काठमाडौ, कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान महासंघ)का पूर्वअध्यक्ष नवराज कुँवर एसियन–ओसियनियन कम्प्युटिङ इन्डस्ट्री अर्गनाइजेसन (असोसियो)को उपाध्यक्षमा पुनः निर्वाचित भएका छन् ।
इन्डोनेसियाको जकार्तामा हालै सम्पन्न असोसियोको ४२औँ वार्षिक साधारणसभा तथा अधिवेशनबाट कुँवर आगामी सन् २०२७–२८ कार्यकालका लागि सो पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । कुँवरले यसअघि पनि क्यान महासंघको प्रतिनिधित्व गर्दै असोसियोमा सन् २०२२ देखि उपाध्यक्षको भूमिका निभाउँदै आएका थिए भने २०२२–२०२४ र २०२५–२०२६ मा उपाध्यक्षको जिम्मेवारी सम्हालेका थिए । उपाध्यक्षमा पुनः निर्वाचित भएपछि कुँवरले नेपाललाई अन्तर्राष्ट्रिय मञ्चमा स्थापित गर्ने आफ्नो प्रयासलाई थप ऊर्जा मिलेको बताए ।
कुँवरले भने, ‘असोसियोमार्फत एसियाली देशहरूमा मजबुत प्रविधि प्रणाली बनाएर नेपाललाई विश्व आईसीटी क्षेत्रमा स्थान दिलाउन सकिन्छ, जसले नवप्रवर्तन, वृद्धि र अन्तर्राष्ट्रिय सहयोगका नयाँ अवसरहरू खोल्नेछ ।’
नयाँ कार्यसमितिमा पीआईकोओएमको प्रतिनिधि गर्दै मलेसियाका अध्यक्ष स्टान सिंह–जितको पूनः नेतृत्वमा नेपाल, मलेसिया, थाइल्यान्ड, मकाउ, म्यानमार, जापान, दक्षिण कोरिया, श्रीलंका, भियतनाम, ताइवान, इन्डोनेसिया, लाओस, सिंगापुर र फिलिपिन्सका सूचना तथा सञ्चार प्रविधि क्षेत्रका संगठनका प्रतिनिधिहरू निर्वाचित भएका छन् ।