोरेको थियो ।