काठमाडौंं, ब्रिटिस गोर्खा सैनिक तथा तिनका सन्तानहरूले नेपाली वंशजको नागरिकता निरन्तरता हुनुपर्ने सरोकारवालाहरुले माग गरेका छन् । सोमबार काठमाडौंको संवाद डबलीमा आयोजित कार्यक्रममा उनिहरुले संविधान संशोधन गरी नागरिकतालाई निरन्तरता दिनसमेत आग्रह गरे ।
ब्रिटिस गोर्खा तथा तिनका सन्तानहरूको नेपाली वंशजको नागरिकता निरन्तरता अभियान(सीएनसी बिजी–यूके) उपाध्यक्ष दलबहादुर बुढाथोकीले नेपालको संविधानले नै हाफूहरुको नागरिकता पाउने अधिकार छिनेको आरोप लगाए । ‘नागरिकता ऐन २०६३ को दफा १० को १ मार्फत ‘यदि कुनै नेपाली नागरिकले कुनै विदेशी मुलुकको नागरिकता प्राप्त गरेमा उसको नेपाली नागरिकता नहने’ भन्ने व्यवस्थाले हाम्रो अधिकार गुमेको छ’, बुढाथोकीले भने । आफूहरुको अधिकारका लागि २०७२ को संविधान संशोधन गरी अधिकार सुनिश्चित गर्न सरकारसँग माग गरे ।
भूतपूर्व सैनिक कल्याणकारी समिति, नेपालका अध्यक्ष हुमबहादु थापाले कानुनी तवरबाटै नागरिकता बञ्चित गरिएकोले त्यसैमार्फत नै अधिकार सुनिश्चित गर्न माग गरे । थापाले सरकारले आफूहरुलाई वंशजको नागरिकता निरन्तरतको एक शूत्रीय मागलाई सम्बोधन नगरे दशैँ–तिहारपछि संसद्मा विषय उठाउन पहल तथा सडक आन्दोलनसमेत गर्ने चेतावनी दिए ।
प्रा.डा.सुरेन्द्र केसीले नेपाल, बेलायत र भारतबीच त्रिपक्षीय सन्धीमार्फत भर्ति भएका ब्रिटिस गोर्खाहरुलाई अभिछिन्नरुपले नेपाली वंशजको नागरिकता हुनुपर्नेमा जोड दिए । राज्यस्तरबाटै सहमति भएर भर्तिमा गएका ब्रिटिस आर्मीहरुप्रति राज्यको पूर्वाग्रहिता गलत छ, कानुनी हिसाबबाटै नागरिकता च्युत गरिनु मानव अधिकार विपरित पनि भएको डा. केसीको कथन छ । केसीले राज्यले सहजै नमान्ने भएले संघर्षको लागि तयरी गर्न सुझावसमेत दिए ।
वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले संविधानमै एनआरएनएको दोहोरो नागरिकताको विषयमा उल्लेख हुँदा ब्रिटिस गोर्खा सैनिक तथा उनिहरुका परिवारको विषयमा उल्लेख नगरिनु दुर्भाग्य भएको बताए । बेलायती सैनिक सेवा रज्यद्वारा नै निर्देशित भएकोले एनआरनहरुको भन्दा ब्रिटिस गोर्खाहरुको विषय भिन्न प्रकृतिको भएको र उनिहरुलाई नेपाली वंशजको नागरिकता निरन्तर हुनुपर्ने त्रिपाठीको कथन छ ।
भूतपूर्व सैनिक कल्याणकारी समिति, नेपालका सचिव अधिवक्ता चेतबहादुर आलेले २०७२ को संविधान संशोधन गरि ब्रिटिस गोर्खाहरुको माग सम्बोधन गर्नसकिने धारणा राखे । सहसचिव पूर्णबहादुर रानाले नागरिकता नैसर्गिक अधिकार भएको र गोर्खा सैनिकहरुले अनिवार्य पाउनुपर्ने धारणा राखे ।