काठमाडौं, मुलुकमा पछिल्लो समय वित्तीय पहुँच विस्तार उल्लेख्य रूपमा बढेको छ । नेपाल राष्ट्र बैंकको आर्थिक वर्ष २०८२/०८३ को जेठ मसान्तसम्मको तथ्थांकअनुसार पछिल्लो समय मुलुकको वित्तीय पहुँच विस्तार उल्लेख्य रूपमा बढेको देखिएको हो । विशेषगरी निक्षेप तथा कर्जा खाता, मोबाइल बैंकिङ, डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्ताको संख्या बढ्दा देशमा डिजिटल वित्तीय सेवाप्रतिको आकर्षण बढेको राष्ट्र बैंकले जानकारी दिएको छ ।
नेपाली बैंकिङ क्षेत्रमा अहिले २० वटा वाणिज्य बैंक, क्षेत्रीय राष्ट्रियस्तरका समेत गरी १७ वटा विकास बैंक, १७ वटा फाइनान्स कम्पनीसहितका कुल ५४ वटा संस्थाहरूले वित्तीय कारोबार सञ्चालन गर्दै आएका छन् । सोअनुसार आव २०८१/०८२ को जेठ मसान्तसम्म बैंकिङ क्षेत्रमा कुल छ हजार पाँच सय १८ शाखाहरू सञ्चालनमा रहेकोमा आव २०८२/०८३ को सोही अवधिमा यस्तो शाखा संख्या छ हजार तीन सय ५८ मा झरेको राष्ट्र बैंकको भनाइ छ । पछिल्लो समय वाणिज्य बैंकका शाखा पाँच हजार ९५ बाट चार हजार नौ सय ५० र विकास बैंकका शाखा एक हजार एक सय ३२ बाट एक हजार एक सय १५ मा घटेका छन् भने फाइनान्स कम्पनीका शाखा दुई सय ९१ बाट दुई सय ९३ पुगेका छन् ।
राष्ट्र बैंकका अनुसार पछिल्लो अवधिमा वित्तीय पहुँचको प्रमुख सूचक मानिने निक्षेप खाता संख्या पनि उल्लेखनीय रूपमा बढेको छ । एक वर्षको अवधिमा निक्षेप खाताको संख्या पाँच करोड ९४ लाख २९ हजार तीन सय ६७ बाट बढेर छ करोड ३० लाख ६५ हजार नौ सय ९४ पुगेको छ । यसको अर्थ पछिल्लो एक वर्षमा मुलुकमा ३६ लाख ३६ हजार छ सय २७ वटा नयाँ निक्षेप खाता थपिएका छन् । यसैगरी कर्जा खाताको संख्या पनि १९ लाख ६६ हजार पाँच सय ५८ बाट बढेर २० लाख ४८ हजार नौ ८५ पुगेको छ । डिजिटल बैंकिङ सेवामा सबैभन्दा ठूलो वृद्धि मोबाइल बैंकिङतर्फ देखिएको प्रतिवेदनमा उल्लेख छ ।
मोबाइल बैंकिङ प्रयोगकर्ताको संख्या दुई करोड ७६ लाख ४४ हजार नौ सय ९६ बाट बढेर आव २०८२/०८३ को जेठ मसान्तसम्ममा तीन करोड एक लाख ६० हजार ४० पुगेको छ । सोअनुसार पछिल्लो एक वर्षमै २५ लाख १५ हजार ४४ नयाँ मोबाइल बैंकिङ प्रयोगकर्ता थपिएका छन् । मोबाइल बैंकिङ प्रयोगकर्ताहरूको संख्या बढ्दै जाँदा इन्टरनेट बैंकिङ प्रयोगकर्ताको संख्या २६ लाख ६५ हजार एक सय ४३ बाट घटेर २४ लाख ५५ हजार नौ सय ८० मा सीमित भएको छ ।
राष्ट्र बैंकका अनुसार पछिल्लो समय शाखारहित बैंकिङ सेवामा केही कमी आएको छ । शाखारहित बैंकिङ केन्द्रको संख्या आठ सय ८० बाट घटेर छ सय ८२ मा पुगेको छ भने त्यसमार्फत सेवा लिने ग्राहक संख्या दुई लाख ७७ हजार तीन सय १६ बाट दुई लाख ६४ हजार चार सय ९१ मा झरेको छ । ग्रामीण क्षेत्रमा समेत मोबाइल बैंकिङ र डिजिटल भुक्तानी सेवा विस्तार भएकाले शाखारहित केन्द्रहरूको संख्या पछिल्लो समय घट्दै गएको हो । डेबिट कार्डको संख्या भने पछिल्लो अवधिमा एक करोड ३५ लाख ९२ हजार १४ बाट बढेर एक करोड ३९ लाख ८७ हजार पाँच सय ५५ पुगेको प्रतिवेदनमा उल्लेख छ ।
यसैगरी क्रेडिट कार्ड तीन लाख १४ हजार चार सय ५३ बाट बढेर तीन लाख ३४ हजार छ सय १३ पुग्दा प्रिपेड कार्डको संख्या दुई लाख ४६ हजार चार ४० बाट बढेर दुई लाख ८४ हजार आठ सय ८७ पुगेको छ । एटीएमको संख्या भने पाँच हजार दुई सय ६५ बाट घटेर पाँच हजार एक सय ५६ मा सीमित भएको प्रतिवेदनमा उल्लेख छ ।