काठमाडौं, सामसङ नेपालले नयाँ स्मार्टफोन ‘ग्यालेक्सी ए०८ एलटीई’ नेपालमा सार्वजनिक गरेको छ । कम्पनीले आफ्नो लोकप्रिय ग्यालेक्सी ए सिरिजको एन्ट्री–लेभललाई विस्तार गर्दै नयाँ ग्यालेक्सी ए०८ एलटीई फोन नेपालमा आधिकारिक रूपमा सार्वजनिक गरेको हो ।
कम्पनीका अनुसार एआई फिचर, भरपर्दो काम गर्ने क्षमता, बलियो सुरक्षा र लामो समयसम्म चल्ने किफायती फोन खोजिरहेका युवाहरूका लागि यो फोन बनाइएको हो । यसमा ८.० मिमी पातलो बडी र ६.७ इन्चको ठूलो डिस्प्ले रहेको छ, जुन डार्क ब्लु, सिल्भर र ग्रिन गरी तीन उत्कृष्ट रंगहरूमा उपलब्ध रहेको कम्पनीले जनाएको छ । सामसङले यसमा सफा र आकर्षक डिजाइन दिएको छ ।
स्मार्टफोनमा ६ हजार एमएएच क्षमताको ब्याट्री राखिएको छ । कम्पनीले लामो समयसम्म फोन प्रयोग गर्न मिल्ने गरी ब्याट्री क्षमता बढाइएको जनाएको छ । साथै, नयाँ फोनमा आईपी ६७ रेटिङसहित धुलो तथा पानी प्रतिरोधी क्षमता रहेको कम्पनीले जनाएको छ ।
सामसङका अनुसार फोनमा ६ पुस्तासम्म अपरेटिङ सिस्टम अपग्रेड र ६ वर्षसम्म सुरक्षा अपडेट उपलब्ध हुनेछ । नेपालमा ६ जीबी र्याम तथा १२८ जीबी स्टोरेज संस्करणको यसको मूल्य ३४ हजार ४९९ रुपैयाँ तोकिएको छ ।
त्यस्तै, ८ जीबी र्याम तथा १२८ जीबी स्टोरेज संस्करणको मूल्य ४० हजार ९९९ रुपैयाँ र ८ जीबी र्याम तथा २५६ जीबी स्टोरेज संस्करणको मूल्य ४७ हजार ४९९ रुपैयाँ रहेको छ । सामसङले फोन खरिदका लागि १२ महिनाको किस्ताबन्दी सुविधा पनि उपलब्ध गराएको छ । ६/१२८ जीबी संस्करणका लागि मासिक १ हजार ७२५ रुपैयाँ, ८/१२८ जीबीका लागि २ हजार ५० रुपैयाँ र ८/२५६ जीबी संस्करणका लागि २ हजार ३७५ रुपैयाँ मासिक किस्ता तोकिएको छ । कम्पनीका अनुसार किस्ताबन्दीमा फोन खरिद गर्न नागरिकताको प्रमाणपत्र आवश्यक पर्नेछ ।