दोलखा, जिल्लाको बिगु गाउँपालिका–८, खोपाचागुस्थित सोरुङ खोलामा २५ मेगावाट क्षमताको साँघुखोला हिम पर्वत हाइड्रोपावर लिमिटेडले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीका आईपीओ खुल्ला गरेको छ ।
निर्माण सम्पन्न भई झण्डै दुई वर्षदेखि व्यावसायिक रूपमा विद्युत् उत्पादन गरिरहेको आयोजनाले कात्तिक ११ गते बुधबारदेखि साधारण सेयर (आईपीओ) निष्काशन तथा बिक्री खुला गरेको हो । कम्पनीले आयोजना प्रभावित स्थानीय बासिन्दाका लागि १६ लाख ९० हजार कित्ता र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि ४ लाख २२ हजार ५०० कित्ता सेयर निष्काशन गरेको जनाएको छ । दुवै समूहका लागि प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्य निर्धारण गरिएको छ ।
आयोजना प्रभावित स्थानीयका लागि छुट्याइएको सेयरमध्ये १० लाख १४ हजार कित्ता दोलखाको बिगु गाउँपालिका–५, ६, ७ र ८ तथा कालिञ्चोक गाउँपालिका–२, ३ र ४ का स्थायी बासिन्दाका लागि छुट्याइएको छ । यी क्षेत्रलाई आयोजनाको अति प्रभावित क्षेत्रका रूपमा वर्गीकरण गरिएको छ । बाँकी ६ लाख ७६ हजार कित्ता बिगु र कालिञ्चोकका अन्य वडाका स्थानीय बासिन्दाका लागि छुट्याइएको कम्पनीले जनाएको छ ।
स्थानीय बासिन्दाले छिटोमा कात्तिक २५ गतेसम्म र ढिलोमा मंसिर १० गतेसम्म आवेदन दिन सक्नेछन् । वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि भने छिटोमा कात्तिक १६ गतेसम्म र ढिलोमा कात्तिक २५ गतेसम्म आवेदन दिने समय तोकिएको छ । दुवै समूहका आवेदकले न्यूनतम १० कित्ता र अधिकतम १० हजार कित्तासम्मका लागि आवेदन दिन पाउनेछन् ।
स्थानीय बासिन्दाले नेपाल इन्भेष्टमेन्ट बैंक, सिन्धु विकास बैंक र प्रभु बैंकको सिंगटी शाखा, लक्ष्मी सनराइज बैंकको सुनखानी एक्सटेन्सन काउन्टर तथा सिटिजन्स बैंकको चरिकोट शाखाबाट आवेदन दिन सक्ने कम्पनीले जनाएको छ ।
वैदेशिक रोजगारीमा रहेका नेपालीले भने सी–आस्बा प्रणालीमा सहभागी बैंक तथा वित्तीय संस्थामार्फत वा मेरो सेयर अनलाइन प्रणालीबाट आवेदन दिन सक्नेछन् । सेयर निष्काशन तथा बिक्री प्रबन्धक सिटिजन्स क्यापिटल लिमिटेड रहेको छ । आयोजनाले प्रभावित स्थानीयलाई सेयर भर्नाको लागि सार्वजनिक सूचनाहरु स्थानीयहरु रेडियोहरुबाट समेत प्रसारण गरेको छ ।