काठमाडौं, नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले भोटेकोशी–त्रिशूली करिडोरमा बाढीबाट प्रभावित व्यवसायीहरुको व्यवसाय पुनःसञ्चालनका लागि बेलआउट र ‘बिजनेस रिभाइभल प्लान’ ल्याउन सरकारसँग माग गरेका छन् ।
सिंहदरबारमा मंगलबार बसेको हिमालमा जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय तथा भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी संसदीय विशेष समितिको बैठकमा उनले तत्काल पुनरुत्थानका कार्यक्रम आवश्यक रहेको बताए । बाढीका कारण विशेषगरी साना तथा मझौला व्यवसायीको पुँजी नै नष्ट भएको उनको भनाइ छ । उनका अनुसार धेरै व्यवसायीको सम्पत्ति र व्यवसाय बगाए पनि बैंक तथा वित्तीय संस्थाको ऋण भने बाँकी रहेको छ । उनीहरू थप वित्तीय संकटमा परेको उनले बताए । ‘बाढीले सबै चिज बगाएर लग्यो, ऋणचाहिँ बगाएर लान सकेन’ व्यवसायीको गुनासो उद्धृत गर्दै श्रेष्ठले भने ।
बाढीबाट सर्वस्व गुमाएका व्यवसायीलाई पुनःव्यवसाय सञ्चालन गर्ने वातावरण बनाउन सरकारले ‘बेलआउट’को व्यवस्था गर्नुपर्ने उनको भनाइ छ । यस्तै उनले भोटेकोशी विपद्बाट निजी क्षेत्रमा परेको क्षतिको छुट्टै र व्यवस्थित मूल्यांकन गर्न आवश्यक रहेको बताए । महासंघले पनि फिल्डमै टोली परिचालन गरी अध्ययन गरेको उनको भनाइ छ ।
अध्यक्ष श्रेष्ठले अब बन्ने संरचना बाढी, पहिरो तथा अन्य जलवायुजन्य जोखिमलाई ध्यानमा राख्दै जलवायु उत्थानशील र सुरक्षित बनाउनुपर्नेमा जोड दिए । सडक, पुल, जलविद्युत् आयोजना, पर्यटन तथा व्यावसायिक संरचनालाई पुरानै ढाँचामा पुनर्निर्माण गर्न नहुने उनको भनाई छ । उनले हिमाल तथा नदी करिडोरमा जलविज्ञान, मौसम, उपग्रह, सेन्सर र समुदायमा आधारित पूर्वसूचना प्रणालीलाई एकीकृत गरी प्रभावकारी बनाउनुपर्नेमा जोड दिए । पूर्वसूचना प्रणालीलाई विपद् व्यवस्थापनको साधनका रूपमा मात्र नभई व्यवसाय, लगानी, रोजगारी र उत्पादन जोगाउने आर्थिक पूर्वाधारका रूपमा विकास गर्न उनले माग गरे । समयमै पूर्वसूचना प्राप्त भएमा क्षति न्यूनीकरण गर्न सकिने उनको भनाइ छ ।
वैठकमा उनले जलवायु अनुकूलन, विपद् जोखिम न्यूनीकरण र पुनःस्थापनामा सरकार र निजी क्षेत्रबीच प्रभावकारी सहकार्य आवश्यक रहेको बताए । जलवायु परिवर्तनको प्रभाव न्यूनीकरण तथा अनुकूलनसम्बन्धी नीति निर्माण र कार्यान्वयनमा निजी क्षेत्रलाई प्रभावकारी रूपमा सहभागी गराउनुपर्नेमा उनले जोड दिए । बैठकमा उनले नेपालको जलवायु जोखिमका विषयलाई अन्तरराष्ट्रिय मञ्चमा थप प्रभावकारी ढङ्गले उठाउनुपर्ने बताए ।