काठमाडौं, स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेडले गत अगस्टमा नेपालका विभिन्न जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित समुदायको पुनःस्थापना, पुनर्निर्माण तथा पुनरुत्थानका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक लाख अमेरिकी डलर (करिब एक करोड ४० लाख रुपैयाँ) सहयोग गरेको छ ।
बैंकले बुधबार, उक्त सहयोग रकम प्रदान गरेको हो । बाढीबाट प्रभावित समुदायलाई राहत प्रदान गर्दै उनीहरूको जनजीवन सामान्य बनाउन तथा क्षतिग्रस्त संरचनाको पुनर्निर्माणमा सहयोग पु¥याउने उद्देश्यले बैंकले कोषमा योगदान गरेको जनाएको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत गोरख राणाले बाढीका कारण नेपालका विभिन्न जिल्लाका धेरै परिवारको जनजीवन र जीविकोपार्जनमा गम्भीर असर परेको बताए। प्रभावित समुदायलाई पुनःस्थापित गर्न र उनीहरूको जीवनयापनलाई सहज बनाउन निरन्तर सहयोग आवश्यक रहेको उनको भनाइ छ ।
हामी यहाँ सधैँका लागि छौँ’ भन्ने बैंकको प्रतिबद्धता स्मरण गर्दै राणाले विपद्का बेला प्रभावित समुदायको साथमा उभिनु बैंकको दायित्व भएको बताए । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमार्फत गरिएको सहयोगले प्रभावित नागरिकको पुनरुत्थान, जीविकोपार्जन पुनःस्थापना तथा भविष्यमा विपद् सामना गर्न सक्ने क्षमता अभिवृद्धि गर्न सरकारका प्रयासमा सहयोग पुग्ने विश्वास उनले व्यक्त गरे ।
नेपालमा लामो समयदेखि बैंकिङ सेवा प्रदान गर्दै आएको स्ट्यान्डर्ड चार्टर्ड बैंकले देशको आर्थिक तथा सामाजिक विकासमा योगदान पुर्याउँदै आएको जनाएको छ । बैंकले विपद्बाट प्रभावित समुदायको पुनःस्थापना तथा पुनर्निर्माणका लागि सहयोग जारी राख्ने प्रतिबद्धतासमेत व्यक्त गरेको छ ।
बाढीबाट प्रभावित नागरिकको जीवन सामान्य बनाउन र क्षतिग्रस्त भौतिक संरचनाको पुनर्निर्माण गर्न सरकारी तथा निजी क्षेत्रबाट सहयोग जुटिरहेका बेला बैंकको यो योगदानले राहत, पुनःस्थापना र पुनर्निर्माण अभियानमा थप सहयोग पुग्ने अपेक्षा गरिएको छ ।