काठमाडौं, प्रतिनिधिसभाको आजको बैठकले विभिन्न सात विधेयक दफाबार छलफलका लागि सम्बन्धित समितिमा पठाउने प्रस्ताव पारित गरेको छ।बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले ‘केही नेपाल ऐनको व्यवस्था जगाउने विधेयक, २०८३’ र ‘राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय विधेयक, २०८३’ लाई दफाबार छलफलका लागि समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गरेकी थिइन्।
त्यस्तै, पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले ‘फोहरमैला व्यवस्थापन विधेयक, २०८३’ र महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक तथा सामाजिक सुरक्षामन्त्री सीता बादीले सम्बन्धित केही नेपाल ऐन संशोधन गर्ने विधेयक, २०८३ लाई समितिमा पठाउने प्रस्ताव प्रस्तुत गरिन्।स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ‘आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तु (बिक्री वितरण नियन्त्रण) (पहिलो संशोधन) विधेयक, २०८३’, ‘सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार (पहिलो संशोधन) विधेयक, २०८३’, ‘स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी (दोस्रो संशोधन) विधेयक, २०८३’ र ‘रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान विधेयक, २०८३’ दफाबार छलफलका लागि समितिमा पठाउने प्रस्ताव प्रस्तुत गरेकी थिइन्।
बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहका तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गौतमले राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको आठौँ वार्षिक प्रतिवेदन, २०८३ पेस गरिन्।त्यस्तै, सभामा प्रस्तुत हुन नसकेका मौखिक तथा लिखित प्रश्नका उत्तर सम्बन्धित मन्त्रीहरूले टेबुल गरेका थिए।
सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभा नियमावली, २०८३ अनुसार १० वा सोभन्दा बढी बैठकमा अनुपस्थित सांसदहरूको अनुपस्थितिसम्बन्धी सूचना सभाको स्वीकृतिका लागि पेस गरेका थिए।बैठकको अन्त्यमा सभामुख अर्यालले चालु अधिवेशनमा भएका कामकारबाहीबारे विवरण प्रस्तुत गरेका थिए।