काठमाडौं, नेपाल धितोपत्र बोर्डले धितोपत्र दलाल व्यवसायीलाई पुँजी, जोखिम वहन क्षमता, सेवा विविधीकरण र संस्थागत क्षमताका आधारमा चार श्रेणीमा वर्गीकरण गरेको छ ।
‘पुँजीबजार सुदृढीकरण तथा पुनरुत्थान कार्ययोजना २०८३’ अन्तर्गत बोर्डले ‘धितोपत्र दलाल व्यवसाय सुदृढीकरण नीति २०८३’ लागू गर्दै ब्रोकर कम्पनीको वर्गीकरण गरेको हो । वर्गीकरणअनुसार श्रेणी ‘क’ मा धितोपत्र व्यापारी, ‘ख’ मा पूर्ण सेवा दिने धितोपत्र दलाल, ‘ग’ मा कारोबारमुखी धितोपत्र दलाल र ‘घ’ मा विशिष्टीकृत धितोपत्र दलाल रहनेछन् ।
नीतिले ब्रोकर व्यवसायमा पर्याप्त पुँजी, व्यावसायिक सुशासन, आधुनिक प्रविधि, प्रभावकारी जोखिम व्यवस्थापन र ग्राहक संरक्षणलाई प्राथमिकता दिएको छ । मार्जिन कारोबार, धितोपत्र सापटी तथा उधारो, सर्ट सेलिङ, अन्तरदिवसीय कारोबार र बजार निर्माताका लागि छुट्टाछुट्टै स्वीकृति आवश्यक हुने व्यवस्था गरिएको छ । त्यस्तै, ग्राहक गुनासो व्यवस्थापन, लगानीकर्ता क्षतिपूर्ति कोष, दैनिक वा वास्तविक समयको विवरण उपलब्ध गराउने तथा संकटग्रस्त ब्रोकरको समस्या समाधानका लागि छुट्टै फ्रेमवर्कको व्यवस्था गरिएको छ ।
ब्रोकरले न्यूनतम चुक्ता पुँजीसँगै जोखिममा आधारित पुँजी पर्याप्तता कायम गर्नुपर्ने तथा डिजिटल केवाईसी, मल्टिफ्याक्टर अथेन्टिकेसन, अर्डर तथा जोखिम व्यवस्थापन प्रणाली, साइबर सुरक्षा, नियमित आईटी अडिट र पेनिट्रेसन टेस्टिङजस्ता व्यवस्था पालना गर्नुपर्ने नीतिमा उल्लेख छ ।
बोर्डले नीति तीन चरणमा कार्यान्वयन गर्दै विद्यमान ब्रोकरलाई नयाँ मापदण्डमा ल्याउन संक्रमणकालीन अवधि दिने जनाएको छ। यस क्रममा ग्याप एसेसमेन्ट, कम्प्लायन्स प्लान, पुँजी तथा प्रविधि स्तरोन्नति र पुनः वर्गीकरण प्रक्रिया अघि बढाइनेछ । साथै, ब्रोकर व्यवसायमा मर्जर, प्राप्ति तथा व्यावसायिक एकीकरणलाई समेत सहजीकरण गर्ने बोर्डको नीति छ ।