नेपालमा क्यान्सरबारे सार्वजनिक रूपमा कुरा गर्नसमेत कठिन मानिन्थ्यो । क्यान्सरको नाम सुन्नासाथ उपचारको सम्भावनाभन्दा भय, निराशा र मृत्युको कल्पना अगाडि आउँथ्यो । रोगबारे पर्याप्त जानकारीको अभावमा प्रारम्भिक लक्षण बेवास्ता हुन्थे, उपचार ढिला पुग्थ्यो र क्यान्सरलाई असाध्य रोग ठान्ने मानसिकता व्यापक थियो । यस्तो सामाजिक मनोविज्ञानका बीच क्यान्सरविरुद्ध जनचेतना जगाउने, रोगको पहिचान र उपचारप्रति विश्वास बढाउने तथा पीडितलाई सामाजिक सहारा उपलब्ध गराउने संगठित अभियानको आवश्यकता गहिरो रूपमा महसुस भइरहेको थियो ।
यही पृष्ठभूमिमा विसं. २०३९ भदौ ३१ गते नेपाल अर्बुद रोग निवारण संस्थाको स्थापना भयो । संस्थापक अध्यक्षका रूपमा श्री ५ अधिराजकुमारी जयन्ती शाहको नेतृत्वबाट सुरु भएको यो यात्रा क्रमशः डा. अञ्जनीकुमार शर्मा, कर्ण शाक्य, हरिप्रसाद पौडेल, दिवाकर राज कर्णिकार, जितबहादुर श्रेष्ठ, लोकेन्द्रकुमार श्रेष्ठ ‘ईश्वर’ हुँदै वर्तमान अध्यक्ष महेश श्रेष्ठको नेतृत्वसम्म आइपुगेको छ । फरक–फरक समयमा नेतृत्व सम्हाल्ने अध्यक्षहरू र कार्यसमितिको योगदानलाई अलग–अलग व्यक्तिको उपलब्धिभन्दा संस्थागत यात्राको निरन्तरताका रूपमा हेर्नु उपयुक्त हुन्छ । चार दशकभन्दा लामो यो यात्रामा नेतृत्व फेरिए पनि क्यान्सरविरुद्धको मूल उद्देश्य र सामाजिक दायित्वले निरन्तरता पाउँदै आएको छ ।
त्यस समय जनचेतना नै अभियानको पहिलो आधार बन्यो । क्यान्सरका कारण, जोखिमका तत्व, प्रारम्भिक लक्षण, समयमै परीक्षण र उपचारका विषयलाई समाजका विभिन्न तहसम्म पुर्याउने प्रयास सुरु भयो । अभियान सडक, विद्यालय, समुदाय र सार्वजनिक मञ्चसम्म पुग्यो । क्यान्सरबारे बोल्ने, बुझ्ने र समयमै उपचार खोज्ने सामाजिक वातावरण निर्माण गर्ने दिशामा संस्थाले महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ ।
चेतना अभियानसँगै उपचारको प्रश्न पनि उत्तिकै गम्भीर थियो । त्यसबेला नेपालमै क्यान्सर उपचारको सुविधा अत्यन्त सीमित थियो । उपचारका लागि आवश्यक विशेषज्ञता, प्रविधि र पूर्वाधारको अभावले क्यान्सरपीडितका लागि उपचार आफैं ठूलो चुनौती बन्ने गरेको थियो । यही आवश्यकता र परिस्थितिलाई आत्मसात् गर्दै नेपाल अर्बुद रोग निवारण संस्थाको अगुवाइमा भक्तपुर क्यान्सर केयर सेन्टरको प्रारम्भ श्री ३ चन्द्र डिस्पेन्सरी अर्थात् भक्तपुर अस्पतालको परिसरबाट भयो ।
नेपाल अर्बुद रोग निवारण संस्थाको अगुवाइमा भक्तपुर क्यान्सर उपचार केन्द्रको विकासमा डा. अञ्जनीकुमार शर्मालगायत संस्थाका अध्यक्ष, पधाधिकारी, चिकित्सकहरूको योगदान, नेपाल अर्बुद रोग निवारण संस्थाको निरन्तर नेतृत्व, स्वास्थ्यकर्मीहरूको समर्पण तथा विभिन्न सामाजिक अभियन्ता, दाता र शुभेच्छुकहरूको साथ जोडिँदै गयो । यही सामूहिक प्रयत्नले केन्द्रलाई विस्तार गर्दै आधुनिक क्यान्सर उपचार सेवातर्फ अघि बढायो । क्रमशः रेडियोथेरापी, केमोथेरापी, शल्यक्रिया, ब्राकिथेरापी, प्यालिएटिभ केयरलगायत विशेषज्ञ सेवाहरू थपिँदै गए । सामान्य उपचार सेवाको सीमाबाट सुरु भएको केन्द्र विस्तार हुँदै देशकै महत्वपूर्ण क्यान्सर उपचार केन्द्रबाट नेपाल अर्बुद रोग निवारण संस्था भक्तपुर क्यान्सर अस्पतालको रूपमा स्थापित हुन पुग्यो ।
भक्तपुर क्यान्सर अस्पतालको विकाससँग जोडिएको अर्को महत्वपूर्ण अध्याय यसको संस्थागत स्वामित्व र व्यवस्थापनसँग सम्बन्धित छ । लामो समयसम्म नेपाल अर्बुद रोग निवारण संस्थाको सामाजिक अभियान र व्यवस्थापनअन्तर्गत विकसित भएको अस्पताललाई सरकारीकरण गर्ने क्रममा विभिन्न विवाद र हस्तक्षेपका अवस्था पनि आए । कर्मचारी तथा पूर्वकर्मचारीको उक्साहटपछि भक्तपुर नगरपालिकाको हस्तक्षेपसम्म पुगेको विषय अन्ततः सर्वोच्च अदालतसम्म पुग्यो । अदालतको निर्णयले संस्थाको पक्षमा न्याय स्थापित गरेपछि नेपाल अर्बुद रोग निवारण संस्था र नेपाल सरकारबीचको सम्झौतामार्फत अस्पताल हस्तान्तरणको प्रक्रिया अघि बढ्यो । अस्पताल हस्तान्तरणको अन्तिम चरण तत्कालीन अध्यक्ष महेश श्रेष्ठको नेतृत्वमा सम्पन्न भयो । यस प्रक्रियामा अघिल्ला सबै अध्यक्ष, कार्यसमिति, चिकित्सक, स्वास्थ्यकर्मी, सामाजिक अभियन्ता तथा शुभेच्छुकहरूको दीर्घ योगदानलाई संस्थागत यात्राकै हिस्साका रूपमा स्मरण गर्नुपर्छ ।
उपचार सेवा विस्तारसँगै दक्ष जनशक्ति निर्माणलाई पनि संस्थाले प्राथमिकतामा राख्दै आयो । क्यान्सर उपचारमा विशेषज्ञता हासिल गर्न चिकित्सक तथा स्वास्थ्यकर्मीलाई देशभित्र र विदेशमा प्रशिक्षण तथा अध्ययनका अवसर उपलब्ध गराउने प्रयास अघि बढ्यो । उपचार केवल अस्पतालको भवन, उपकरण र औषधिले मात्र सम्भव हुँदैन; दक्ष जनशक्ति, निरन्तर अध्ययन, प्रविधिसँगको अद्यावधिक सम्बन्ध र बहुविषयगत उपचार प्रणाली पनि उत्तिकै आवश्यक हुन्छ । यही सोचले संस्थाको उपचारसम्बन्धी यात्रालाई क्रमशः थप व्यवस्थित बनाउँदै लग्यो ।
क्यान्सरपीडितका लागि उपचारको पहुँचसँगै आर्थिक पक्ष सधैंँ ठूलो चुनौतीका रूपमा रहँदै आएको छ । आर्थिक अवस्था कमजोर भएका बिरामीलाई उपचारमा सहयोग गर्ने परम्परा संस्थाको सामाजिक अभियानको महत्वपूर्ण पक्ष बन्यो । बिरामी सहयोगको रकम ५० हजार रुपैयाँबाट १ लाख रुपैयाँसम्म पुग्नु र स्वास्थ्य बीमा सेवामार्फत १ लाख रुपैयाँसम्मको निःशुल्क उपचार सेवाका लागि नेपाल सरकारसँग सम्झौता हुनु यस यात्राका महत्वपूर्ण चरण हुन् । क्यान्सरका बिरामीलाई संस्थाको पहलमा मासिक ५,००० रुपैयाँ आर्थिक सहयोग दिँदै आएको व्यवस्था पनि बिरामीप्रतिको सामाजिक उत्तरदायित्वको महत्वपूर्ण उदाहरण हो । बिरामीलाई केवल उपचारको विषयका रूपमा नभई आर्थिक र सामाजिक कठिनाइसँग जुधिरहेको नागरिकका रूपमा हेर्ने दृष्टिकोणले संस्थाको सामाजिक भूमिकालाई अझ फराकिलो बनायो ।
क्यान्सर उपचारमा बिरामी मात्र होइन, परिवार र कुरुवाको पीडा पनि उत्तिकै गहिरो हुन्छ । उपचारका लागि टाढाबाट आउने परिवारलाई बसोबासको समस्या नपरोस् भन्ने उद्देश्यले भक्तपुर अस्पताल परिसरमा बिमारी कुरुवा घरको व्यवस्था पनि गरियो । काठमाडौंको खुलामञ्चमा आयोजित महाभागवत पुराणबाट प्राप्त सहयोगले त्यसको निर्माणमा महत्वपूर्ण आधार दिएको थियो । उपचारको क्रममा बिरामीसँगै रहने परिवारलाई सुरक्षित आश्रय दिनु स्वास्थ्य सेवाको मानवीय पक्षसँग जोडिएको महत्वपूर्ण प्रयास थियो ।
क्यान्सर उपचारको अर्को महत्वपूर्ण पक्ष बहुविषयगत चिकित्सकीय अभ्यास हो । विभिन्न विधाका विशेषज्ञ चिकित्सकबीच छलफल र सामूहिक निर्णयका लागि ट्युमर बोर्डको अभ्यासले उपचारलाई अझ वैज्ञानिक र समन्वित बनाउने आधार तयार गर्यो । एउटै बिरामीको उपचारमा शल्यक्रिया, रेडियोथेरापी, केमोथेरापी तथा अन्य विशेषज्ञ सेवाबीचको सम्बन्धले उपचारको गुणस्तर र निर्णय प्रक्रियालाई थप सुदृढ बनाउँदै लग्यो ।
नेपाल अर्बुद रोग निवारण संस्थाको अभियान अस्पतालको चार पर्खालभित्र सीमित रहेन । क्यान्सरको प्रमुख जोखिम तत्वका रूपमा रहेको धूम्रपान तथा सुर्तीजन्य पदार्थविरुद्धको अभियानले संस्थाको सामाजिक पहिचानलाई अझ व्यापक बनायो । जनसभा, पदयात्रा, साइकल तथा मोटरसाइकल मोटर र्याली, विभिन्न जिल्लामा पुगेर सञ्चालन गरिएका सचेतना कार्यक्रम, विद्यार्थीको सहभागिता र सार्वजनिक अभियानमार्फत सुर्तीजन्य पदार्थको प्रयोगबाट हुने स्वास्थ्य जोखिमबारे समाजलाई सचेत गराउने काम अघि बढ्यो ।
क्यान्सरविरुद्धको अभियानलाई जनस्तरसम्म पुर्याउन कला, संगीत र मनोरञ्जनलाई समेत माध्यम बनाइयो । नारायणगोपाल स्वर्णिम साँझदेखि दोहोरी गीत प्रतियोगिता, फेसन डिजाइन सो तथा विभिन्न सांगीतिक कार्यक्रमसम्मलाई सामाजिक सन्देशसँग जोडियो । १९ नोभेम्बर २०११ मा काठमाडौंको टुँडिखेलमा विश्वचर्चित डेनिस संगीत समूह ‘माइकल लन्र्स टु रक (एमएलटीआर)’ को प्रस्तुति भएको थियो । यस्ता कार्यक्रम मनोरञ्जनमा मात्र सीमित रहेनन्; क्यान्सरविरुद्धको सामाजिक अभियानमा नयाँ पुस्ता र समाजका विभिन्न वर्गलाई जोड्ने माध्यमसमेत बने ।
धूम्रपान त्याग्न चाहने व्यक्तिलाई सहयोग पुर्याउने उद्देश्यले ‘क्विट लाइन’ तथा क्यान्सर हेल्पलाइनको सुरुवात पनि संस्थाको जनस्वास्थ्य अभियानकै महत्वपूर्ण कडी हो । रोग लागिसकेपछि उपचार खोज्नु मात्र पर्याप्त हुँदैन, रोगको जोखिम घटाउने र स्वस्थ जीवनशैलीतर्फ मानिसलाई प्रेरित गर्ने निरन्तर प्रयास पनि आवश्यक हुन्छ भन्ने सोच यस्ता कार्यक्रममार्फत अभिव्यक्त भयो ।
सुर्तीजन्य पदार्थ नियन्त्रणको अभियान क्रमशः राष्ट्रिय नीति निर्माणसँग जोडिँदै गयो । विश्व स्वास्थ्य संगठन, सुर्ती नियन्त्रणसम्बन्धी अन्तर्राष्ट्रिय महासन्धि तथा नेपालका स्वास्थ्य नीतिसँग सम्बन्धित सरोकारवालासँगको सहकार्यमा संस्थाले आफ्नो आवाजलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मञ्चसम्म पुर्यायो । सुर्तीजन्य पदार्थको प्याकेटमा स्वास्थ्यसम्बन्धी चेतावनी तथा चित्रात्मक चेतावनी राख्ने विषयमा भएको कानुनी संघर्ष सर्वोच्च अदालतसम्म पुग्यो । जनस्वास्थ्यका पक्षमा अदालतमा उठाइएको यो प्रश्नले सुर्ती नियन्त्रणलाई केवल व्यक्तिगत व्यवहारको विषय नभई राज्यको सार्वजनिक स्वास्थ्य दायित्वसँग जोड्ने आधार बलियो बनायो ।
सुर्तीजन्य पदार्थमा स्वास्थ्य कर तथा कर नीतिमार्फत जनस्वास्थ्य संरक्षणको विषय उठाउने काम पनि संस्थाको अभियानको महत्वपूर्ण हिस्सा रह्यो । यसरी सडकको जनचेतनादेखि अदालतको कानुनी संघर्ष र नीति निर्माणको तहसम्म पुग्नु संस्थाको चार दशकभन्दा लामो यात्राको महत्वपूर्ण विशेषता हो ।
संस्थाको सम्बन्ध क्रमशः अन्तर्राष्ट्रिय संस्थासम्म फैलिँदै गयो । विश्व स्वास्थ्य संगठन, अन्तर्राष्ट्रिय क्यान्सर नियन्त्रण संघ (यूआईसीसी), अमेरिकन क्यान्सर सोसाइटीलगायत संस्थासँगको सम्बन्ध र सहकार्यले नेपालको क्यान्सरविरुद्धको अभियानलाई अन्तर्राष्ट्रिय अनुभवसँग जोड्ने अवसर प्रदान गर्यो । यूआईसीसीसँगको सम्बन्धले नेपालमा क्यान्सर नियन्त्रणका गतिविधिलाई विश्वव्यापी अभियानसँग जोड्ने बाटो फराकिलो बनायो । १८ देखि २० जनवरी २०१८ सम्म काठमाडौंमा आयोजित अन्तर्राष्ट्रिय स्तरको क्यान्सर सम्मेलन पनि यही अन्तर्राष्ट्रिय सम्बन्ध र सहकार्यको महत्वपूर्ण अवसरका रूपमा स्मरणीय छ । नेपालमै विभिन्न देशका विशेषज्ञ, चिकित्सक तथा सरोकारवालालाई एकै ठाउँमा ल्याएर क्यान्सर नियन्त्रण, उपचार र जनस्वास्थ्यका विषयमा अनुभव आदानप्रदान गर्ने अवसर त्यस सम्मेलनले प्रदान गर्यो ।
संस्थाको चार दशकभन्दा लामो यात्रामा राज्यका सर्वोच्च तहबाट प्राप्त साथ र सहभागिता पनि उल्लेखनीय पक्ष हो । क्यान्सरविरुद्धको सामाजिक अभियानले विस्तारै राष्ट्रिय सरोकारको रूप लिँदै जाँदा विभिन्न समयमा राष्ट्रप्रमुख तथा राज्यका उच्च तहबाट संस्थाका कार्यक्रमसँग प्रत्यक्ष सम्बन्ध जोडियो । राजा श्री ५ वीरेन्द्रदेखि नेपालको पहिलो राष्ट्रपति डा. रामवरण यादव तथा राष्ट्रपति विद्यादेवी भण्डारीसम्मले विभिन्न समयमा संस्थाका कार्यक्रम तथा क्यान्सरविरुद्धका अभियानमा सहभागी भई यस सामाजिक सरोकारप्रति ऐक्यबद्धता जनाउनुभएको छ । यस्तो सहभागिता कुनै औपचारिकता मात्र थिएन; क्यान्सरलाई व्यक्तिगत पीडाको घेराबाट निकालेर राष्ट्रिय स्वास्थ्य सरोकारको विषय बनाउने सामाजिक यात्राको एउटा महत्वपूर्ण संकेत पनि थियो ।
संस्थाको विस्तार उपचार र जनचेतनासँगै देशव्यापी सञ्जालतर्फ पनि अघि बढ्यो । ताप्लेजुङदेखि डडेलधुरासम्म शाखाहरू विस्तार हुँदै गए । क्यान्सरसम्बन्धी जनचेतना, रोकथाम, प्रारम्भिक पहिचान र सहयोगका गतिविधिलाई स्थानीय तहसम्म पुर्याउने उद्देश्यले शाखा विस्तारको क्रम अघि बढ्यो । ७७ वटै जिल्लामा संस्थाको उपस्थिति पुर्याउने लक्ष्यले क्यान्सरविरुद्धको अभियानलाई राजधानीकेन्द्रित सीमाबाट बाहिर लैजाने दृष्टिकोणलाई प्रतिनिधित्व गर्छ ।
चार दशकभन्दा बढीको यो यात्रा हेर्दा नेपाल अर्बुद रोग निवारण संस्था एउटा संस्थाको इतिहास मात्र होइन, नेपालमा क्यान्सरसम्बन्धी सामाजिक चेतना, उपचार सेवा, जनस्वास्थ्य नीति र नागरिक सहभागिताको विकासक्रमसँग जोडिएको इतिहासका रूपमा देखिन्छ । एउटा समय क्यान्सरको नाम सुन्नासाथ भय र निराशा पैदा हुने समाजमा आज क्यान्सरबारे खुलेर कुरा गर्ने, परीक्षण गराउने, उपचार खोज्ने र रोगविरुद्ध सामाजिक अभियान सञ्चालन गर्ने वातावरण निर्माण भएको छ । यस परिवर्तनको पछाडि राज्य, चिकित्सक, स्वास्थ्यकर्मी, सामाजिक अभियन्ता, दाता, स्वयंसेवक, सञ्चारमाध्यम र हजारौं नागरिकको साझा योगदान जोडिएको छ ।
तर यात्रा यहाँ समाप्त हुँदैन । क्यान्सरका बिरामीको संख्या बढिरहेको अवस्थामा उपचारको लागत, विशेषज्ञ जनशक्तिको उपलब्धता, अत्याधुनिक प्रविधिमा पहुँच, औषधिको नियमित आपूर्ति, प्रारम्भिक पहिचान र देशका दुर्गम भूभागसम्म गुणस्तरीय सेवा विस्तारजस्ता प्रश्न अझै गम्भीर छन् । उपचारमा पहुँचको असमानता र आर्थिक अवस्थाका कारण बिरामीले भोग्नुपर्ने कठिनाइ पनि समाप्त भइसकेको छैन । क्यान्सर नियन्त्रणलाई अस्पताल र औषधिको सीमाभन्दा बाहिर लैजाँदै रोकथाम, जीवनशैली, वातावरण, सुर्ती नियन्त्रण, प्रारम्भिक पहिचान र उपचारमा समान पहुँचलाई एउटै सार्वजनिक स्वास्थ्य दृष्टिकोणभित्र हेर्नुपर्ने समय अझै अगाडि छ ।
नेपाल अर्बुद रोग निवारण संस्थाको चार दशकभन्दा लामो यात्रा यस अर्थमा विगतको गौरवगाथा मात्र होइन, आगामी यात्राको आधार पनि हो । चेतनाबाट सुरु भएको अभियान उपचारसम्म आइपुगेको छ, सामाजिक अभियान नीति निर्माणसम्म पुगेको छ र स्थानीय प्रयास अन्तर्राष्ट्रिय सहकार्यसँग जोडिएको छ । अबको प्रश्न उपलब्धिको सूची थप्ने मात्र होइन, विगतका अनुभवबाट सिक्दै क्यान्सरपीडित नागरिकका लागि उपचार, सम्मान र आशाको दायरा कति फराकिलो बनाउन सकिन्छ भन्ने हो ।
क्यान्सरविरुद्धको लडाइँ अन्ततः कुनै एक संस्था, अस्पताल वा चिकित्सकको मात्र अभियान होइन । यो नागरिकको जीवनसँग जोडिएको राष्ट्रिय स्वास्थ्य अभियान हो । चार दशकभन्दा बढी समयदेखि नेपाल अर्बुद रोग निवारण संस्थाले बोकेको चेतना, सेवा र सामाजिक उत्तरदायित्वको यात्रा यही व्यापक मानवीय सरोकारसँग जोडिएको छ । चेतनादेखि उपचारसम्म र सामाजिक अभियानदेखि
नीति निर्माणसम्म फैलिएको यो यात्रा नेपालमा क्यान्सरविरुद्धको संघर्षको एउटा महत्वपूर्ण अध्याय बनेको छ ।