मस्कट, ओमानको नौसेनाले सोमबार एक साउदी झण्डा बोकेको तेल ट्यांकरबाट १६ जना चालक दलका सदस्यहरूलाई उद्धार गरेको खुलासा गरेको छ । उक्त जहाजमा एक साताअघि हर्मुज जलमार्गमा इरानले आक्रमण गरेको थियो ।
‘ओमानी राष्ट्रिय नौसेनाको एक जहाजले ट्यांकरका २५ सदस्यीय चालक दललाई रसद सहयोग प्रदान गरेको छ र आवश्यक चिकित्सा सेवा सुनिश्चित गर्दै १६ जना चालक दलका सदस्यहरूलाई उद्धार गरेको छ’, ओमानको समुद्री सुरक्षा केन्द्रले वक्तव्यमा जनाएको छ । वक्तव्यमा सबै चालक दलको अवस्थाबारे विस्तृत उल्लेख छैन तर जहाज एसआईडीआरमा दुई जना नाविकको मृत्यु भएको पुष्टि गरेको छ ।
साउदी अरबको राष्ट्रिय ढुवानी कम्पनीले बुधबार हर्मुज जलमार्गमा ट्यांकरमाथि आक्रमण हुँदा दुई फिलिपिनो नाविकको मृत्यु भएको बताएको थियो । उक्त आक्रमण गत हप्ताको सुरुमा अमेरिका र इरानबीच नयाँ हिंसा भड्किँदा भएको थियो । छ महिनाको युद्धपछि दुवै पक्ष गतिरोधमै छन् । इरानले रणनीतिक मार्ग हर्मुज जलमागएमा आवागमन अवरुद्ध गरिरहेको छ भने अमेरिकाले इरानी बन्दरगाहहरूमाथि प्रतिबन्ध कायम राखेको एएफपीले जनाएको छ ।