काठमाडौं, गगन थापा पक्षले गत १८ गतेदेखि खुलामञ्चमा सञ्चालन गरेको नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा गगन थापा र विश्वप्रकाश समूहले आफूखुसी महाधिवेशन प्रतिनिधि चयन गरेको आरोप लागेको छ । थापा–शर्मामाथि लागेको आरोपमा लाचार छाया बनेर मुख्य सचिव कृष्ण दुलालले सभापति गगन थापाको निर्देशनमा निर्वाचित महाधिवेशन प्रतिनिधिहरूको नाम हटाएर नयाँ महाधिवेशन प्रतिनिधिको नाम सूचीकृत गरेको जवाफ दिएका छन् । अस्ट्रेलियाबाट आएका महाधिवेशन प्रतिनिधिहरूले मतदाता नामावलीमा आफूहरूको नाम नदेखेपछि मुख्य सचिव दुलालसमक्ष लिखित रूपमा निवदेन दिएका थिए ।

तर दुलालले आफूले उक्त निर्णय सभापति थापाको निर्देशनमा गरेको भनेर उम्कने प्रयास गरेका हुन् । सभापति थापाले उनीहरूलाई महाधिवेशन प्रतिनिधिमा सूचीकृत नगरी शीतल कुमार गिरी, कृष्ण गिरी (जगन्नाथ), नइन्द्र कुमार श्रेष्ठ, अच्यूत अधिकारी, रविन्द्र गौतम, कमल प्रसाद लामिछाने, सुरेन्द्र सिग्देल, विनोद लामा, गणेश केसी, राजकुमार अधिकारी, गणेश पौडेल, प्रदीप पाठक र दिलीप पोख्रेललाई महाधिवेशन प्रतिनिधि तोकेको थियो ।

सभापति थापाले तोकेका १४ जना महाधिवेशन प्रतिनिधिमध्ये गणेश पौडेल, सुरेन्द्र सिग्देल, राजेश बुढाथोकी, कमलप्रसाद लामिछाने, अच्यूत अधिकारी, गणेश केसी, राजकुमार अधिकारी र शीतल गिरीले नेपाली नागरिकता त्यागेर अस्टे«लियाको नागरिकता लिइसकेको जनसम्पर्क समिति अस्टे«लियाका अध्यक्ष दिलिप पोख्रेल, सुनिल विष्ट, कर्मा लामा र राज गुरुङले गरेको उजुरीमा उल्लेख गरिएको छ । नेपाली कांग्रेसको जारी महाधिवेशनमा प्रतिनिधि चयनको विवाद अस्टे«लियामा मात्र नभई जापान र क्यानडामा पनि त्यस्तै भएको छ । देशभित्रका दोलखा, कास्कीलगायतको जिल्लामा भएका विवाद सार्वजनिक भइसकेका छन् भने काठमाडौंकै क्षेत्र नं ७ मा पर्ने कामनपा– १८ वडामा मात्र ६४ फर्जी क्रियाशील राखेर गरिएको अधिवेशनमा रैथाने नेवारहरू लगभग सबै पराजित भएका थिए । उपसभापति शर्माले उक्त धाँधली गरेको आरोप लागेको छ । कांग्रेसको जारी महाधिवेशनमा जसरी पनि आफ्नो गुटको वर्चश्व कायम राख्ने बदनियत रहेको लगभग स्पष्ट हुँदै गएको छ र यसले गर्दा महाधिवेशनमा सहभागीहरूले मतगणना र नेतृत्व चयनपछि के–किन भन्ने छर्लङ्ग थाहा पाउने अवस्था आउने देखिएको छ । नेपाली कांग्रेसका निष्ठा र आदर्श पुरुषहरू बीपी कोइराला, गणेशमान सिंह, सुवर्ण शमशेर, महेन्द्र नारायण निधीका परिवारलाई लगभग निषेध गरेर गरिएको नेपाली कांग्रेसको महाधिवेशन निष्ठाका लागि भन्दा पनि पार्टी कब्जा गर्ने बदनियत रहेको स्पपष्ट हुँदै गएको छ ।