काठमाडौं, हिम पर्वत हाइड्रोपावर लिमिटेडले ५९ करोड १५ लाख रुपैयाँ बराबरको प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) गर्ने अनुमति पाएको छ ।
नेपाल धितोपत्र बोर्डले कम्पनीलाई एक सय रुपैैयाँ अंकित दरका ५९ लाख १५ हजार कित्ता सेयर, अर्थात् कुल ५९ करोड १५ लाख रुपैयाँ बराबरको आईपीओ निष्काशनका लागि असोज २० गते (अक्टोबर ६, २०२६) अनुमति दिएको हो । हिम पर्वत हाइड्रोपावरको आईपीओको निष्काशन तथा बिक्री प्रबन्धकको जिम्मेवारी सिटिजन्स क्यापिटल लिमिटेडले पाएको छ। सिटिजन्स क्यापिटलका अनुसार पछिल्ला केही महिनायता पहिलोपटक साधारण सेयर निष्काशनको अनुमति बिक्री प्रबन्धकका रूपमा कम्पनीले प्राप्त गरेको हो ।
बोर्डबाट अनुमति प्राप्त भएसँगै सिटिजन्स क्यापिटलमार्फत हिम पर्वत हाइड्रोपावरले विभिन्न समूहका लगानीकर्ताका लागि शेयर निष्काशन गर्नेछ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा, नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति लिएर विदेशमा रोजगारी गरिरहेका नेपाली, सामूहिक लगानी कोष, कम्पनीका कर्मचारी तथा सर्वसाधारणका लागि सेयर निष्काशन गर्ने जनाएको छ ।
कम्पनीको आईपीओ निष्काशनसँगै जलविद्युत् क्षेत्रमा लगानी गर्न इच्छुक स्थानीय बासिन्दा, वैदेशिक रोजगारीमा रहेका नेपाली तथा सर्वसाधारणका लागि प्राथमिक बजारमार्फत लगानीको थप अवसर सिर्जना हुने भएको छ ।