तेहरान, इरानले तोकेको हर्मुज मार्गबाट बाहिरिएपछि एक ट्यांकर समुद्री बारुदी सुरुङसँग ठोक्किएको छ । तस्निम समाचार एजेन्सीले जनाएअनुसार उक्त जहाज तेहरानले स्वीकृत गरेको महत्वपूर्ण समुद्री मार्गबाट बाहिरिएपछि बारुदी सुरुङसँग ठोक्किएको हो । इरानी अधिकारीहरूले अहिलेसम्म यस घटनामा कुनै टिप्पणी गरेका छैनन् ।इरानको इस्लामिक रिवोल्युसनरी गार्ड कप्र्स (आईआरजीसी)ले विगत २४ घण्टामा हर्मुज जलमार्गबाट पार हुन खोज्ने छवटा जहाजमा चेतावनीका रूपमा आक्रमण गरेको छ ।
इरानको सरकारी टेलिभिजनले जनाएअनुसार ती जहाजहरूलाई यात्रा जारी राख्नबाट रोकिएको छ । तिनीहरू तेहरानले तोकेको ‘निर्धारित मार्ग’ बाट बाहिरिएर हिँडिरहेका थिए । शनिबार पनि हर्मुज जलमार्गबाट पार हुन खोज्ने चार वटा जहाजलाई आईआरजीसीले अनुमतिबिना अघि बढेको भन्दै रोकेको थियो । हर्मुज जलमार्गबाट आवतजावत गर्ने जहाजहरूको मार्गलाई लिएर अमेरिका र इरानबीचको मतभेद नै यस क्षेत्रमा हालैको तनावको मुख्य कारण बनेको छ ।
इरानी ब्रिगेडियर जनरल मोहम्मद रजा अकरमिनियाले भनेका छन्, ‘तेहरानले हर्मुज जलमार्गमाथि आफ्नो अधिकार जनाउन कदम चालेको छ । यो कदम अमेरिकाले जुन महिनामा भएको समझदारी पत्रको उल्लंघन गर्दै हर्मुज जलसन्धिमा नक्कली र गैरकानुनी मार्ग बनाउन खोजेपछि चालिएको हो ।’ तस्निम समाचार एजेन्सीले अकरमिनियालाई उद्धृत गर्दै यी कारबाहीहरूमा इस्लामिक रिपब्लिक अफ इरानको सेनाले जोर्डन, कुवेत र बहराइनमा रहेका अमेरिकी आधारहरूलाइ केन्द्रमा राखेको उल्लेख गरेको छ । यस क्षेत्रमा अमेरिकाका सबैभन्दा महत्वपूर्ण आधार शिविरहरू रहेको मानिन्छ ।
हर्मुज जलमार्गबाट आवतजावत गर्ने जहाजका लागि ढुवानीका लागि रुटहरूको व्यवस्थापनलाई लिएर अमेरिका र इरानबीचको विवादका कारण हालै भएको समझदारी टुटेको हो । अमेरिकाले लगातार १३ रातसम्म इरानमाथि हमला गरेको छ । जवाफमा इरानले बहराइन, कुवेत र जोर्डनमा रहेका अमेरिकी आधारहरूमाथि आक्रमण गरेको छ । अमेरिकी मिडिया रिपोर्टअनुसार इन्टरसेप्टर मिसाइलको स्टक घट्दै गएको चिन्ता र कूटनीतिका लागि ठाउँ बनाउने उद्देश्यले ट्रम्पले शुक्रबार हमला रोकेको बताएका थिए ।
कतारमा सबै समुद्री आवागमन पुनः सुरु
यसैबीच, कतारको यातायात मन्त्रालयले ‘आइतबार (जुलाई २६) देखि सबै प्रकारका समुद्री जहाज र डुंगाका लागि गतिविधि पूर्ण रूपमा पुनः सुरु हुन सक्ने बताएको छ । एक्समा पोस्ट गर्दै मन्त्रालयले जहाजहरूलाई ‘सबै यात्राका क्रममा सुरक्षाको उच्चतम स्तर सुनिश्चित गर्न समुद्री नियम र निर्देशनहरूको पालना गर्न’ आग्रह गरेको छ । होर्मुज जलमार्गमा समुद्री आवागमनमा अमेरिका र इरानबीच एकअर्कामाथि घातक आक्रमण पुनः सुरु भएपछि प्रतिबन्ध लगाइएको एएफपीले जनाएको छ ।