काठमाडौं, विशेष अदालतले सशस्त्र प्रहरी स्कुल कीर्तिपुरका लेखा अधिकृत कल्पना गुरुङ र एमडी एडभेञ्चर टुर्स एण्ड ट्राभल्सका सञ्चालक लीलाबहादुर लामा तामाङलाई १० दिन न्यायिक हिरासतमा राखेर अनुसन्धान गर्न आदेश दिएको छ ।
विशेष अदालतका न्यायाधीश नारायणप्रसाद पौडेल, हेमन्त रावल र डिल्लीरत्न श्रेष्ठको इजलासले आइतबार सो आदेश दिएको हो । सोही आदेशबमोजिम निजहरूलाई न्यायिक हिरासतमा राख्न पठाइएको विशेष अदालतले जनाएको छ । एपीएफ स्कूलको आर्थिक अपचलनसम्बन्धी विषयको अनुसन्धानका क्रममा सशस्त्र प्रहरी निरीक्षक गुरुङ र व्यवसायी लामालाई गत असार २० गते प्रहरीले पक्राउ गरेको थियो ।
जिल्ला सरकारी वकील कार्यालय र जिल्ला प्रहरी परिसर काठमाडौंको पत्रअनुसार भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ७ र १७ ले निषेध गरेको भ्रष्टाचारको कसुर अपराधको अनुसन्धान गर्न यही साउन ८ गते निज आरोपीहरूलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पेस गरिएको थियो ।
गुरुङले आफ्नो संगठनलाई गुमराहमा राखेर विद्यालयको करोडौँ रकम अनियमितता गर्दै आएको खुलेको थियो । विद्यालयमा विद्यार्थीबाट उठाएको रकम कल्याणकारी सेवा केन्द्रमा जम्मा गर्नुपर्नेमा उनले रकम जम्मा गरेको भनेर सशस्त्र प्रहरी मुख्यालयलाई नै झुक्याएर लामाको खातामा पठाएकी थिइन् । यो खुलेसँगै उनीमाथि अनुसन्धान अघि बढेको थियो ।