काठमाडौं, नेपालमा बजाज मोटरसाइकलको आधिकारिक वितरक एचएच बजाजले ग्राहकलाई मोटरसाइकल खरिद अझ सहज र किफायती बनाउन हुलास फिनसर्भ हायर पर्चेज लिमिटेड (एचएफएल)सँगको सहकार्यमा नयाँ फाइनान्सिङ सुविधा सार्वजनिक गरेको छ ।
यस नयाँ योजनाअन्तर्गत अब बजाज मोटरसाइकल खरिद गर्दा ३ वर्षको सट्टा अधिकतम ५ वर्ष (६० महिना) सम्मको ऋण सुविधा उपलब्ध हुनेछ । यस व्यवस्थासँगै मासिक किस्ता (ईएमआई) उल्लेख्य रूपमा घट्ने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार यस योजनामा ऋणको अवधि मात्र बढाइएको छैन, ब्याजदर पनि ९ दशमलब ९९ प्रतिशतबाट घटाएर ८ दशमलब ९९ प्रतिशत कायम गरिएको छ । यसले ग्राहकको मासिक आर्थिक भार थप कम गर्न सहयोग गर्ने विश्वास कम्पनीको छ । यो सुविधा प्लाटिना १००ईएसदेखि डोमिनार ४०० सम्मका सम्पूर्ण बजाज मोटरसाइकलमा लागू हुने कम्पनीले जनाएको छ ।
नयाँ फाइनान्सिङ व्यवस्थाअनुसार प्लाटिना १००ईएसमा मासिक किस्ता करिब ३ हजार २५५ रुपैयाँबाट घटेर २ हजार १२४ रुपैयाँ पुगेको छ भने ग्राहकले हरेक महिना करिब १ हजार १३१ रुपैयाँ बचत गर्न सक्नेछन् । त्यस्तै, डोमिनार ४०० मा मासिक किस्ता करिब ८ हजार २२७ बाट घटेर ५ हजार ३७० रुपैयाँमा झरेको छ, जसले मासिक करिब २ हजार ८५७ रुपैयाँसम्म बचत हुने कम्पनीले जनाएको छ । यसैगरी, पल्सर १२५, पल्सर एन१२५, पल्सर १५०, पल्सर एन१५०, पल्सर एन१६०, पल्सर २२०एफ, पल्सर २००एनएस, पल्सर एन२५० तथा एनएस४००जेड लगायत सम्पूर्ण मोडेलमा पनि मासिक किस्ता उल्लेख्य रूपमा घटाइएको छ ।
कम्पनीका अनुसार यो कुनै सीमित अवधिको छुट योजना नभई ग्राहकको वास्तविक आवश्यकता बुझेर स्वामित्वलाई अझ पहुँचयोग्य बनाउने उद्देश्यले ल्याइएको योजना हो । मोटरसाइकलको मूल्यभन्दा पनि मासिक किस्ता धेरैका लागि चुनौती बन्ने अवस्थालाई ध्यानमा राख्दै बजाजले ऋण अवधि विस्तार र ब्याजदर घटाउने निर्णय गरेको जनाएको छ । एचएच बजाजका अनुसार ग्राहकको सुविधालाई केन्द्रमा राखेर गरिएको यस निर्णयले अझ धेरै नेपालीलाई सहज मासिक किस्तामार्फत आफूले चाहेको बजाज मोटरसाइकलको स्वामित्व लिन मद्दत गर्नेछ । कम्पनीले आगामी दिनमा पनि ग्राहकको आवश्यकता र बजारको मागअनुसार यस्ता ग्राहकमैत्री योजना ल्याउँदै जाने प्रतिबद्धता व्यक्त गरेको छ ।
नेपाल राष्ट्र बैंकको नियमनमा रहेको हुलास फिनसर्भ हायर पर्चेज लिमिटेड (एचएफएल)मार्फत उपलब्ध हुने यो सुविधा देशभर रहेका एचएच बजाज शोरुमहरूबाट लिन सकिने कम्पनीले जनाएको छ ।