काठमाडौं, बैंकिङ क्षेत्रमा कायम रहेको अधिक तरलता अहिलेसम्म पनि नियन्त्रणमा आउन सकेको छैन । अर्थतन्त्रमा देखिएको सिथिलता, लगातारको प्राकृतिक प्रकोप आदिले अर्थतन्त्रको नियमित चक्र खल्बलिँदा बैंकिङ क्षेत्रमा अहिले नयाँ कर्जाको माग हुन नसक्दा अधिक तरलता बढेको छ ।
यो अधिक तरलतालाई नियन्त्रणमा राख्न बुधबार मात्र राष्ट्र बैंकले एक महिनाको लागि बैंकिङ प्रणालीबाट ६० अर्ब रुपैयाँ अधिक तरलता खिचेको छ । यही अधिक तरलताको असर अहिले बैंकिङ क्षेत्रको मुद्दती निक्षेपमा देखिएको छ । बैंकिङ क्षेत्रमा पर्याप्त तरलता रहकै कारण वाणिज्य बैंकहरूले असोज महिनाका लागि व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर भदौ महिनाको तुलनामा झनै घटाएका छन् । बैंकहरूले सार्वजनिक गरेको ब्याजदरसम्बन्धी तालिकाअनुसार असोजमा व्यक्तिगत मुद्दती निक्षेपको औसत ब्याजदर चार दशमलव शून्य आठ प्रतिशत कायम भएको छ । भदौमा यस्तो ब्याजदर औसतमा चार दशमलव १३ प्रतिशत रहेको थियो ।
असोजका लागि २० वटा वाणिज्य बैंकहरूमध्ये अधिकांशले व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर स्थिर राखेका छन् भने केहीले घटाएका छन् । कुनै पनि बैंकले भदौको तुलनामा ब्याजदर बढाएका छैनन् । सबैभन्दा बढी ब्याजदर प्रभु बैंकले चार दशमलव ५५ प्रतिशत कायम गरेको छ ।
त्यस्तै माछापुच्छ्रे बैंक, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, एनएमबी बैंक र सानिमा बैंकले चार दशमलव पाँच प्रतिशत ब्याजदर तोकेका छन् । यसैगरी नबिल बैंकले ब्याजदर घटाएर चार २५ प्रतिशतमा झारेको छ । भदौमा नबिलको व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर चार दशमलव ५५ प्रतिशत रहेको थियो । कृषि विकास बैंक र नेपाल बैंकले पनि चार दशमलव १५ प्रतिशत तथा नेपाल एसबीआई बैंकले चार दशमलव १० प्रतिशत ब्याजदर कायम गरेका छन् । प्राइम कमर्सियल बैंक, ग्लोबल आईएमई बैंक, एनआईसी एसिया बैंक, राष्ट्रिय वाणिज्य बैंक, लक्ष्मी सनराइज बैंक र हिमालयन बैंकले चार प्रतिशत ब्याजदर तोकेका छन् ।
त्यसैगरी सिटिजन्स बैंक इन्टरनेसनलले तीन दशमलव ८५ प्रतिशत, सिद्धार्थ बैंकले तीन दशमलव ७६ प्रतिशत, स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपालले तीन दशमलव ७५ प्रतिशत, कुमारी बैंकले तीन दशमलव ७३ प्रतिशत र एभरेष्ट बैंकले तीन दशमलव छ प्रतिशत ब्याजदर तोकेका छन् ।
ब्याजदर घटाउनेमध्ये एभरेष्ट बैंकले सबैभन्दा बढी व्याजदर घटाएको छ । बैंकले भदौमा चार दशमलव शून्य पाँच प्रतिशत ब्याज दिँदै आएकोमा असोजमा तीन दशमलव छ प्रतिशतमा झारेको छ । स्ट्यान्डर्ड चार्टर्डले पनि तीन दशमलव आठ प्रतिशतबाट तीन दशमलव ७५ प्रतिशत र कुमारी बैंकले तीन दशमलव ७६ प्रतिशतबाट तीन दशमलव ७३ प्रतिशतमा ब्याजदर झारेको छ । बैंकहरूले सार्वजनिक गरेको ब्याजदर तालिकाअनुसार असोज महिनामा सबैभन्दा उच्च र न्यून ब्याजदरबीच शून्य दशमलव ९५ प्रतिशत विन्दुको अन्तर रहेको छ ।