काठमाडौं, प्यारामाउन्ट मोटर्स प्रालिले वुलिङका विद्युतीय सवारीका ट्रयाक्सन मोटर र उच्च भोल्टेज ब्याट्रीमा ८ वर्षको वारेन्टी दिने भएको छ । कम्पनीले ८ वर्षको वा १ लाख ५० हजार किलोमिटर (जुन पहिले पुग्छ, त्यही अवधि)सम्मको वारेन्टी दिने भएको हो ।
कम्पनीले हाल नेपाली बजारमा एक्सियन, मिनी ईभी र डेरियन गरी तीन मोडल बिक्री गर्दै आएको जनाएको छ । कम्पनीका अनुसार एक्सियन ५ प्लस २ सिट क्षमताको विद्युतीय एसयूभी हो । यसमा ६९.२ किलोवाट घण्टा क्षमताको ब्याट्री, १५० किलोवाटको मोटर र ३१० न्यूटन मिटर टर्क रहेको छ ।
कम्पनीले यसको एकपटकको चार्जमा अधिकतम ५३० किलोमिटरसम्मको दूरी दाबी गरेको छ । मिनी ईभी ४ ढोका र ४ सिट क्षमताको कम्प्याक्ट विद्युतीय कार हो । यसमा २५.१ किलोवाट घण्टाको ब्याट्री र ३० किलोवाट क्षमताको मोटर जडान गरिएको छ । कम्पनीका अनुसार यसको अधिकतम दाबी गरिएको ड्राइभिङ रेन्ज ३०१ किलोमिटर रहेको छ । त्यस्तै, डेरियन ७ सिट क्षमताको विद्युतीय एमपीभी हो । यसमा ६९.२ किलोवाट घण्टाको ब्याट्री, १५० किलोवाटको मोटर र ३१० न्यूटन मिटर टर्क रहेको कम्पनीले जनाएको छ । यसको एकपटकको चार्जमा अधिकतम ५४० किलोमिटरसम्मको दूरी दाबी गरिएको छ ।
विद्युतीय सवारीमा ब्याट्री र मोटर प्रमुख महँगा कम्पोनेन्ट भएकाले तिनको वारेन्टी अवधि खरिदकर्ताका लागि महत्वपूर्ण हुने कम्पनीको भनाइ छ । वुलिङले मोटर र उच्च भोल्टेज ब्याट्रीमा दिएको ८ वर्ष वा १ लाख ५० हजार किलोमिटरको वारेन्टीले सवारीको दीर्घकालीन स्वामित्व लागत र जोखिम व्यवस्थापनमा ग्राहकलाई सहयोग पुग्ने कम्पनीले जनाएको छ । वुलिङ एसएआईसी–जीएम–वुलिङ अटोमोबाइल साझेदारीअन्तर्गतको ब्रान्ड हो, जसमा जनरल मोटर्स पनि आबद्ध छ । नेपालमा कम्पनीले विभिन्न आकार र प्रयोगका विद्युतीय सवारीमार्फत बजार विस्तार गरिरहेको जनाएको छ ।