काठमाडौं, बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले प्रदेशको समृद्धिका लागि तीन तहका सरकारबीच समन्वय, सहकार्य र सहअस्तित्व आवश्यक रहेको बताएका छन् ।
बागमतीको प्रदेश सुशासन केन्द्रले आयोजना गरेको ‘सङ्घीयता कार्यान्वयनका १० वर्ष’ विषयक अन्तरसंवाद कार्यक्रममा उनले समन्वयका अभावमा काम हुन नसकेको बताए । प्रदेश र स्थानीय तहबीच पर्याप्त समन्वय नहुँदा प्रदेशबाट पठाइएका वित्तीय हस्तान्तरण तथा साना विकास योजनाको कार्यान्वयनमा समस्या देखिएको उनको भनाइ छ । ‘स्थानीय तहसँग समन्वय नगरी प्रदेशस्तरबाट योजना समावेश गर्दा कतिपय प्रभावकारी रूपमा कार्यान्वयन हुन नसकेको अवस्था छ’, उनले भने । तीनै तहका जनप्रतिनिधि र सरकारबीच सहकार्य भएमा विकास निर्माणका योजना प्रभावकारी रूपमा सञ्चालन हुने उनको भनाइ छ । सङ्घीयताको कार्यान्वयनमा भएको कमजोर पक्षको सुधार गर्दै समृद्ध बागमती प्रदेश निर्माणका लागि समन्वय, सहकार्य र सहअस्तित्व आवश्यक रहेकोमा उनले जोड दिए । प्रदेश सरकारले शिक्षा क्षेत्रमा शिक्षक क्षमता विकास, सूचना तथा सञ्चार प्रविधि (आईसीटी) कक्षा तथा आवश्यक उपकरणका लागि बजेट विनियोजन गर्दै आएको उनले बताए । प्रदेशका विभिन्न कार्यक्रमले शिक्षा, स्वास्थ्य तथा समग्र आर्थिक गतिविधिमा योगदान पुर्याइरहेको उनको दाबी छ ।
बागमती प्रदेशका उपसभामुख अप्सरा चापागाईंले सङ्घीयता कार्यान्वयन र सवलीकरणमा प्रदेश सरकारले खेलेको भूमिका महत्त्वपूर्ण रहेको बताइन् । नागरिकमैत्री सेवा प्रवाहमा समन्वय, सहकार्य र सहअस्तित्व आवश्यक रहेको उनको भनाइ छ । सीमित स्रोतसाधनको बाबजुद पनि प्रदेश सरकारले सङ्घीयताको कार्यान्वयनका सन्दर्भमा कानुन निर्माण गर्न प्रभावकारी भूमिका निर्वाह गर्दै आएको उनले बताइन् । बागमती प्रदेशले सङ्घीयताको कार्यान्वयन र सवलीकरणमा सातै प्रदेशको अगुवा प्रदेशका रूपमा आफूलाई स्थापित गर्दै अगाडि बढेको उनको दाबी छ ।
काठमाडौँ महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डङ्गोलले संविधानको अनुसूचीमा लेखिएका अधिकारहरू कार्यान्वयन नभएसम्म सङ्घीयता सवलीकरण नहुने बताइन् । सङ्घीयताको सफल कार्यान्वयनमा तीन तहबीच समन्वय, सहकार्य र सहअस्तित्व आवश्यक पर्ने उनको भनाइ छ । सङ्घीयताको सन्दर्भमा पदमा हुँदा एउटा र नरहँदा अर्को व्याख्या गर्न नहुनेमा जोड दिइन् । राज्यशक्तिको बाँडफाँटको सिद्धान्तलाई तीनै तहबीच कानुनी रूपमा हुनुपर्ने उनको भनाइ छ ।
सङ्घीयताविज्ञ एवं राष्ट्रियसभाका पूर्वसदस्य डा. खिमलाल देवकोटाले सङ्घीयताको कार्यान्वयनसँगै सिंहदरबारको अधिकार नागरिकको घरदैलोमा पुगेको बताए । उनले तीन तहबीचको समन्वयमा शान्ति, सुशासन र विकासमा काम गर्दै सङ्घीयता सवलीकरणमा लाग्नुपर्ने आवश्यकता औँल्याए । चन्द्रागिरि नगरपालिकाका प्रमुख घनश्याम गिरीले भौतिक पूर्वाधारको विकाससँगै नागरिकको आर्थिक, सामाजिक विकास पनि प्रभावकारी रूपले अगाडि बढाइनुपर्नेमा जोड दिए । पहुँचका आधारमा भन्दा पनि नागरिक र समुदायको आवश्यकताका आधारमा विकासलाई अगाडि बढाइनुपर्ने उनको भनाइ छ ।
कार्यक्रममा प्रदेश सचिव उमेशकुमार ढकालले प्रदेश स्थापनादेखि हालसम्म भएका उपलब्धि एवं चुनौती, सेवा प्रवाहमा भएका सुधार तथा संस्थागत विकास, स्थानीय तहसँगको समन्वयलगायत विषयमा प्रस्तुति दिएका थिए ।