जनकपुरधाम, नेपाल–भारत सीमा सुरक्षा निकायको विहीवार समन्वय बैठक बसेको छ । भारतको जयनगरअन्तर्गत पिपरौन र नेपालको जटहीस्थित नो म्यान्स ल्यान्डको टीटीआरमा बिहीबार भारतको सशस्त्र सीमा बल (एसएसबी) र सशस्त्र प्रहरी बल नेपाल (एपीएफ) का वरिष्ठ अधिकारीबीचको समन्वय बैठक बसेको हो ।
बैठकमा सीमा व्यवस्थापनलाई प्रभावकारी बनाउने विषयमा जोड दिइएको थियो । यसले सीमावर्ती क्षेत्रमा हुने वैध व्यापार, आवागमन तथा आर्थिक गतिविधि थप व्यवस्थित हुने अपेक्षा गरिएको छ । बैठकमा सीमा पार हुने लागुऔषध, अवैध मदिरा, मानव तस्करी तथा प्रतिबन्धित वस्तुको ओसारपसार नियन्त्रणसँगै आगामी चाडपर्वलाई लक्षित गरी वास्तविक समयमै सूचना आदानप्रदान गर्ने सहमति भएको छ । सीमा क्षेत्रमा अवैध गतिविधि नियन्त्रण हुँदा वैध व्यापार र यात्राका लागि सीमाको वातावरण थप सुरक्षित तथा पूर्वानुमानयोग्य बन्न सक्ने देखिन्छ ।
बैठकमा छैटौँ बोर्डर वर्किङ ग्रुप तथा १२औँ र १३औँ एसओसी बैठकका निर्णयअनुसार सीमा स्तम्भको मर्मत, सम्भार तथा निर्माणसम्बन्धी विषयमा समेत छलफल भएको थियो । सीमा स्तम्भ तथा सीमासम्बन्धी संरचनाको नियमित व्यवस्थापनले सीमावर्ती क्षेत्रमा हुने विवाद न्यूनीकरण गर्दै व्यापारिक तथा अन्य आवागमनलाई स्पष्ट र व्यवस्थित बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ । दुवै पक्षले आवश्यक समन्वय र सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । नो म्यान्स ल्यान्डलाई अतिक्रमणमुक्त राख्ने तथा अवैध खेती वा अतिक्रमण देखिए स्थलगत सत्यापनपछि आवश्यक कारबाही अघि बढाउने सहमति पनि भएको छ ।
अवैध सीमा पार गतिविधि नियन्त्रण गर्न नो म्यान्स ल्यान्डमा एसएसबी र एपीएफ नेपालबीच संयुक्त गस्ती तथा संयुक्त अभियानको आवृत्ति बढाउने सहमति भएको छ । यसबाट सीमावर्ती क्षेत्रमा हुने तस्करी तथा अन्य अवैध कारोबार नियन्त्रण गर्ने प्रयास थप प्रभावकारी हुने अपेक्षा गरिएको छ । विशेषगरी लागुऔषध, मानव तस्करी र प्रतिबन्धित वस्तुको अवैध ओसारपसार नियन्त्रणलाई बैठकले प्राथमिकतामा राखेको छ । एसएसबीले जनकपुर आसपास थुराया स्याटेलाइट फोन प्रयोग गर्ने व्यक्ति तथा अन्य शंकास्पद गतिविधिबारे एपीएफ नेपालसमक्ष विषय राखेको थियो । एपीएफ नेपालले त्यस्ता गतिविधिमाथि निगरानी बढाउँदै आवश्यक सूचना वास्तविक समयमै आदानप्रदान गर्ने जनाएको छ ।