काठमाडौं, सरकारको पूर्ण स्वामित्वमा रहेको दुग्ध विकास संस्थान (डीडीसी) लाई नै आर्थिक दोहनको केन्द्र बनाएर योजनाबद्ध रूपमा १२ करोड रुपैयाँभन्दा बढी अनियमितता गरेको आरोपमा तत्कालीन महाप्रबन्धकसहित आठ जना पक्राउ परेका छन् । संस्थानका उच्च अधिकारीदेखि विभिन्न चिस्यान केन्द्रका इन्चार्ज र कर्मचारीसम्मको मिलेमतोमा संगठित रूपमा आर्थिक अनियमितता गरी सरकारी संस्थानलाई ठूलो नोक्सानी पुर्याइएको प्रारम्भिक अनुसन्धानबाट खुलेपछि उनीहरू पक्राउ परेका हुन् ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले सरकारी संस्थानभित्रै योजनाबद्ध रूपमा आर्थिक अनियमितता गरी गैरकानुनी लाभ लिएको आरोपमा शुक्रबार विभिन्न स्थानबाट उनीहरूलाई पक्राउ गरेको हो । सीआईबीका सहप्रवक्ता एवं सूचना अधिकारी प्रहरी उपरीक्षक योगेन्द्रकुमार खड्काका अनुसार अपक्राउ परेका व्यक्तिहरूले आपसी मिलेमतोमा विभिन्न समूह बनाई संस्थानलाई १२ करोड १३ लाख ४३ हजार पाँच सय ३० रूपैयाँ आर्थिक नोक्सानी पु¥याएको र सोहीबराबरको गैरकानुनी लाभ लिएको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ । उक्त घटनामा संलग्न रहेको आरोपमा पक्राउ परेकाहरूविरुद्ध मुलुकी अपराध संहिता, २०७४ अन्तर्गत आपराधिक विश्वासघात गर्न नहुने कसुर तथा संगठित अपराध निवारण ऐन, २०७० अन्तर्गतको कसुरमा अनुसन्धान अघि बढाएको सहप्रवक्ता एवं सूचना अधिकारी खड्काले जानकारी दिए । काठमाडौं जिल्ला अदालत, बबरमहलबाट पक्राउ अनुमति लिएर कात्तिक १३ शुक्रबार आठै जनालाई विभिन्न स्थानबाट पक्राउ गरिएको सीआईबीको भनाइ छ ।
सह प्रवक्ता खड्काका अनुसार पक्राउ पर्नेमा डीडीसीका तत्कालीन महाप्रबन्धकदेखि चिस्यान केन्द्रका इन्चार्ज तथा अन्य कर्मचारीसम्म रहेका छन् । पक्राउ पर्ने पहिलो व्यक्ति डीडीसीका तत्कालीन महाप्रबन्धक सञ्जीव झा हुन् । सर्लाहीको बलरा नगरपालिका–३ स्थायी घर भई काठमाडौंको कागेश्वरी मनहरा नगरपालिका–६ बस्दै आएका झा हाल डीडीसीको लैनचौरस्थित केन्द्रीय कार्यालयमा प्रशासन तथा व्यवस्थापन विभाग प्रमुखका रूपमा कार्यरत थिए । उनलाई लैनचौरबाटै पक्राउ गरिएको सीआईबीले जनाएको छ । त्यसैगरी, सिरहा नगरपालिका–१ स्थायी घर भई काठमाडौंको तारकेश्वर नगरपालिका–४ बस्दै आएका विजयकुमार यादव पक्राउ परेका छन् । उनी तत्कालीन सिम्ले चिस्यान केन्द्रका इन्चार्ज थिए। हाल बालाजुस्थित दुग्ध वितरण आयोजनामा जुनियर टेक्निकल असिस्टेन्टका रूपमा कार्यरत यादवलाई बालाजुबाट पक्राउ गरिएको हो । पक्राउ पर्नेमा पर्वतको मोदी गाउँपालिका–४ स्थायी घर भई काठमाडौंको तारकेश्वर नगरपालिका–६ बस्दै आएका मनहरी शर्मा पनि रहेका छन् । तत्कालीन भक्तपुर चिस्यान केन्द्रका इन्चार्ज रहेका शर्मा हाल डीडीसीको केन्द्रीय कार्यालय लैनचौरमा जुनियर टेक्निकल असिस्टेन्टका रूपमा कार्यरत थिए । उनलाई कास्कीको पोखरा महानगरपालिका–१४ बाट पक्राउ गरिएको सीआईबीले जनाएको छ ।
सर्लाहीको मोहनपुर–५ स्थायी घर भई चितवनको भरतपुर महानगरपालिका–५, कल्याणपुर बस्दै आएका रामकेवल राय पनि पक्राउ परेका छन् । तत्कालीन चनौली चिस्यान केन्द्रका इन्चार्ज रहेका राय हाल काठमाडौं दुग्ध वितरण आयोजनाको संकलन केन्द्रमा जुनियर टेक्निकल असिस्टेन्टका रूपमा कार्यरत थिए । उनलाई सर्लाहीको चन्द्रनगर गाउँपालिका–५, मोहनपुरबाट पक्राउ गरिएको हो । यसैगरी पक्राउ पर्नेमा सर्लाहीको चन्द्रनगर गाउँपालिका–५ स्थायी घर भई चितवनको भरतपुर महानगरपालिका–५, कल्याणपुर बस्दै आएका जितेन्द्रकुमार यादव छन् । उनी हेटौँडास्थित बागमती धुलो दूध कारखानामा भरपाई पदमा कार्यरत थिए । उनलाई चितवनको भरतपुर महानगरपालिका–५, आनन्दपुरबाट पक्राउ गरिएको सीआईबीले जनाएको छ । त्यसैगरी, सर्लाहीको चन्द्रनगर गाउँपालिका–२ घर भएका नवीन राय यादव पक्राउ परेका छन् । डेरी ब्वाई पदमा कार्यरत उनी नवलपुर÷गरुडा चिस्यान केन्द्रका इन्चार्ज समेत रहेको विवरणमा उल्लेख छ । उनलाई सर्लाहीको लालबन्दी नगरपालिका–५, मेजरगञ्जबाट पक्राउ गरिएको हो ।
सर्लाहीको चन्द्रनगर गाउँपालिका–५ स्थायी घर भई चितवनको माडी नगरपालिका–२ बस्दै आएका शिवनन्दन राय पनि पक्राउ परेका छन् । उनी माडी चिस्यान केन्द्रमा दैनिक ज्यालादारीमा कार्यरत कर्मचारी हुन् । उनलाई माडी नगरपालिका–१, भरुवाबाट पक्राउ गरिएको सीआईबीले जनाएको छ । पक्राउ पर्ने आठौँ व्यक्ति सिन्धुपाल्चोकको कालिका गाउँपालिका–७ घर भएका विखबहादुर भण्डारी हुन् । उनी जुनियर टेक्निकल असिस्टेन्टका साथै माडी चिस्यान केन्द्रका इन्चार्जका रूपमा कार्यरत थिए । उनलाई चितवनको माडी नगरपालिका–१ बाट पक्राउ गरिएको हो ।
अनुसन्धान अघि बढ्दै, म्याद थपको तयारी
सीआईबीका सहप्रवक्ता खड्काका अनुसार पक्राउ परेका आठै जनामाथि अहिले अनुसन्धान भइरहेको छ । शुक्रबार पक्राउ गरिएकाले सोही दिन म्याद थप गर्न सम्भव नभएको र सोमबार सरकारी कार्यालय खुलेपछि अदालतबाट म्याद थप गरी अनुसन्धान अघि बढाइने उनले जानकारी दिए ।