काठमाडौँ, मलेसिया जाने नेपाली कामदारको बायोमेट्रिक प्रक्रियामा सिन्डिकेट खडा गरी कामदारबाट बढी रकम असुलेको आरोपमा मेडिकल व्यवसायी कैलाश खड्का पक्राउ परेका छन्।यादबलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले वैदेशिक रोजगारीमा जाने कामदारको स्वास्थ्य परीक्षण तथा बायोमेट्रिक प्रक्रियामा संलग्न व्यवसायीमाथि अनुसन्धान अघि बढाएको हो। सोही क्रममा खड्कालाई प्रहरीले बिहीबार बिहान पक्राउ गरेको हो।
खड्कामाथि नेपाली कामदारलाई सिन्डिकेटमार्फत मलेसिया पठाउने र स्वास्थ्य परीक्षणका नाममा कामदारमाथि अतिरिक्त आर्थिक भार पर्ने गरी बढी रकम असुल्ने गरेको आरोप लागेको छ। वैदेशिक रोजगारीमा जाने कामदारको स्वास्थ्य परीक्षणमा सिन्डिकेट खडा गरेको आरोपमा उनीमाथि यसअघि पनि विवाद र अनुसन्धान भएको थियो।विभिन्न संघसंस्थामा आबद्ध खड्का वैदेशिक रोजगार बोर्डका विज्ञ सदस्यसमेत बनेका थिए। उनी स्वास्थ्य व्यवसायी तथा स्वास्थ्य व्यवसायी संघका अध्यक्षसमेत रहेको बताइएको छ।
खड्का २०७७ असारमा वैदेशिक रोजगार बोर्डको विज्ञ सदस्यमा नियुक्त भएका थिए। उनको नियुक्तिको चौतर्फी आलोचना भएपछि उनले २०७७ साउन १ गते बोर्ड सदस्यबाट राजीनामा दिएका थिए। खड्का पूर्व प्रधानमन्त्री केपी ओलीका स्वकिय सचिव राजेश बज्रचार्यका निकट रहेका थिए । त्यस बेला उनले पद दूरुपयोग गरेर बिभिन्न लाभ लिएको स्रमाचार स्रोतले बताएको छ । वैदेशिक रोजगारीमा जाने कामदारबाट रकम असुलेको आरोपमा खड्का यसअघि प्रहरीको फरार सूचीमा समेत परेका थिए। तत्कालीन सरकारले बायोमेट्रिक, भिएलएन, वान स्टप सेन्टर, जिएसजी लगायतका संयन्त्रमाथि कारबाही प्रक्रिया अघि बढाएको थियो।
सोही क्रममा २०७५ जेठ ६ गते ठगीको आरोपमा ४० जनाभन्दा बढी व्यवसायी पक्राउ परेका थिए। तर, खड्का भने त्यसबेला फरार रहेको जनाइएको छ। सरकारले वैदेशिक रोजगारीमा जाने नेपाली कामदारसँग जोडिएका अन्य म्यानपावर व्यवसायी तथा स्वास्थ्य संस्थामाथिसमेत छानबिन प्रक्रिया अघि बढाएको छ। प्रहरीले बायोमेट्रिक तथा स्वास्थ्य परीक्षणका नाममा कामदारमाथि अतिरिक्त आर्थिक भार पार्ने गतिविधिबारे अनुसन्धान गरिरहेको जनाएको छ।