गुल्मी, कालीगण्डकी करिडोरको हर्मिचौर–अर्वेनी–पुर्तिघाट खण्डका विभिन्न स्थानमा वर्षाका कारण खसेको पहिरोले सडक अवरुद्ध भएको कालीगण्डकी करिडोर अहिले सञ्चालनमा आएको छ ।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी वीरेन्द्रवीर विश्वकर्माले सडक डिभिजन कार्यालय पाल्पा र कालीगण्डकी गाउँपालिकाको समन्वयमा डोजर र एक्साभेटर प्रयोग गरी सडकमा थुप्रिएको पहिरो हटाएपछि बुधबार बेलुकादेखि सडक सञ्चालनमा आएको जानकारी दिए ।
सत्यवती गाउँपालिकाको रुद्रवेणीदेखि कालीगण्डकीको हर्मिचौर–अर्वेनी–पुर्तिघाट क्षेत्रमा सडकका विभिन्न स्थानमा लेदो र ठूला ढुङ्गासहित खसेको पहिरो हटाएपछि पालिकाभित्र अवरुद्ध भएका सबै शाखा सडक पनि सञ्चालनमा आएको कालीगण्डकी गाउँपालिकाका अध्यक्ष वेदबहादुर थापाले बताए ।
सडक अवरुद्ध हुँदा त्यस क्षेत्रबाट बागलुङ, पाल्पा, तम्घास, बुटवल तथा पोखरातर्फ आवतजावत गर्ने यात्रुहरु समस्यामा परेका थिए । रोकिएका सार्वजनिक तथा अन्य सवारीसाधनहरु सडक सञ्चालनमा आएपछि गन्तव्यतर्फ जान थालेका छन् ।