काठमाडौं, मानिसका दैनिक आवश्यकताको सहयोगी बन्ने उद्देश्यका साथ ‘डेली सेवा’ नामक स्वचालित डिजिटल सर्भिस मार्केट–प्लेस सञ्चालनमा ल्याइएको छ । डिजिटल प्रविधिको प्रयोगमार्फत दैनिक जीवनमा आवश्यक सेवाहरूलाई सहज र व्यवस्थित बनाउने उद्देश्यले डेली सेवा प्रालिले ‘डेली सेवा’ सर्भिस मार्केट–प्लेस सञ्चालनमा ल्याएको हो ।
यस प्लेटफर्ममार्फत घरायसी एवं व्यावसायिक प्रकृतिका विभिन्न सेवाहरू सहज रूपमा उपलब्ध गराउने लक्ष्य राखिएको छ । डेली सेवाले नेपालको आफ्नै स्मार्ट बजारका रूपमा आफूलाई विकास गरेको एक सञ्चालकले जानकारी दिए ।
प्रत्येक नेपाली नागरिक डेली सेवा मोबाइल एप वा वेबसाइटमार्फत जोडिएर सेवाग्राहीको प्रतीक्षा गर्न सक्छन् । त्यसका लागि आफ्नो व्यवसाय वा आफूले दिन सक्ने सेवाको विवरण भरेर डेली सेवामा जोडिनुपर्ने हुन्छ ।
यस्तै, कुनै पनि मानिसले आफू रहेको ठाउँबाट आफूलाई चाहिएको सेवा लिन सक्छन् । त्यसका लागि डेली सेवाको वेबसाइट वा मोबाइल एपको प्रयोग गर्नुपर्छ । नेपाली बजारको आवश्यकता र सेवा क्षेत्रको वास्तविक अवस्थालाई ध्यानमा राखेर डेली सेवाले यो एप विकास गरिएको जनाएको छ । डेली सेवा एपमार्फत सेवाग्राही र सेवाप्रदायकबीच छिटो, सहज र व्यवस्थित सम्बन्ध स्थापित गर्ने उद्देश्य कम्पनीले लिएको छ ।
घर निर्माण तथा मर्मत, विद्युतीय उपकरण मर्मत सेवा, सीप तथा तालिम, विशेषज्ञ सेवा, ग्याजेट तथा टेक्निकल सपोर्ट, अनकल सेवा, लजिस्टिक्स तथा ढुवानी, किचन तथा क्लिनिङ लगायत सेवा दिने कुनै पनि व्यक्ति वा कम्पनी यो एपमा आवद्ध भएका हुन्छन् र उनीहरुमार्फत सेवाग्राहीले आफूलाई आवश्यक परेको सेवा लिन सक्नेछन् ।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रकाश न्यौपानेका अनुसार एउटै डिजिटल प्लेटफर्मबाट दैनिक जीवन, घर, व्यवसाय र विशेषज्ञ आवश्यकताका सेवाहरू जोड्ने मार्केट प्लेसका रुपमा डेली सेवालाई विकास गरिएको छ । ‘कुनै पनि व्यक्तिले आफूलाई आवश्यक परेको सेवा घरै बसी–बसी लिन सक्ने भएकाले समय र श्रमको बचत हुने अपेक्षा गरिएको छ,’ उनले भने, ‘डेली सेवा एपमा हाल १० विधाका १०० भन्दा बढी सेवा उपलब्ध गराइएका छन् ।’
डेली सेवाले दक्ष, अर्धदक्ष तथा अदक्ष सबै किसिमका जनशक्तिलाई रोजगारी तथा व्यवसाय विस्तारको अवसर प्रदान गर्ने लक्ष्य पनि राखेको सीईओ न्यौपानेले बताए । प्लेटफर्ममा आबद्ध हुने सेवाप्रदायकलाई डिजिटल माध्यमबाट सेवा प्रवर्धन गर्ने तथा थप सेवाग्राहीसम्म पुग्ने अवसर उपलब्ध हुने विश्वास रहेको सीईओ न्यौपानेले बताए ।
कम्पनीले सेवाप्रदायकको छनोट तथा व्यवस्थापनमा विश्वास, गुणस्तर र व्यावसायिकतालाई प्राथमिकता दिएको छ । जसअनुसार सेवा प्राप्त गरेपछि मूल्यांकन गर्न सक्ने प्रणालीसमेत विकास गरिएको छ ।