विराटनगर, विराटनगर महानगरपालिका–२ मा नेपाली नागरिकको नाममा दर्ता भएको एक फर्म चिनियाँ नागरिकले सञ्चालन गर्दै आएको पाइएको छ ।
वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय विराटनगरका अनुसार ‘एभरपिक सप्लायर्स’ नामक फर्म चिनियाँ नागरिक लिजोसिज्याकले सञ्चालन गर्दै आएको पाइएपछि उनलाई पक्राउ गरी अनुसन्धान थालिएको छ । उक्त फर्म सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–१ कि राधिका बस्नेत कार्कीका नाममा दर्ता रहेको पाइएको छ ।
जिल्ला प्रशासन कार्यालय मोरङ, वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय र आन्तरिक राजस्व कार्यालयसहितको संयुक्त टोलीले विराटनगर बजारमा अनुगमनका क्रममा नेपालीको नाममा चिनियाँ नागरिकले व्यवसाय संचालन गरेको भेटेको थियो । अनुगमन टोलीले फर्ममा बिक्रीका लागि राखिएका कस्मेटिक तथा घरायसी सामग्रीको खरिद बिल, खरिद स्रोत र कारोबारसम्बन्धी कागजात मागेको थियो । सो क्रममा विदेशी नागरिकबाट भिसाको सर्तविपरीत चिनियाँ नागरिकले व्यापार गरिरहेको भेटिएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय विराटनगरका प्रमुख दीपेश कुमार झाले बताए । भिसाको सर्तविपरीत व्यापारमा संलग्न रहेको पाइएपछि प्रहरीले लिजोसिज्याकलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धानका लागि अध्यागमन विभाग पठाएको छ ।
विराटनगरमा नेपाली नागरिकका नाममा फर्म दर्ता गरेर चिनियाँ नागरिकले व्यापार सञ्चालन गरेको भेटिएको यो दोस्रो घटना हो । यसअघि विराटनगरको सेन्ट्रल मलमा सञ्चालित ‘योनो मार्ट’ मा पनि यस्तै प्रकृतिको घटना भेटिएको थियो । त्यस बेला पनि एक चिनियाँ नागरिक सीए जिङलानलाई प्रहरीले नियन्त्रणमा लिएर अध्यागमन विभाग पठाएको थियो । त्यस बेला प्रहरीले गरेको अनुसन्धानका क्रममा सीएले नेपालमा लगानी गर्ने उद्देश्यले उद्योग विभागबाट बिजनेस भिसाका लागि सिफारिस लिएको खुलेको थियो । तर भिसासँग सम्बन्धित काम नगरी पसल सञ्चालन गरेको पाइएको थियो ।
अनुगमनका क्रममा उनको साथमा सक्कल राहदानीसमेत फेला नपरेको घट्ना बाहिरीएको थियो । यी पछिल्ला घटनाले नेपाली नागरिकका नाममा दर्ता भएका व्यवसायमा वास्तविक लगानीकर्ता र सञ्चालक विदेशीनागरिक भए–नभएको विषयमा प्रशासन कार्यालयले विशेष चासो बढाउनुुपर्नेमा स्थानिय व्यवसायीले जोड दिएका छन् ।
व्यक्तिगत फर्म दर्ता, राजस्व विवरण, स्थानीय तहमा गरिएको व्यवसाय दर्ता तथा आयात र खरिदसम्बन्धी कागजातबीच वास्तविक कारोबार गर्ने व्यक्तिको विवरण मेल खान्छ वा खाँदैन भन्ने विषयमा अनुसन्धान आवश्यक देखिएको छ ।