विराटनगर, कोशी र मधेश प्रदेशबीच आर्थिक, औद्योगिक, पूर्वाधार तथा पर्यटन क्षेत्रमा सहकार्य विस्तार गर्न निजी क्षेत्रले माग गरेको छ ।
निजी क्षेत्रले आर्थिक सहकार्यको लागी द्रुतमार्ग निर्माण, औद्योगिक पुनरुत्थान, कर प्रणालीमा एकरूपता र सीमावर्ती अवैध व्यापार नियन्त्रणको माग गरेको हो । मोरङ उद्योग व्यापार संघले आइतबार आयोजना गरेको अन्तरप्रदेशीय छलफल कार्यक्रममा संघका पदाधिकारी तथा उद्योगी व्यवसायीले दुई प्रदेशबीच व्यापार र लगानी विस्तारका लागि पूर्वाधार तथा नीतिगत सुधार आवश्यक रहेको बताए ।
संघका वरिष्ठ उपाध्यक्ष अनिल सारडाले विराटनगर–जनकपुर सडकलाई स्तरोन्नति गरी विराटनगरबाट जनकपुर दुई घण्टा र वीरगञ्ज तीन घण्टामा पुग्न सक्ने व्यवस्था गर्न माग गरे । उनले कोशी र मधेश जोड्ने सडक पूर्वाधार कमजोर हुँदा ढुवानी लागत र समय बढेको भन्दै प्रतिघण्टा १०० किलोमिटरको गतिमा सञ्चालन गर्न सकिने द्रुतमार्ग निर्माणको प्रस्ताव गरे । विराटनगर रेलवेलाई जनकपुरसम्म विस्तार गर्न, अव्यावहारिक मूल्य अभिवृद्धि करको पुनरावलोकन गर्न तथा दुवै प्रदेशका करका दरमा एकरूपता कायम गर्न पनि उनले सुझाव दिए ।
संघका निवर्तमान अध्यक्ष अनुपम राठीले कृषि, उद्योग र पर्यटनमा दुवै प्रदेशमा पर्याप्त सम्भावना रहेकाले उत्पादनमुखी नीति आवश्यक रहेको बताए । उनले बैंकिङ क्षेत्रमा पर्याप्त पुँजी उपलब्ध रहे पनि लगानी विस्तारका लागि अनुकूल वातावरण आवश्यक नभएको बताए । सीमावर्ती क्षेत्रमा हुने अवैध चोरी–पैठारी नियन्त्रण तथा भन्सार दर समायोजनमार्फत स्वदेशी उद्योग संरक्षण गर्नुपर्नेमा उनले जोड दिए । संघका अध्यक्ष अनिल कुमार साहले बैंकको ब्याजदर घटे पनि लगानीमैत्री वातावरणको अभावमा निजी क्षेत्र संकुचित अवस्थामा रहेको बताए । उनले दुई प्रदेशबीच उपलब्ध स्रोतसाधनको अधिकतम उपयोग, लगानी आकर्षण र व्यापार विस्तारका लागि संस्थागत सहकार्य आवश्यक रहेको बताए ।
कार्यक्रममा संघका महासचिव अमित कुमार सारडाले उद्योगी व्यवसायीको उधारो रकम असुलीमा देखिएको समस्या समाधानका लागि पहल गर्न आग्रह गरे । उद्योगी प्रवीन नारायण चौधरीले नेपाली उत्पादनलाई भारतका नजिकका बजारमा पहुँच दिलाउन आवश्यक नीतिगत व्यवस्था गर्नुपर्ने बताए । सोनु कुमार दासले विराट राजा दरबार र जनकपुरको जानकी मन्दिरलाई जोडेर विराटनगर–जनकपुर धार्मिक तथा हेरिटेज पर्यटन सर्किट सञ्चालन गर्नुपर्ने प्रस्ताव गरे ।
कार्यक्रमलाई सम्बोधन गर्दै मधेश प्रदेशका प्रदेश प्रमुख तथा अर्थशास्त्री प्रा.डा. सुरेन्द्र लाभ कर्णले नेपालमा रेमिट्यान्समा आधारित अर्थतन्त्र रहेकाले युवालाई उत्पादनशील तथा रोजगारमूलक क्षेत्रमा जोड्नुपर्ने बताए ।
उनले कोशी र मधेश प्रदेशमा विगतमा सञ्चालनमा रहेका तर हाल जीर्ण वा बन्द अवस्थामा रहेका उद्योग पुनः सञ्चालन गर्न तथा औद्योगिक पुनरुत्थानका लागि अन्तरप्रदेशीय सहकार्य आवश्यक रहेको बताए । शिक्षा र स्वास्थ्य सेवा विस्तारमा समेत दुई प्रदेशबीच सहकार्य गर्नुपर्ने उनको भनाइ थियो ।
भूगोल र जनसांख्यिक अवस्थाअनुसार फरक नीति आवश्यक रहेको बताउँदै उनले उद्योगको न्यूनतम लागत उठ्ने अवस्था सिर्जना गर्नुपर्ने र कृषिमा प्रशोधन, प्याकेजिङ तथा ब्रान्डिङमा निजी लगानी आकर्षित गर्नुपर्नेमा जोड दिए । उनले दुवै प्रदेशका पर्यटकीय क्षेत्रको प्रचारप्रसार विस्तार गर्नुपर्ने र विराट राजा दरबारको थप उत्खनन आवश्यक रहेको बताए ।
कार्यक्रममा उठेका सुझाव सम्बोधनका लागि पहल गर्ने प्रतिबद्धता जनाउँदै उनले मोरङ उद्योग व्यापार संघको ७५औँ वर्ष प्रवेशको अवसरमा शुभकामना दिए । कार्यक्रममा संघका पदाधिकारी, कार्यसमिति सदस्य, महिला तथा युवा उद्यमी र सञ्चारकर्मीको सहभागिता थियो ।