काठमाडौं, लघुवित्त पीडितहरूले बैंक तथा वित्तीय संस्थाबाट भइरहेको वित्तीय शोषण र अन्यायपूर्ण ऋण असुलीविरुद्ध राजधानीमा विरोध प्रदर्शन गरेका छन् । बैंक तथा वित्तीय संस्थाबाट भइरहेको वित्तीय शोषण र अन्यायपूर्ण ऋण असुलीविरुद्ध विरोध प्रदर्शनको क्रममा उनीहरूले आइतबार राजधानीकेन्द्रित मार्चपास सुरु गरेका हुन् ।
लघुवित्त तथा वित्तीय शोषणविरुद्ध किसान मजदुर आन्दोलन नेपालको संयोजकत्वमा भएको विरोध प्रदर्शनको क्रममा प्रदर्शनकारीहरूले बल्खुबाट मार्चपास सुरु गरी भद्रकालीमा आएर कोणसभामा टुंगिएका थिए । मार्चपासको क्रममा उनीहरूको ‘सम्पूर्ण किसान मजदुर एक हौँं, वित्तीय शोषणविरुद्ध सघर्ष गरौँ’ भन्ने नारा रहेको थियो । यसका साथै उनीहरूले ऋणमुक्त जनता, ऋणमुक्त देश त्यसपछि आउँछ विकासको भेल, लघुवित्त पीडितको प्रतिवेदन विनासर्त सार्वजनिक गर, ऋण मिनाहा गरलगायतका ब्यानर बोकेका थिए । प्रदर्शनकारीहरू बाँके, दाङ, कपिलवस्तुलगायतका जिल्लाबाट आएका हुन् ।
पीडितहरूले चर्को ब्याज र शोषणका कारण उठ्नै नसक्ने अवस्थामा पुगेका ऋणीहरूको अन्यायपूर्ण ऋण मिनाहा गरिनुपर्ने, पीडितमाथि भएका शोषण र अन्यायको निष्पक्ष छानबिनका लागि अधिकारसम्पन्न न्यायिक आयोग गठन हुनुपर्नेलगायतका माग गरेका छन् । यसैगरी कालोसूचीमा राखिएका पीडित ऋणीहरूको नाम तत्काल हटाउनुपर्ने र धितो लिलामी प्रक्रिया पूर्ण रूपमा रोक्नुपर्ने माग उनीहरूको रहेको छ । जनमुखी मौद्रिक नीति लागू गर्दै आर्थिक संकटमा परेका किसान, मजदुर, महिला, उद्यमी तथा व्यवसायीको संरक्षणका लागि ब्याजदर घटाउने, ब्याज समायोजन गर्ने र पुनः व्यवसाय सञ्चालनका लागि सहुलियतपूर्ण कर्जा उपलब्ध गराउनुपर्ने समेत माग उनीहरूले राखेका छन् ।
लघुवित्त संस्थाहरूबाट मारमा परेका नागरिकहरूले आफ्नो हकहित र न्यायको लागि माग राख्दै आए पनि सम्बोधन हुन सकेको छैन । यसअघि पनि लघुवित्त पीडितहरूले काठमाडौं सहित मुलुकका विभिन्न भागमा प्रदर्शन गर्दै आएका थिए तर माग सम्बोधन हुन सकेको छैन ।