नेपाली सेनाको पृतनापति सम्मेलन सम्पन्न भएको छ। बिहीबारदेखि सुरु भएको पृतनापति समन्वयात्मक बैठक शुक्रबार सम्पन्न भएको सैनिक मुख्यालय जंगी अड्डाले जनाएको छ।बैठकको समापन समारोहमा प्रधानसेनापति अशोकराज सिग्देलले यस वर्ष भएका विभिन्न विपद्का घटनामा खोज तथा उद्धार कार्यमा सकलदर्जाले देखाएको क्षमता र व्यावसायिकताको प्रशंसा गरेका छन्।
प्रधानसेनापति सिग्देलले खोज तथा उद्धारका क्रममा नेपाली सेनाले प्रदर्शन गरेको उच्च पेसागत दक्षता र व्यावसायिकता तथा सम्पादन गरेका उदाहरणीय कार्यप्रति धन्यवाद व्यक्त गरे। उनले आगामी दिनमा पनि आफूलाई सुम्पिएको जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्न सकलदर्जालाई निर्देशन दिए।जंगी अड्डाका अनुसार बैठकमा सेनाले यस अवधिमा सम्पादन गरेका कार्यको समीक्षा, वर्तमान परिस्थितिको विश्लेषण, विपद् प्रतिकार्य तथा समसामयिक विषयमा छलफल भएको थियो।