काठमाडौं, प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुमन शर्मा धरौटीमा छुटेका छन् । उनलाई पर्सा जिल्ला अदालतले दुई लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको हो ।
पर्सा जिल्ला अदालतका न्यायाधीश देवीकुमार चौधरीको इजलासले शर्मालाई दुई लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको हो । शर्मा मंगलबार अदालतमा हाजिर भएका थिए । शर्माविरुद्ध ८९ लाख रुपैयाँ ठगी तथा आपराधिक विश्वासघात गरेको आरोपमा पर्सा जिल्ला अदालतमा असोजको पहिलो साता मुद्दा दायर भएको थियो । वीरगञ्ज महानगरपालिकास्थित अञ्जली इन्टरनेसनलकी प्रोप्राइटर निर्मला देवीले उनीविरुद्ध उजुरी दिएकी थिइन् ।
उजुरीअनुसार, निर्मला देवीले शर्मा लक्ष्मी सनराइज बैंकको तत्कालीन प्रमुख कार्यकारी अधिकृत रहेका बेला बैंकबाट ऋण लिएकी थिइन् । तर, प्रतिबद्धताअनुसार ऋण उपलब्ध नगराएको भन्दै उनले शर्मासहित सम्बन्धित व्यक्तिविरुद्ध मुद्दा दायर गरेकी हुन् । अदालतमा बयान दिने क्रममा शर्माले भने आफूलाई जाहेरीवालाबारे कुनै जानकारी नभएको र ऋण दिने–लिने प्रक्रियामा आफ्नो संलग्नता नरहेको दाबी गरेका छन् ।
‘मैले जाहेरीवालालाई चिनेको छैन । कर्जा लिनेदिने विषयमा सहभागी भएको छैन’, शर्माले अदालतमा भनेका थिए । उनले कर्जा दिँदा धितो राखिएको भनिएको जग्गाका विषयमा समेत आफूले कुनै निर्णय नगरेको दाबी गरेका छन् । अदालतको आदेशपछि शर्मा दुई लाख रुपैयाँ धरौटी बुझाएर रिहा भएका छन् ।
तत्कालीन सीईओ शेरचनलाई थुनामा पठाउन आदेश
ललितपुर । उच्च अदालत पाटनले प्रभु बैंकका तत्कालीन प्रमुख कार्यकारी अधिकृत (सीईओ) अशोक शेरचनलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ । उच्च अदालत पाटनका न्यायाधीश गणेश प्रसाद बराल र राजुकुमार खतिवडाको इजलासले थुनछेकपछि बैंकिङ कसुर मुद्दामा मंगलबार शेरचनलाई थुनामा पठाउन आदेश दिएको हो ।
उनीविरुद्ध विप्रेषणबापतको रकमको ब्याज ८ करोड ९३ लाख १९ हजार ९८६ रुपैयाँ ३० पैसा र सञ्चालक समितिको निर्णय नगराई गुण एयरलाइन्सको नाममा १५ करोड रुपैयाँ ऋण प्रवाह गरेको आरोप छ । उनीविरुद्ध२० करोड १७ लाख ६७ हजार ३३४ रुपैयाँ ३० पैसा बिगो कायम गर्दै मुदा दायर भएको छ । शेरचनले बयानका क्रममा ऋणी संस्था गुण एयरलाइन्सलाई कर्जा प्रवाह गर्दा पछि अनुमोदन गराउने गरी संचालक समितिको पूर्वस्वीकृति नलिई ऋण प्रवाह गरेको स्वीकार गरेका थिए ।
प्रभु बैंकलाई प्राप्त हुनु पर्ने ८ करोड ९३ लाख १९ हजार ९८६ रुपैयाँ ३० पैसा ब्याज बैंकमा प्राप्त नभएको जनाउँदै बैंकले पत्र सीआईबीलाई पठाएको थियो । शेरचनको निर्देशनमा संचालक समितिबाट निर्णय हुनु अघि नै ऋण प्रवाह गरिएको बैंककै कर्मचारीले कागज गरेका थिए ।