माले, माल्दिभ्सले विभिन्न क्षेत्रमा विदेशी लगानीसम्बन्धी नियम कडा बनाएको छ । संशोधित व्यवस्थाअनुसार निर्माण, घरजग्गा, लेखापरीक्षण र सूचना प्रविधिसम्बन्धी निश्चित क्षेत्रमा विदेशी लगानीका लागि कम्तीमा २५ प्रतिशत स्थानीय स्वामित्व अनिवार्य गरिएको छ । सिन्ह्वाका अनुसार केही व्यवसाय भने माल्दिभियन नागरिकका लागि मात्र सुरक्षित राखिएका छन् ।
आर्थिक विकास, यातायात तथा व्यापारमन्त्री मोहम्मद सइदका अनुसार १५ मिलियन अमेरिकी डलरभन्दा कम मूल्यका निर्माण परियोजना र १०० मिलियन डलरभन्दा कम मूल्यका घरजग्गा परियोजनामा विदेशी लगानी गर्न माल्दिभियन नागरिकको कम्तीमा २५ प्रतिशत हिस्सेदारी हुनुपर्नेछ । लेखापरीक्षण र सूचना प्रविधि सेवामा पनि यही नियम लागू हुनेछ ।
त्यस्तै, १०० मिलियन डलरभन्दा कम मूल्यका आवासीय घरजग्गा परियोजना तथा सामान्य समुद्री यातायात सेवाका केही गतिविधि माल्दिभियन नागरिकका लागि मात्र सुरक्षित राखिएका छन् । सन् २०२४ मा लागू भएको विदेशी लगानी ऐनअनुसार ल्याइएको नयाँ व्यवस्थाले करिब १५० विदेशी लगानीमा सञ्चालित व्यवसायलाई समेट्ने मन्त्री सइदले बताएका छन् ।
उनका अनुसार स्थानीय नागरिकका लागि मात्र सुरक्षित गरिएका क्षेत्रमा सञ्चालनमा रहेका २९ विदेशी लगानीका व्यवसाय बन्द भइसकेका छन् भने १७ विदेशी लगानीकर्ताले नयाँ आवश्यकता पूरा गर्न आवेदन दिएका छन् । नयाँ नीतिले थोक तथा खुद्रा व्यापार, लजिस्टिक सेवा तथा माल्दिभ्समा सञ्चालित वायुसेवा कम्पनीका यात्रु र कार्गो बिक्री एजेन्सीलाई समेत समेटेको छ । थोक तथा खुद्रा व्यापारमा सङ्लग्न १७ व्यवसायले स्थानीय सेयरधनीलाई सहभागी गराउन इच्छा देखाएको मन्त्री सइदले जानकारी दिएका छन् ।
नयाँ नियम लागू भएका क्षेत्रमा कार्यरत विदेशी लगानीकर्तालाई व्यवसाय पुनसंरचना गर्न वा सम्बन्धित गतिविधिबाट बाहिरिन समय दिइनेछ । केही क्षेत्रमा भने माल्दिभियन साझेदारसँगको संयुक्त लगानी र साझेदारीको अवसर कायम रहनेछ । आर्थिक मन्त्रालयका अनुसार नयाँ व्यवस्थाको उद्देश्य स्थानीय व्यवसायका लागि अवसर विस्तार गर्नु र आर्थिक विकासमा अन्तरराष्ट्रिय विशेषज्ञताको योगदान लिन सकिने क्षेत्रमा विदेशी लगानीलाई निरन्तरता दिनु हो ।