काठमाडौं, ग्लोबल आईएमई बैंक लिमिटेडको नायब प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) पदमा दीपचन्द्र रेग्मी बढुवा भएका छन् । मंगलबार बसेको बैंक सञ्चालक समितिको बैठकको निर्णय अनुसार उनलाई उक्त पदमा बढुवा गरिएको हो ।
नवनियुक्त नायब प्रमुख कार्यकारी अधिकृत रेग्मी बैंकको सहायक प्रमुख कार्यकारी अधिकृतका रूपमा कार्यरत रहेका थिए । सन् २००७ मा स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपालबाट बैंकिङ करिअर सुरु गरेका रेग्मी सन् २००९ देखि ग्लोबल आईएमई बैंकमा आबद्ध रहेका छन् । उनले बैंकको प्रमुख वित्तीय अधिकृत (सीएफओ), प्रमुख मानव संसाधन अधिकृत (सीएचआरओ), प्रमुख कर्जा अधिकृत (सीएलओ) तथा ट्रेड फाइनान्स प्रमुखको जिम्मेवारी सम्हालि सकेका छन् ।
उनी बैंकको सहायक कम्पनी ग्लोबल आईएमई क्यापिटल लिमिटेडको सञ्चालक समिति अध्यक्षसमेत रहेका छन् । रेग्मीले थाइल्यान्डको एसियन इन्स्टिच्युट अफ टेक्नोलोजी (एआईटी) तथा डेनमार्कको कोपेनहेगन बिजनेस स्कुलबाट बिजनेस एडमिनिस्ट्रेसनमा स्नातकोत्तर (एमबीए) उपाधि हासिल गरेका छन् ।
आधुनिक प्रविधि र उत्कृष्ट ग्राहक सेवाका कारण विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विधामा सम्मानित हुँदै आएको ग्लोबल आईएमई बैंकले ‘बैंक अफ द इयर २०१४’, ‘बेस्ट इन्टरनेट बैंक २०१६’, तथा सन् २०२४, २०२५ र २०२६ मा लगातार ‘बेस्ट बैंक नेपाल’ को उपाधि प्राप्त गरिसकेको छ । यस्तै बैंकले युरोमनी अवार्ड फर एक्सलेन्स २०२२, २०२४ र २०२५, बेस्ट बैंक ईएसजी नेपाल २०२४ र बेस्ट इम्प्लोयर जस्ता प्रतिष्ठित पुरस्कारहरूसमेत प्राप्त गरेको छ ।
ग्लोबल आईएमई बैंक मुलुकका सबै ७७ जिल्लामा आफ्नो सञ्जाल विस्तार गर्न सफल पहिलो निजी क्षेत्रको वाणिज्य बैंक हो । बैंकले हाल तीन सय ४१ वटा शाखा, तीन सय ६६ वटा एटीएम, एक सय ४७ शाखारहित बैंकिङ केन्द्र, ६९ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर र तीन वटा विदेशस्थित प्रतिनिधि कार्यालयसहित एक हजारभन्दा बढी सेवा केन्द्रमार्फत सेवा प्रदान गर्दैै आइरहेको छ ।
साथै, यस बैंक विदेशबाट वैधानिक माध्यममार्फत नेपालमा रेमिट्यान्स भित्र्याउने मुलुककै प्रमुख वित्तीय संस्थाका रुपमा स्थापित छ । बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, अस्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार, यूएई र भारतलगायतका विभिन्न मुलुकहरूबाट औपचारिक माध्यममार्फत देशभित्र विप्रेषण (रेमिट्यान्स) भिœयाउँदै राष्ट्रिय अर्थतन्त्रमा उल्लेखनीय योगदान पुर्याउँदै आएको छ ।