काठमाडौं, महिला उद्यमी तथा व्यवसायीले उत्पादन गरेका वस्तुको बजारीकरण, प्रवद्र्धन तथा व्यापार विस्तार गर्ने उद्देश्यले काठमाडौंको जमलमा ‘चेम्बर बजार’ सुरु भएको छ ।
नेपाल महिला चेम्बरको आयोजनामा शनिबारदेखि जमलमा ‘चेम्बर बजार’ सञ्चालनमा आएको हो । चेम्बर बजारमा खाद्यान्न, लत्ताकपडा, हस्तकलाका सामग्री तथा साल्ट ट्रेडिङलगायतका स्टलहरू रहेका छन् । चेम्बर बजारमा महिला उद्यमी तथा व्यवसायीले उत्पादन गरेका विभिन्न वस्तुका साथै आयात–निर्यातसँग सम्बन्धित सामग्रीको बिक्रीका लागि राखिएको छ । मेला उद्घाटन सत्रमा नेपाल चेम्बर अफ कमर्सकी उपाध्यक्ष उर्मिला श्रेष्ठले महिला उद्यमीका उत्पादनलाई उपभोक्तासम्म पु¥याउन चेम्बर बजारले सहयोग गर्ने बताइन् । ‘महिला उद्यमीका उत्पादनलाई उपभोक्तासम्म पु¥याउने हाम्रो प्रयास हो,’ श्रेष्ठले भनिन्, ‘उत्पादनसँगै व्यवसाय विस्तारका लागि पनि सहयोग पुग्नेछ ।’
महिला उद्यमीले उत्पादन गरेका वस्तुले पर्याप्त बजार नपाउँदा व्यवसाय विस्तारमा समस्या हुने गरेको अवस्थामा उत्पादक र उपभोक्ताबीच प्रत्यक्ष सम्बन्ध स्थापित गर्ने माध्यमका रूपमा चेम्बर बजारलाई अघि बढाउन खोजेनको भनाइ छ । बजारमा खाद्यान्नलगायत दैनिक उपभोग्य वस्तुहरू सुपथ मूल्यमा बिक्री गर्ने व्यवस्था गरिएको छ । चेम्बरका पूर्वाधार तथा भूमि सुधार समिति सभापति रोशन भयोद्योले यस्ता मेलालाई बिस्तार गर्न आवश्यक रहेको बताए । उनले महिला उद्यमीका उत्पादनको प्रवद्र्धनसँगै सर्वसाधारण उपभोक्ताले स्थानीय तथा स्वदेशी उत्पादन सहज रूपमा खरिद गर्न पाउने अवसर सिर्जना हुने उल्लेख गरे । नेपाल महिला चेम्बरकी सचिव इरा प्रसाईंले चेम्बर बजारलाई व्यापारिक कारोबारमा मात्र सीमित नराखी महिला उद्यमीको आर्थिक सशक्तीकरण, सीप विकास र बजार पहुँच विस्तारको अभियानका रूपमा अघि बढाउने लक्ष्य रहेको बताइन् ।
मेलाकी संयोजक अनिता अमात्य श्रेष्ठले बजारमा उत्पादनको बिक्री तथा प्रवद्र्धनसँगै उद्यमशीलता विकाससम्बन्धी गतिविधिसमेत सञ्चालन गरिने बताईन् । चेम्बर बजारलाई आगामी दिनमा काठमाडौंमा मात्र सीमित नराखी देशका अन्य प्रमुख सहर तथा विभिन्न क्षेत्रमा विस्तार गर्ने योजना रहेको नेपाल महिला चेम्बरले जनाएको छ ।