काठमाडौं, नेपाल टेलिकमले एनटी फाइबरमार्फत उपलब्ध गराइरहेको टेलिभिजन सेवा एनटीटीभीअन्तर्गत स्मार्ट टीभी प्रयोगकर्ताहरूले सेट टप बक्स विना नै सेवा प्रयोग गर्न सक्ने भएका छन् ।
कम्पनीले असोज १५गतेदेखि एन्ड्रोइड टीभीको लागि भर्चुअल सेट–टप बक्स उपलब्ध गराएको हो । ग्राहकहरूले आफ्नो एन्ड्रोइडमा आधारित स्मार्ट टीभीमा यो भर्चुअल सेट–टप बक्स प्रयोग गर्न सक्ने कम्पनीले जनाएको छ । ग्राहकहरूले गुगल प्लेस्टोरमा ‘स्मार्ट एनटीटीभी’ सर्च गरेर इन्स्टल गरी भर्चुअल सेट–टप बक्स प्रयोग गर्न सकिने कम्पनीको भनाइ छ । साथै, निकट भविष्यमा सबै स्मार्ट टीभीहरूमा प्रयोग गर्न मिल्ने भर्चुअल सेट–टप बक्स सञ्चालनमा ल्याउने तयारी गरिएको छ । उक्त सेवा थप ग्राहकमैत्री हुने गरी विकास गरिएको छ । नयाँ प्याकेज लिने ग्राहकले भर्चुअल सेट–टप बक्ससहितको प्याकेज लिएमा १ हजार रुपैयाँ छुट उपलब्ध हुने व्यवस्था गरिएको छ ।
टेलिकमले एनटी फाइबरमार्फत एउटै तारबाट टेलिफोन, तीव्र गतिको इन्टरनेट र टेलिभिजन सेवा प्रदान गर्दै आएको छ । भर्चुअल सेट–टप बक्ससहितको टेलिभिजन प्रयोग गर्नका लागि कम्पनीले विभिन्न प्याकेज उपलब्ध गराएको छ । वार्षिक र दुई वर्षे प्याकेजहरूमा मोबाइल डाटा सुविधासमेत उपलब्ध छ ।