काठमाडौं, नेपाली वेयरेबल इलेक्ट्रोनिक्स ब्रान्ड अल्टिमा लाइफस्टाइलले आफ्नो अधिकृत रिसेलर कार्यक्रम सुरु गरेको छ । कम्पनीले अधिकृत रिसेलर कार्यक्रम सञ्चालन गर्ने आफूहरु पहिलो नेपाली उपभोक्ता इलेक्ट्रोनिक्स ब्रान्ड बनेको पनि दाबी गरेको छ ।
कम्पनीका अनुसार अब रिसेलरहरुले ब्रान्डबाट सिधै खरिदको अवसर पाउने भएका छन् । यसले रिसेलर र ब्रान्ड दुवैलाई फाइदा पुग्नेछ भने रिसेलरहरुले अब अल्टिमा लाइफस्टाइलका प्रोडक्टहरु प्रतिस्पर्धी मूल्य, बजार समर्थन, व्यवसाय सहायता र फाइदाहरुमा ब्रान्डसँग प्रत्यक्ष जोडिन पाउनेछन् । कार्यक्रममा आकर्षक पुरस्कार, प्रस्तुतिमा आधारित सहयोग, प्रवर्द्धन र व्यवसाय वृद्धिको अवसर पाइने विशेषताहरुसमेत रहेका छन् ।
कम्पनीका अनुसार कार्यक्रममा फरक व्यवसाय स्केलअनुसारका तीन रिसेलर क्याटेगोरी रहनेछन्, जसमा गोल्ड अथोराइज्ड रिसेलर, डायमन्ड अथोराइज्ड रिसेलर र प्लाटिनम अथोराइज्ड रिसेलर रहनेछन् । गोल्डतर्फ हरेक अल्टिमा एसकेयूको कम्तीमा एक युनिट हुनुपर्नेछ भने वार्षिक २० लाख रुपैयाँको खरिद लक्ष्य तोकिएको छ । त्यसैगरी डायमन्डतर्फ ५ लाख वा त्योभन्दा बढीको सुरुवाती खरिद र वार्षिक ५० लाख रुपैयाँको खरिद लक्ष्य समावेश छ । प्लाटिनमतर्फ २० लाख वा त्योभन्दा बढीको सुरु खरिद र वार्षिक १ करोड रुपैयाँको खरिद लक्ष्य राखिएको छ ।
कम्पनीले यसबाहेक वार्षिक रिवार्ड कार्यक्रम पनि संचालन गरेको छ । असाधारण व्यावसायिक प्रस्तुति पहिल्याउन अल्टिमाले एउटा एक्सक्लुसिभ वार्षिक रिवार्ड कार्यक्रम ल्याएको हो । यसअनुसार वार्षिक खरिद लक्ष्यप्राप्तिमा सफल हुने वा त्योभन्दा बढी सफल हुने रिसेलरलाई प्रिमियम रिवार्डका लागि योग्य मानिने कम्पनीले जनाएको छ । जसमा थाइल्यान्ड यात्रा, रोयल इन्फिल्ड मोटरसाइकल र ५ लाखसम्मको नगद पुरस्कारको व्यवस्था गरिएको छ । अल्टिमा लाइफस्टाइलका महाप्रबन्धक प्रज्वल ढकालले अधिकृत बिक्रेता कार्यक्रमले कम्पनीको नेपालभरका रिटेलरसँगको लामो सम्बन्धप्रतिको प्रतिबद्धतालाई झल्काउने बताए ।