जुन संसद्ले आफूलाई प्रधानमन्त्री बनाएको हो त्यही संसद्लाई रेकर्डमा रहने गरी घोर उपेक्षा गरिरहेका प्रधानमन्त्री वालेन्द्र शाहले उनको नेतृत्वमा रहेको संसद्को पहिलो अधिवेशन सम्पन्न भएको समयमा सांसदहरूको मूल्यांकन गरेका छन् । तर उनको यस्तो मूल्यांकन पनि अचम्मलाग्दो छ ।
चलिरहेको अधिवेशनको अन्त्य गराएर उनले विभिन्न वर्गका सांसदहरूसँग भेटघाटको कार्यक्रम गरे । संसद्का बैठकमा सांसदहरूको व्यापक अपमान गरेका भनेर आरोप लागिरहेका शाहले यस्तो भेटघाट पनि आफैँलाई केन्द्रमा राखेर गरिहेका बुझिएको छ । यस्तो भेटघाटका क्रममा उनले इन्जिनियरिङ पृष्ठभूमिबाट सांसद बनेकाहरू असाधारण देखिएका र अरु भने औसत अर्थात् साधारण मात्र रहेका भनेर वर्गीकरण गरिरहे ।
जसले एउटा सानो समूह बनाएर भेटघाटमा बोलाइयो तिनीहरूका अनुसार पनि उनको यस्तो वर्गीकरण आफू इन्जिनियरिङ पृष्ठभूमिबाट सांसद बनेको र त्यस कारण अरुभन्दा असाधारण रहेको भन्ने देखाउन खोजिएको पाइयो जसले इन्जिनियरिङ पृष्ठभूमिबाट आएका बाहेकलाई व्यक्तिगत रूपमा नै अपमान गरेको भन्ने बुझाइ बनेको देखियो ।
चालू अधिवेशन भरी संसद्लाई घोर अपमान गर्ने भनेर चिनिएका प्रधानमन्त्री शाहले आ–आफ्ना क्षेत्रका जनताबाट निर्वाचित सांसदलाई यसरी दोस्रो दर्जाका सांसदका रूपमा चिनाउन थालेपछि प्रधानमन्त्रीले आफ्नो अवमूल्यन गरेका भनी ठाउँ–ठाउँमा प्रतिक्रिया व्यक्त गर्न थालेको पाइएको छ । कतिपयले त संसद्को अन्तिम दिनको बैठकमा नै प्रधानमन्त्रीको यस्तो विभेदपूर्ण व्यवहार र आफ्नो मात्रै श्रेष्ठता कायम गर्न खोजेका प्रति आपत्ति जनाउँदै यस्तो असन्तुष्टि संसद्मा नै रेकर्ड समेत गराए ।
प्रधानमन्त्रीले गरेको सांसदहरूको यस्तो वर्गीकरणको संसद्को बैठकमा नै विरोध गर्नेमा राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री नै अगाडि देखिएका छन् । यसको अर्थ हो प्रधानमन्त्रीको यस्तो वर्गीकरण सत्तापक्षका सांसद स्वयम्ले पनि सहन सकेका छैनन् ।
अन्तिमतिरको संसद् बैठकको शून्य समयमा बोल्दै सत्तारुढ दलका महामन्त्रीले प्रधानमन्त्रीले आफूलाई जसरी चिनाइरहेका छन् आफू त्यस्तै एक्स्ट्राअर्डिनरी बन्न कोसिस गरिरहेको भने । यही क्रममा एक विपक्षी दलका प्रमुख सचेतकले प्रधानमन्त्रीको नजरमा रास्वपाका सभापति कुन वर्गमा परेका होलान् भन्दै भन्दै जानकारी मागे ।
प्रधामन्त्रीले आफ्नो पृष्ठभूमिका बारे के भनेका थिए भन्ने उनकै शब्दमा त विवरण आएको त भेटिएको छैन तर यी दिनमा उनले जोजो सांसदहरूसँग भेटघाट गरे तिनकै भनाइमा उनले इन्जिनियर पृष्ठभूमिका सांसदलाई विशेष महत्व दिएका र अरुलाई साधारण भनेर वर्गीकरण गरेका थिए ।
भेटघाटकर्ताअनुसार यस क्रममा प्रधानमन्त्रीबाट सांसदका तीन प्रकारले वर्गीकरण गरेका थिए । पहिलो नम्बरमा औसत प्रकारका, दोस्रोमा त्यो औसतभन्दा पनि अझ कम र तेस्रोमा एक्स्ट्राअर्डिनरी अर्थात् असाधारण नै ।
यहीँनेर हो, प्रधानमन्त्रीले ती एक्स्ट्राअर्डिनरी सांसद को हुन् त ? भनेर परिचय गराएका जसमा इन्जिनियरिङ पृष्ठभूमिका सांसद पर्छन् । प्रधानमन्त्री आफैँ आफूलाई प्राय सधैँ नै आफू इन्जिनियरिङ पृष्ठभूमिको मान्छे भनेर चिनाउने गरेका पाइन्छ । धेरैको बुझाइ के छ भने त्यसै कारण उनले इन्जिनियरिङ पृष्ठभूमिका सांसदलाई एक्स्ट्राअर्डिनरी सांसद भनेर चिनाएका हुनुपर्छ । प्रधानमन्त्रीको बोली भनेर घेटघाटमा सरिक ती सांसदले भनेअनुसार– ‘एभरेज सांसद इभेन्टको कुरा गर्छन्, एभरेजभन्दा तलका सांसद मलाई यो गर त्यो गर भन्छन्, ‘एक्स्ट्राअर्डिनरी भएकाले इन्जिनियरले आइडिया र क्रियटिभिटीको कुरा उठाउनुपर्छ । केही आइडिया भएकाहरूलाई प्रधानमन्त्री कार्यालयले खोज्छ र मसँग सजिलै भेट गराउँछ ।’
प्रधानमन्त्रीले चर्चामा ल्याएको इन्जिनियरहरू एक्स्ट्राअर्डिनरी हुन्छन भन्ने कुरा प्रधानमन्त्रीले भेटेका सासदहरूबीचमात्र होईन सँसदमा पनि रेकर्ड भएको छ । प्रधानमन्त्रीको यो कुरा अरुबाटभन्दा पनि सत्तारुढदल रास्वपाका सांसदहरूले नै रेकर्ड गराएका हुन् । यो दलका महामन्त्रीले नै संसद्मा यो विषय प्रवेश गराएका हुन् । उनलाई पनि सबै निर्वाचन जितेर आएकाहरूबीच प्रधानमन्त्रीले नै गरेका यस्तो विभेद चित्त नबुझेको हुनुपर्छ । उनले संसदको बैठकमा भने – ‘म आफू औसत क्षमताको इन्जिनियर भएर पनि होला, मलाई क्षमता, नियत र तथ्यमा अब्बल हरेक विधाका व्यक्तिहरू एक्स्ट्राअर्डिनरी लाग्छन्, म पनि एक्स्ट्राअर्डिनरी बन्ने इमानदार कोसिस गर्दै छु ।’
प्रधामन्त्रीले सांसदबीच गरेका यो विभेद वास्तवमा नै सामान्य थिएन । आफ्नै नेताले यसरी आफ्नै सांसदलाई फलानो योग्य र अयोग्य भनेर चिनाउन थालेपछि उनीहरूले आफ्नो ठाउँ खोज्ने भएनै । यही क्रममा रास्वपाका सचिवालय सदस्य एवं कञ्चनपुर २ बाट निर्वाचित सांसदले आफ्नो स्थानबारे सोधखोज गरेका पाइयो । उनले भने ‘मेरो स्थान कहाँ प¥यो पीएमलाई सोध्नुपर्छ, म आफैँलाई थाहा छैन ।’
आफूलाई कानुनमा अरुभन्दा अब्बल ठान्ने अर्का सांसद यज्ञमणि न्यौपानेको भनायमा ‘अब हेरौँ न घटनाक्रमले के भन्दोरहेछ, यो समयले बताउने कुरा हो । अहिले नै प्रो एक्टिभ भएर यसो भयो, उसो भयो भनेर केही हुँदैन, नेताहरू जिम्मेवार छन्, आफ्नो कुरा बुझ्छन् । देश कसरी बनाउनुपर्छ बुझ्लान् । देशलाई कसरी गति दिनुपर्छ त्यो पनि थाहा पाऊलान् ।’
यसअघि प्रधानमन्त्रीले नै १८ सदस्यीय मन्त्रिपरिषद्बाट दुई जनालाई देखाएर ‘देश बनाउने टिम’ भन्दै परिचय गराएका थिए । यी दुई जनामा गृहमन्त्री सुधन गरुङ भौतिक योजना मन्त्री लम्साल थिए । मन्त्रिपरिषद्का यी दुवै पात्र सर्वाधिक विवादित पात्र हुन् । सुधन गरुङमाथि सात करोड रुपैयाँ अपचलन गरेको आरोप छ । उनी संलग्न रहेको यस्तै प्रकारको काममा अरु एक दर्जनजति जेलमा छन् ।
गरुङमाथि लागेको आरोपविरुद्ध सरकारले नै छनबिन गर्न समिति बनायो र त्यो प्रतिवेदन लुकाएर उनलाई पुनः गृहमन्त्रीमा ल्यायो । यसले पनि धेरै कुरा बताउँछ ।
भौतिक योजना मन्त्रीको अटेर गर्नेलाई हातखुट्टा भाँचिदिएर रुखमा झुण्डाइदिनू भन्ने निर्देशन त अझै चर्चा भइरहनेमा नै पर्छ । यी सबैले बहालाबला प्रधानमन्त्री कति एक्स्ट्राअर्डिनरीवाला हुन भन्ने देखाइरहेकै छन् ।