काठमाडौं, राइड सेयरिङ प्लेटफर्म इनड्राइभले काठमाडौंका ड्राइभर पार्टनर्सलाई लक्षित गर्दै ‘इनड्राइभ प्लाटिनम ड्राइभर्स गिभअवे’ क्याम्पेन सुरु गर्ने भएको छ । नोभेम्बर २ देखि २९ सम्म सञ्चालन हुने क्याम्पेनमा एक जनाले रोयल इन्फिल्ड क्लासिक ३५० मोटरसाइकल जित्ने मौका पाउनेछन् । साथै, सयौँ ड्राइभर पार्टनर्सले विभिन्न पुरस्कार जित्ने अवसर पाउने कम्पनीको भनाइ छ । कम्पनीका अनुसार क्याम्पेनअन्तर्गत चार सातासम्म साप्ताहिक रूपमा पुरस्कार वितरण गरिनेछ ।
पुरस्कारमा चारवटा याडिया इलेक्ट्रिक स्कुटर, १६ वटा सामसङ ग्यालेक्सी ए१७ फाइभजी स्मार्टफोन, २० वटा एयर फ्रायर, २०० जनालाई जनही पाँच हजार रुपैयाँ बराबरको गिफ्ट भौचर र ८०० जनालाई जनही १० लिटर इन्धन बराबरको भौचर समावेश छन् । क्याम्पेनमा सहभागी हुन काठमाडौंमा इनड्राइभमार्फत सेवा दिइरहेका ड्राइभर पार्टनर्सले एक साताभित्र कम्तीमा ६० वटा राइड पूरा गरी ‘प्लाटिनम’ स्तर हासिल गर्नुपर्नेछ । तोकिएको मापदण्ड पूरा गर्ने ड्राइभर पार्टनर्स लक्की ड्रमा सहभागी हुन योग्य हुने कम्पनीले जनाएको छ ।
कम्पनीका अनुसार क्याम्पेन अवधिमा पूरा गरिएको प्रत्येक राइडलाई लक्की ड्रको एक इन्ट्रीका रूपमा गणना गरिनेछ । यसका लागि छुट्टै दर्ता गर्नुपर्ने छैन । ड्राइभर पार्टनर्सले जति धेरै राइड पूरा गर्छन्, पुरस्कारका लागि उनीहरूको लक्की ड्र इन्ट्री पनि त्यति नै बढ्नेछ । चार साताको अवधिमा साप्ताहिक पुरस्कारका विजेता छनोट गरिनेछ भने क्याम्पेन अवधिभर संकलित योग्य इन्ट्रीमध्येबाट अन्तिम बम्पर पुरस्कारका लागि एक जना विजेता चयन गरिने कम्पनीले जनाएको छ ।
इनड्राइभ नेपालकी सिनियर ड्राइभर अपरेसन्स स्पेसलिस्ट सुनिता जिमी राईले ड्राइभर पार्टनर्सको योगदानको कदर र उनीहरूलाई प्रोत्साहन गर्न क्याम्पेन ल्याइएको बताइन् । उनका अनुसार ड्राइभर पार्टनर्सको निरन्तर मेहनत, समर्पण र सक्रिय सहभागितालाई सम्मान गर्नुका साथै प्लेटफर्ममा उनीहरूको योगदानलाई थप प्रोत्साहित गर्ने उद्देश्य क्याम्पेनको रहेको छ ।