नुवाकोट, भोटेकोशी/त्रिशूली नदीमा भदौ १० गते आएको बाढीका कारण नुवाकोट र रसुवा जिल्लाका नदी तटीय क्षेत्रहरू टिमुरे, स्याफ्रुबेँसी, मैलुङ, वेत्रावती, सोले, त्रिशूली बजार, ढुङ्गे, देवीघाट बजारलगायतका क्षेत्रमा जनजीवन, व्यवसाय तथा पर्यटन गतिविधि प्रभावित भएको छ ।
हाल बाढीपछि सिर्जित असहज परिस्थिति क्रमशः सामान्य भइसकेको होटल तथा रेस्टुरेन्ट व्यवसायी संघ, नुवाकोट र होटल तथा पर्यटन व्यवसायी संघ, रसुवाले जनाएको छ ।
प्रशासन, स्थानीय तह तथा सुरक्षा निकायको निरन्तर प्रयासबाट अवरुद्ध भएका मुख्य राजमार्ग खुल्ने चरणमा रहेको तथा कतिपय स्थानीय सडक खण्डहरू खुलिसकेका छन् । बगरमा परिणत भएको क्षेत्र बाहेक अन्य ठाउँमा सडक यातायात सहज भएसँगै दैनिक उपभोग्य वस्तुको आपूर्ति, बजार, व्यापार–व्यवसाय तथा अन्य सेवाहरू पनि नियमित रूपमा सञ्चालन हुन थालेको छ ।
अवस्था क्रमशः सहज हुन थालेपछि संघले विज्ञप्ति जारी गरी नुवाकोट, रसुवा तथा आसपासका व्यापार ,पर्यटन क्षेत्रको पुनःस्थापना र प्रवद्र्धनमा सबैको साथ, सहयोग र सहकार्य आवश्यक रहेको हुँदा देश–विदेशमा रहेका सम्पूर्णलाई प्रभावित क्षेत्रको भ्रमण गरी स्थानीय पर्यटन तथा व्यवसायलाई सहयोग गरिदिन अनुरोध गरेको छ ।
पर्यटकीय गतिविधि, व्यावसायिक काम वा व्यक्तिगत यात्राका लागि नुवाकोट तथा रसुवा आउन चाहनेलाई अनावश्यक डर, त्रास वा द्विविधा नराख्न पनि सघले अनुरोध गरेको छ । आधिकारिक सूचना तथा सम्बन्धित निकायको निर्देशनलाई आधार बनाइ आफ्नो नियमित यात्रा, व्यवसाय तथा पर्यटकीय गतिविधिलाई अगाडि बढाउन सकिने अवस्था रहेको संघको दाबी छ ।