काठमाडौं, इनोहभ सर्भिसेस प्राइभेट लिमिटेडले ‘याङ्गो इनोहभ राइडर’हरूका लागि विशेष अफरस्वरूप शून्य प्रतिशत पार्टनर शुल्कको घोषणा गरेको छ । कम्पनीले पहिलो वार्षिकोत्सव र चाडवर्पलाई ध्यानमा राखेर विशेष सुविधा ल्याएको हो ।
कम्पनीले आफ्नै सवारीसाधन खरिद गर्न नसक्ने व्यक्तिलाई राइड हेलिङ सेवामार्फत आम्दानीको अवसर उपलब्ध गराउनेछ । यसको लागी इनोहभ सर्भिसेस प्रालिले आफ्नो बाइक फ्लीट विस्तार गर्ने भएको हो । याङ्गोको स्थानीय फ्लीट पार्टनरका रूपमा सञ्चालन भइरहेको इनोहभले हाल २५० भन्दा बढी बाइकमार्फत सेवा दिइरहेको छ । तिहारपछि फ्लीट संख्या ५०० पुर्याउने तयारी गरेको कम्पनीले जनाएको छ । इनोहभ सर्भिसेसले करिब एक वर्षदेखि याङ्गोसँगको साझेदारीमा काठमाडौं उपत्यकामा राइड हेलिङ सेवा सञ्चालन गर्दै आएको छ । कम्पनीका अनुसार हाल ५०० भन्दा बढी राइडर यससँग आबद्ध छन् । सेवा विस्तारसँगै आफ्नै बाइक वा कार नभएका व्यक्तिलाई समेत राइड–हेलिङ क्षेत्रमा आबद्ध गराउने कम्पनीको लक्ष्य छ ।
इनोहभले विशेषगरी आफ्नै बाइक खरिद गर्न आर्थिक रूपमा सक्षम नभएका तर राइडिङमार्फत आम्दानी गर्न चाहने व्यक्तिलाई लक्षित गरेको छ । मोटरसाइकल लाइसेन्स र बाइक चलाउने अनुभव भएका व्यक्तिले कम्पनीसँग आबद्ध भएर काम गर्न सक्ने कम्पनीको भनाइ छ । कम्पनीका अनुसार राइडर बन्न इच्छुक व्यक्तिले पहिले याङ्गोको प्लेटफर्ममा युजर अकाउन्ट खोल्नुपर्छ । त्यसपछि इनोहभ सर्भिसेसमा सम्पर्क गरी आवश्यक कागजात र अनबोर्डिङ प्रक्रिया पूरा गरेपछि कम्पनीले बाइक उपलब्ध गराउने छ । यसका लागि राइडरले बाइक खरिद गर्न अग्रिम रकम तिर्नुपर्ने व्यवस्था छैन । लाइसेन्स, नागरिकतालगायत आवश्यक कागजात प्रस्तुत गरी कम्पनीसँग सम्झौता गरेपछि बाइक लिएर काम सुरु गर्न सकिने कम्पनीले जनाएको छ । राइडरले कम्पनीसँगको सम्झौता र लागू हुने सर्तअनुसार तलब मोडल वा रेन्टल मोडलमध्ये उपयुक्त व्यवस्थामा काम गर्न सक्नेछन् ।
बाइक एक्सचेन्ज कार्यक्रम आयोजना हुँदै
मोटरसाइकल तथा स्कुटर चालक (राइडर) लाई लक्षित गर्दै असोजको अन्तिम साता एक साताव्यापी ‘बाइक एक्सचेन्ज प्रोग्राम’ आयोजना हुने भएको छ । कार्यक्रममा राइडरहरूले जुनसुकै ब्रान्डका पुराना मोटरसाइकल तथा स्कुटर साटेर नयाँ सवारीसाधन खरिद गर्न सक्नेछन् । आयोजकका अनुसार मेलामा पुराना सवारीसाधनको उच्च मूल्यांकनसँगै नयाँ सवारी खरिदमा विशेष छुट तथा आकर्षक अफर उपलब्ध हुनेछ ।
त्यस्तै, ग्राहकलाई सहज किस्ताबन्दी सुविधासमेत प्रदान गरिनेछ । कार्यक्रमको निश्चित मिति र स्थान भने चाँडै सार्वजनिक गरिने आयोजकले जनाएको छ । याङ्गो राइडरका लागि विशेष फाइनान्सिङअन्तर्गत तीनवटा प्याकेज उपलब्ध हुनेछन् । पहिलो प्याकेजमा ४० प्रतिशत डाउनपेमेन्ट, ६० महिनाको कर्जा अवधि र ८.९९ प्रतिशत ब्याजदर तोकिएको छ । दोस्रो प्याकेजमा ५० प्रतिशत डाउनपेमेन्टसहित ६० महिनाको कर्जा अवधि र ६.९९ प्रतिशत ब्याजदर रहनेछ । यस्तै, तेस्रो प्याकेजमा ५० प्रतिशत डाउनपेमेन्ट, २४ महिनाको कर्जा अवधि र शून्य प्रतिशत ब्याजदरको सुविधा उपलब्ध हुनेछ । पुरानो सवारीसाधन साटेर नयाँ मोटरसाइकल वा स्कुटर खरिद गर्न चाहने राइडरलाई लक्षित गरी कार्यक्रम आयोजना गर्न लागिएको आयोजकले जनाएको छ ।