काठमाडौं, नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्च (सीएनआईवाइईएफ)ले स्टार्ट–अप ह्याकाथन आयोजना गर्ने भएको छ । नेपालमा स्टार्ट–अप उद्यमशीलताको विकास, नवप्रवर्तनलाई प्रोत्साहन तथा सम्भावनायुक्त उद्यमलाई लगानीका अवसरसँग जोड्ने उद्देश्यले सीएनआईवाइईएफले द स्टार्ट–अप नेटवर्क नेपाल (टीएसएन) संगको सहकार्यमा कार्यक्रम आयोजना गर्न लागेको हो । ह्याकाथन काठमाडौं वर्ल्ड स्कुलमा आगामी नोभेम्बर ५ र ६ मा हुने सीएनआईवाइईएफले जनाएको छ । ह्याकाथनको मुख्य उद्देश्य नवीन व्यावसायिक अवधारणा, प्रविधिमा आधारित समाधान तथा बजारमा विस्तार गर्न सकिने सम्भावना भएका स्टार्ट–अपहरूको पहिचान गरी तिनलाई लगानीकर्ता तथा उद्यमशीलता क्षेत्रका सरोकारवालासमक्ष पुग्ने अवसर प्रदान गर्नु रहेको जनाइएको छ । सहभागी टोलीहरूले सीमित समयभित्र आफ्ना व्यावसायिक अवधारणालाई परिष्कृत गर्दै समाधानको सम्भाव्यता, व्यवसायिक मोडेल, बजारको आवश्यकता तथा विस्तारको योजनासहित निर्णायकमण्डलसमक्ष प्रस्तुत गर्नेछन् ।
यस कार्यक्रमबाट उत्कृष्ट तीन स्टार्ट–अप टोली छनौट गरिनेछ । छनोट भएका टोलीले आगामी चरणमा लगानीकर्ता, मार्गदर्शक तथा उद्यमशीलता क्षेत्रका सरोकारवालासमक्ष आफ्ना व्यावसायिक अवधारणा प्रस्तुत गर्ने अवसर प्राप्त गर्नेछन् । ह्याकाथनले उद्यमीहरूलाई आफ्ना समाधान परीक्षण गर्ने, व्यावसायिक अवधारणा सुधार गर्ने र सम्भावित लगानीकर्तासमक्ष पुग्ने अवसर प्रदान गर्ने आयोजकको भनाइ छ । सीएनआईवाईईएफ र द स्टार्ट–अप नेटवर्क नेपालको सहकार्यले युवा उद्यमीहरूलाई प्रोत्साहन गर्नुका साथै नेपालमा नवप्रवर्तनमा आधारित उद्यमशीलता संस्कृतिको विकासमा योगदान पुर्याउने अपेक्षा गरिएको छ । विशेषगरी, यो ह्याकाथनले प्रतिभाशाली उद्यमीलाई पहिचान गर्ने, उनीहरूलाई प्रतिस्पर्धात्मक मञ्च प्रदान गर्ने र लगानीका सम्भावनासँग जोड्ने कार्यलाई व्यवस्थित बनाउने आयोजकको भनाई छ ।