काठमाडौँ, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले पार्टीको अनुशासन आयोगलाई लिखित जवाफ बुझाएका छन्। एक महिलासँग भएको भनिएको फोन संवादमा सुनारले बोलेका विषयलाई लिएर आयोगले थालेको छानबिनका क्रममा उनले लिखित प्रतिक्रिया बुझाएका हुन्। उनले जवाफमा उल्लेख गरेका विषयबारे भने आयोगले तत्काल सार्वजनिक गर्न नमिल्ने जनाएको छ।यस विषयमा छानबिन गर्न रास्वपा अनुशासन आयोगले भट्टराईको नेतृत्वमा ६ सदस्यीय छुट्टै छानबिन समिति गठन गरेको छ। समितिलाई आवश्यक अनुसन्धान गरी रायसहित प्रतिवेदन तयार पार्ने जिम्मेवारी दिइएको छ। समितिको कार्यावधि भने तोकिएको छैन।
भट्टराईका अनुसार अनुसन्धानको पहिलो चरणमा सम्बन्धित व्यक्तिको प्रतिक्रिया लिइएको हो। त्यसबाट आयोग सन्तुष्ट हुन नसकेमा वा थप प्रमाण आवश्यक देखिएमा अनुसन्धानको अर्को चरण अघि बढाइनेछ।छानबिन समितिको पहिलो बैठकले सुनारसँग सम्बन्धित भनिएका अडियो तथा भिडियो सामग्री संकलन गरेको छ। प्रकाशित सामग्रीको स्रोत र वास्तविकता यकिन गर्न सम्बन्धित सञ्चारमाध्यमसँग थप प्रमाण तथा सामग्री माग गर्ने निर्णयसमेत समितिले गरेको छ।
समितिले प्रकाशित सामग्रीको सम्पादित संस्करण मात्र नभई अनुसन्धानका लागि आवश्यक पर्ने मूल अर्थात् सम्पादनअघिको अडियो उपलब्ध गराउन सम्बन्धित सञ्चारमाध्यमलाई पत्राचार गर्ने भएको छ।अडियोको सत्यता तथा अन्य प्राविधिक पक्ष परीक्षणका लागि समितिले विशेषज्ञको रायसमेत लिने भएको छ।
सुनारमाथि लागेको आरोपका सम्बन्धमा छानबिनलाई छिटो, निष्पक्ष, यथार्थपरक र विश्वसनीय बनाउने प्रयास भइरहेको समितिको भनाइ छ। राज्यका सम्बन्धित निकायको अनुसन्धानमा असर नपर्ने गरी आफ्नो क्षेत्राधिकारभित्र रहेर छानबिन अघि बढाइएको पनि समितिले जनाएको छ।
छानबिन समितिले दशैंअघि नै प्रतिवेदन बुझाउन भने कठिन हुने जनाएको छ। अनुसन्धानका क्रममा प्राप्त हुने प्रमाण र त्यसबाट खुल्ने विषयका आधारमा थप अनुसन्धानको आवश्यकता निर्धारण हुने भएकाले प्रतिवेदनको समयबारे अहिले नै निश्चित भन्न नसकिने भट्टराईले बताएका छन्। समितिले मूल अडियो प्राप्त भएपछि थप बैठक बसेर अनुसन्धानलाई अघि बढाउने जनाएको छ।