काठमाडौं, भदौ १० गते बुधबार भोटेकोशी/त्रिशूली नदीमा आएको भयानक बाढी (हिमाली सुनामी)ले नेपाल–चीनको रसुवागढी नाकादेखि रसुवा, नुवाकोट हुँदै धादिङसम्म त्रिशूली र आसपासका नदी/खोलमा बनेका ३२ वटा मोटर चल्ने (पक्की) पुल बगायो ।
नुवाकोटको विदुरदेखि वेत्रावती–मैलुङ, स्याफ्रुबेसी– रसुवागढीसम्मको ५६ किलोमिटर सडकमध्ये ४० किलोमिटर सडक त पूर्ण रूपमा बगाएको सडक विभागले जनाएको छ । त्यस्तै, पृथ्वी राजमार्गको कृष्णभीर, परेवाभीर, गल्छी–त्रिशूली सडकको रातमाटेमा पनि नदीले सडक पूर्ण रूपमा काटेको छ । कृष्णभीरको सडकखण्ड त नयाँ ट्र्याक खोलेर आज असोज १ गते बिहीबारदेखि सञ्चालन हुँदैछ । अन्य दुई ठाउँमा भने नयाँ ‘कटिङ’ गरेर गाडी चल्न थालेको छ ।
पुलहरू बगेपछि अहिले त्रिशूली नदीको पूर्व र पश्चिम गरी रसुवा, नुवाकोट र धादिङ जिल्ला स्पष्ट रूपमा दुई भागमा विभाजित भएको छ । त्रिशूली नदीको पश्चिमको तुलनामा पूर्वी भाग भने राजधानी काठमाडौंलगायत मुख्य राजमार्गसँग सडक सञ्जामा जोडिएको छ । यद्यपि त्रिशूली नदीको पूर्वतर्फ परे पनि रसुवाको सदरमुकाम धुन्चेलगायतका क्षेत्र भने अहिले पनि सहज सडक सञ्जालमा जोडिन सकेको छैन । वेत्रावतीको फलाखु खोलामा रहेका दुईवटै मोटरेवल पुल बगेको कारण धुन्चे राजमार्गबाट छुटिएको हो । नुवाकोटबाट नयाँ सडक प्रयोग गरेर कामचलाउ मात्र गरिएको छ । ठूला सवारीसाधन रसुवाको धुन्चेमा पुग्न सक्ने अवस्था छैन ।
नदीले कटिङ गरेर बगाएको सडक पुनः निर्माण गरेर काम चलाउ बनाउन सजिलो भए पनि पुल निर्माणमा भने ठूलो जोखिम मात्र छैन नयाँ प्रविधिको प्रयोग गर्नैपर्ने बाध्यतामा समेत सडक विभाग पुगेको छ । पुल बगेर मात्र क्षति भएन कतिपय ठाउँमा मोटरेबल पुल चाँडो नभाँचिदा वा नबग्दा पनि त्यसले ठूलो असर गरेको देखिएको छ । अहिले देवीघाटदेखि महादेवफाँटसम्म त्रिशूली नदीको पिँधमा ढुंगा, गेग्रान जम्मा हुँदा त्रिशूली नदी नै धेरै माथिबाट बगेको छ ।
स्थानीयका अनुसार बेलकोटगढी नगरपालिका–७ को महादेवफाँटबाट तारकेश्वर गाउँपालिकाको बुधसिंह जोड्ने मोटरेबल पुलमामा रुख, काठ, ढुंगालगायत बाढीले बगाएर ल्याएका सामानहरू केही समय रोकिँदा वेत्रावतीदेखि तीव्र गतिमा बग्दै आएका ठूला ढुंगाहरू त्यस आसपासमै रोकिएको थियो । उक्त पुलले केही समय त्रिशूली नदी छेक्दा विदुर नगरपालिका–३ को छत्रेफाँट पूर्णतः बगरमा परिणत भएको छ । यदि बाढीको पहिलो झड्कामै उक्त पुल भाँचिएको थियो भने सो क्षेत्रमा त्रिशूली नदीको गहिराई माथि आउने थिएन र छत्रेफाँट बगरमा परिणत हुने थिएन ।
यस्ता घटनाले त्रिशूलीलगायतका अधिकांश नदीहरूमा अब वारी र पारी दुईवटा मात्र पिलर अर्थात् ‘अवटमेन्ट’ बनाएर मात्र पुल बनाउनुपर्ने अवस्था सिर्जना भएको छ । छोटा मोटरेवल पुलमा नदीको दुई किनारमा मात्र अवटमेन्ट बनाएर पुल हाल्ने काम भएको छ भने लामो नदीमा नदीको बीचमा पनि दुई÷तीनवटासम्म पिलर अर्थात् ‘पियर’ उठाएर पुल निर्माण गर्ने गरिएको छ । भदौ १० गतेको बाढीले अब नदीको बीचमा पियर उठाएर वा नदीको किनारमै अवटमेन्ट उठाएर पुल बनाउने हो भने त्यस्ता संकट थपिने देखिएको छ ।
बोलीचालीको भाषामा पुलको पिलर भनिने अवटमेन्ट र पियरले पुलको माथिल्लो भाग (सुपरस्टकचर) र त्यसमाथि गुड्ने गाडीहरूको सम्पूर्ण भार त्यसले लिन्छ र जमिनमा पठाउँछ । पुलको मुख्य आधारस्तम्भ भनेकै अवटमेन्ट हो । अहिले धेरै ठाउँको पुल पूर्णत समाप्त हुनुमा नदी किनारमै अवटमेन्ट बनाउनु अर्थात् पुलको लम्बाइ छोटो पार्नु हो ।
नदीको किनारबाट दुवैतर्फ एक/दुई सय मिटरसम्म टाढा पुलको अवटमेन्ट उठाउने र अहिलेको पुलभन्दा दुईदेखि चार गुणा अग्लो नबनाएसम्म बाढीले बगाएर ल्याउने रुख, काठ, ढुंगा वा गाडीहरूले पुललाई धक्का दिएर बगाउने देखिएको छ । त्यही भएर अब हिमालबाट बगेर आउने नदीको पहाडी भागमा पनि नयाँ मोटरेवल पुल बनाउँदा अग्लो र कतिपय ठाउँमा त आधा किलोमिटरभन्दा पनि लामो बनाउनुपर्ने देखिएको छ ।
‘अग्ला र लामो पुल चाहिन्छ भन्ने जानकारी त थियो’, सडक विभागका एक अधिकारीले भने, ‘अग्ला र लामो पुल बनाउँदा अनावश्यक रूपमा खर्च बढाएको भनेर अख्तियार दुरुपयोग अनुसन्धान आयोगलगायतका निकायले छानबिन गरेर दुःख दिने भएको कारण निर्माण गरिएको थिएन । अब भोटेकोशी/त्रिशूली नदीको अहिलेको बाढीले त्यो कुराको पुष्टि गरेको छ, पुल र सडक जोगाउने हो भने जतिसुकै खर्च लागे पनि नदी किनारभन्दा माथिबाट सडक निर्माण र अग्ला तथा लामा पुल बनाउनै पर्छ ।’
सडक विभागका उपमहानिर्देशक अर्जुन प्रसाद अर्याल पनि अब पुलको उचाइ र लम्बाइ बढाउनै पर्ने अवस्था भोटेकोशी/त्रिशूली नदीको बाढीले पाठ सिकाएको स्वीकार गर्छन् । ‘खर्च त दोब्बरभन्दा बढी लाग्न सक्छ । तर, पुल जोगाउने हो भने अग्लो मात्र होइन लामो पनि बनाउनुपर्ने देखिएको छ । यो नेपालको पुल र सडकमा नयाँ इन्जिनियरिङ परीक्षण पनि हो । यस बारेमा सरकारले केही निर्णय गर्छ कि ?’
भोटेकोशी/त्रिशूलीको बाढीले नुवाकोटमा १४ वटा, रसुवामा १३ वटा र धादिङमा पाँचवटा मोटरेबल पुल बगाएको छ । अहिले गल्छी–त्रिशूली सडकको देवीघाटको तादी खेलामा एउटा एक्रो ब्रिज हालिएको छ भने त्रिशूली बजारमा अर्को पुल हालेर नुवाकोटको त्रिशूली वारी र पारीलाई जोड्ने प्रयास भएको छ । त्यस्तै वेत्रावतीमा अर्को पुल हालेर रसुवा र नुवाकोटलाई जोड्ने प्रयास पनि भएको छ । पक्की मोटरेबल पुल बनाउँन दुई÷तीन वर्ष लाग्ने भएको कारण सरकारले तत्काल काम चलाउको लागि देवीघाटको जस्तै बेलीब्रिज हाल्ने तयारी गरेको हो ।
बाढीबाट अस्तव्यस्त भएको नुवाकोट, रसुवा र धादिङमा अहिले तुइन, झोलुङ्गे पुल, फड्के राखेर मानिसको आवतजावतलाई सहज बनाउने प्रयास भएको छ । तर, त्रिशूली नदीमा जुनसुकै बेला बाढी आउन सक्ने भन्दै स्थानीयले सरकारसँग भरपर्दो र दिगो विकास खोजेका छन् । तर, बाढी आएको २२ दिन बित्दा पनि सरकारले बाढीबाट विस्थापितलाई अस्थायी घर कहाँ बनाइदिने भन्ने निर्णयसमेत गर्न सकेको छैन । अवरुद्ध सडक समेत खुलाउन सकेको छैन । सरकारले अग्ला र लामा मोटरेबल पुलको डिजाइन कहिले गर्छ अझै भन्न सक्ने अवस्था छैन । तर, त्रिशूलीमा अब होचा र छोटा मोटरेबल पुल बनाउँदा त्यसको स्थायित्वमा प्रश्न उठिरहने देखिएको छ ।