सर्लाही, बलरा नगरपालिका–७ डुमरियास्थित कुखुरा फर्मबाट अवैध लागूऔषध गाँजा करिब ३ सय २० किलोग्राम सहित सोही ठाउँ बस्ने २८ वर्षीय अमरजित राउतलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
प्रहरी चौकी मधुवनीगाउँबाट खटिएको प्रहरीले कुखुरा फर्म तलासी गर्ने क्रममा १९ वटा पोकामा रहेको उक्त परिमाणको गाँजा फेला पारी अमरजितलाई पक्राउ गरेको हो । साथै प्रहरीले बा.प्र.०१–०२६ च २८८६ नम्बरको गाडी, बिआर ०६ बिवाई १७६१ नम्बर र लु. ४७ प २५२८ नम्बरको मोटरसाइकलहरू समेत बरामद गरेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
त्यसैगरी छिपहरमाई गाउँपालिका–१ मिर्जापुरस्थित आँपको बगैँचाबाट अवैध लागूऔषध गाँजा जस्तो देखिने पदार्थ करिब १ सय ४० किलोग्राम शनिबार राति प्रहरीले बरामद गरेको छ । इलाका प्रहरी कार्यालय पोखरियाबाट खटिएको प्रहरीले १३ वटा पोकामा रहेको उक्त परिमाणको गाँजा फेला पारी बरामद गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।