तेहरान, इरानका प्रमुख आणविक सुविधाहरूमा आईएईएलाई पहुँच दिएमा यसले इरानका लागि ‘सकारात्मक प्रभाव’ पर्ने अन्तर्राष्ट्रिय आणविक ऊर्जा निकाय (आईएईए) का प्रमुख राफेल ग्रोसीले सोमबार बताएका छन् । एउटा मस्यौदा प्रस्तावमा यो बिषयबारे छलफल गर्न तेहरानलाई संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्मा पठाउने प्रस्ताव गरिएको एएफपीले जनाएको छ ।
आणविक स्थलहरूमाथि पनि हमला भएको सन् २०२५ जुनमा इजरायलले अमेरिकाको साथमा १२ दिने द्वन्द्व सुरु गरेपछि आईएईएलाई इरानका प्रमुख आणविक सुविधाहरूमा पहुँच छैन । फेब्रुअरी २८ मा सुरु भएको पछिल्लो युद्धमा पनि आणविक सुविधाहरूमाथि हमला भएको थियो र आईएईएले बारम्बार पहुँचको माग गर्दै आएको छ ।
आईएईए गभर्नर बोर्डको त्रैमासिक बैठक उद्घाटनपछि पत्रकार सम्मेलनमा ग्रोसीले भने, ‘सकारात्मक परिणामका लागि सबैभन्दा राम्रो र छोटो बाटो इरान हामीसँग संलग्न हुनु हो ।’ अमेरिका, बेलायत, फ्रान्स र जर्मनीद्वारा तयार पारिएको प्रस्ताव सुरक्षा परिषद्मा यस हप्ता पेश हुने र मतदान हुने अपेक्षा गरिएको छ । यसमा इरानले आणविक प्रतिवेदनसम्बन्धी दायित्व पूरा नगरेको भन्दै संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्मा पठाउन माग गरिएको छ ।
मस्यौदामा ग्रोसीलाई ‘यो प्रस्ताव आईएईएका सबै सदस्य तथा संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद र महासभामा पेश गर्न’ भनिएको छ । यस्तो पठाउने कदम सही हो कि होइन भन्ने प्रश्नमा ग्रोसीले भने, ‘प्रस्ताव जे भए पनि इरानसँग मेरो काम जारी रहन्छ । यदि इरान हामीसँग गम्भीर संवादमा संलग्न हुन्छ र हामी पहुँच पाउन थाल्छौं भने म तपाईंलाई ग्यारेन्टी दिन्छु कि यसको धेरै धेरै सकारात्मक प्रभाव पर्नेछ ।’
सन् २०२५ जुनका हमलाअघि आईएईएले इरानसँग करिब ४४० किलोग्राम ६० प्रतिशतसम्म समृद्ध युरेनियम रहेको आकलन गरेको थियो । यो बम बनाउन आवश्यक ९० प्रतिशतको नजिक छ भने सन् २०१५ को अब निष्क्रिय सम्झौतामा तोकिएको ३.६७ प्रतिशतको सीमाभन्दा धेरै माथि हो ।
सन् २०२५ जुनदेखि यस भण्डारको अवस्था अस्पष्ट छ । सोमबारको बैठकअघि जारी वक्तव्यमा ग्रोसीले इरानसँग सम्पर्क नहुनु ‘दुःखद’ भएको बताए । ‘यी मुद्दाहरू हामीले समाधान नगरेसम्म, आवश्यक पहुँच नपाएसम्म र फर्कन नसकेसम्म हराउने छैनन्’, उनले भने । संयुक्त राष्ट्रसंघस्थित इरानी नियोगले एक्समा जारी एक विज्ञप्तिमा मस्यौदा प्रस्तावलाई ‘हतारमा ल्याइएको नयाँ कदम’ भन्दै यसबाट ‘कुनै फाइदा नहुने’ बताएको छ । जुनमा बोर्डले पश्चिमा प्रस्ताव स्वीकृत गर्दै इरानलाई तुरुन्त जानकारी दिन र युरेनियम भण्डार तथा उत्पादन सुविधाहरूमा पहुँच दिन माग गरेको एएफपीले जनाएको छ ।