२०४६ सालमा प्रजातन्त्र त आयो, ख्वै कता आयो? कहाँ आयो? अनि कसरी आयो? जनतालाई सुख–सुविधा महसुस हुने गरी लोकतन्त्र आएको भए पो जाति हुन्थ्यो । लोकतन्त्र वा प्रजातन्त्र कुनै पनि मुलुकका लागि हितकर हुन्छ, तर लोकतन्त्रको सही सदुपयोग हुनुपर्छ । नेपालमा प्रजातन्त्र वा लोकतन्त्र सरसर्ती केवल लुटिखाने मेसो मात्र बन्यो । थोरै केही गरेको जस्तो देखाएर धेरै नचाहिँदा र नेताहरूले धनसम्पत्ति थुपार्ने काम मात्र देखियो नेपालको लोकतन्त्रमा ।
२०४६ सालको बहुदलीय प्रजातन्त्रका लागि होस् वा २०६२।६३ को लोकतन्त्रका लागि सहिदले आहुति दिएको कुरालाई उच्च सम्मान गर्नु सान्दर्भिक देखिन्छ । तर रुखबाट खसेका, भीरबाट लडेका, भलबाढीले बगाएका पनि सहिदको घानमा पर्दा त्यो जनभावना विपरित ठहरिन्छ । सहिदको नाममा मुलुकलाई बर्वाद गरिएकै हो । जनताको काँधमा चढेर नेताहरू मोटाए, उनीहरूको नै भविष्य बन्यो । विदेशी बैंकहरूमा चल्तापुर्जाका नेताहरूले करोडौँ–अर्बौँ धन थुपारेका समाचारहरू पनि आए । तर गरिब, निमुखा जनताका लागि प्रजातन्त्र वा लोकतन्त्र अफापसिद्ध भयो । राजनीतिका बारेमा धेरै अनुभव बटुलेका राजनीतिज्ञहरू पनि भ्रष्टाचारमा डुब्न थालेपछि जनता वाक्क–दिक्क हुने नै भए ।
प्रजातन्त्र आएको छोटो अवधिमा दर्जनौँ पटक सरकारहरू फेरिए । पूरा अवधि न संसद् चल्यो न त सरकार नै । पटकपटक मुलुकले मध्यावधि चुनावको भार बोक्नुप¥यो । जनताले कहिले कुन पार्टीको परीक्षण गरे त कहिले कुन पार्टीको । देशमा स्वतन्त्र जनता धेरै नै छन्, जसले कुनै एक पार्टीको समर्थन गर्दैनन् । राष्ट्रिय स्वतन्त्र पार्टीलाई भोट दिनेहरूमा काँग्रेस, एमाले, माओवादीका धेरै कार्यकर्ता हुनसक्छन् । आफ्नै पार्टीप्रति अविश्वास बढेपछि कार्यकर्ताहरूले विकल्प खोज्छन् । टाठाबाठा कार्यकर्ताहरूले गर्दा सोझा सिधा कार्यकर्ताहरूलाई उदेक लाग्नु स्वभाविकै हो पनि । देशमा २०४६ मा प्राप्त प्रजातन्त्र २०४८ देखि धरापमा पर्दैआएको देखिन्छ । आफ्नो पार्टीलाई लोकप्रिय बनाउनका लागि काँग्रेसको पालामा कर्मचारीलाई तलब ह्वात्तै बढाइयो भने एमालेको पालामा वृद्धभत्ताको व्यवस्था गरियो ।
त्यस्तै माओवादीले पनि आफ्नो पार्टी लोकप्रिय होओस् भनेर केही मसला नछरेको होइन । राप्रपा भने भुईँबाट माथि उठ्न सकेन, उल्टै ओखर फुटे झैँ टुक्राटुक्रा हुँदै गयो । जनता पार्टीहरूप्रति वितृष्णा हुँदै आउँदा जेनजी उर्लिएको कुरा प्रष्ट छ । जेनजी सरकारलाई साथ नदिने र तहसनहस बनाउन कोसिस गर्ने काम तिनै अनुभवि विगतमा राजनीतिक पार्टीहरूका नेताहरूबाट हुँदैआएका छन् । कम से कम जेनजी सरकारलाई काम गर्न दिएर केही समय हेर्नुपर्ने आवश्यक हुन्छ । जनमतको कदर गर्नु कुनै पनि राजनीतिज्ञहरूको कर्तव्य हुन आउँछ । यदि जेनजी सरकारले राम्रो काम गरेन भने जनताले नै हो अर्को परिवर्तन ल्याउने । त्यसैले जननिर्वाचित सरकारलाई ढलपल पार्ने काम अहिल्यै किन गर्ने ?करिब पच्चीस वर्षअघि बन्द अवस्थामा रहेको हेटौँडा कपडा उद्योग लिमिटेड हाल सञ्चालनमा आउने कुरा सुन्न पाउँदा नेपालीहरूलाई खुशी लाग्नु स्वभाविकै हो । तर कुरा मात्र होइन व्यवहारमा पनि लागू भयो भने त्यो मुलुकको हितमा हुनेछ, धेरैले रोजगार पाउनेछन् । पहिले कपास विकास समितिलाई व्युँताउनुपर्छ अनि बुटवल धागो कारखानालाई प्राण दिनुपर्छ, बल्ल मात्र हेटौँडा कपडा उद्योगलाई प्राण दिनुपर्ने थियो । एकैचोटी हेटौँडा कपडा उद्योग सञ्चालनका कुरा आउँदा धागोका लागि आयातमा भर पर्नुपर्ने अवस्था देखिन्छ ।
हेटौँडा कपडा उद्योग सञ्चालनका लागि तत्काल परीक्षण उत्पादन गर्ने र थप रणनीतिक योजनासहित पूर्ण क्षमतामा सञ्चालन गर्नका लागि आवश्यक खाकासहितको प्रतिवेदन सम्बन्धित मन्त्रालयमा बुझाइएको छ । रुग्ण उद्योग सञ्चालनका लागि विगतका पटकपटकका सरकारले कदम चाल्न खोजेको हो, तर सफल भने भएका थिएनन् । विगतका सरकारका एक जना अर्थमन्त्रीले रुग्ण भइसकेको वीरगञ्ज चिनी कारखानामा गएर ‘हामी यो कारखाना जसरी पनि सञ्चालन गरेरै छाड्छौँ’ भनेर काठमाडौँ फर्किएको केही महिनामै सरकार ढलेको थियो । कुनै पनि जिम्मेवार व्यक्तिले त्यसरी बोल्नु हुँदैन । राजनीतिमा जुनसुकै बेला जे पनि हुनसक्ने हुँदा ठोकुवा गरेर त्यसरी बोल्नु उचित हुँदैन । उनले भने अनुसार न कारखाना चल्यो न त ती सरकारी जिम्मेवार व्यक्तिले भनेको कुरा पत्याइयो । सरकारी उद्योग वा कारखानामा कुनै पनि पार्टीहरूले राजनीति गर्नु राम्रो होइन ।
उद्योग परिसरमा पार्टीले महाधिवेशन गर्ने काम उचित होइन । उद्योग बन्द भएको आठ वर्षपछि तत्कालीन अर्थमन्त्री बाबुराम भट्टराईले नौ करोड बजेट छुट्याएकोमा उद्योग सञ्चालन भने भएन । त्यसपछि पनि उद्योगका लागि हरेक आवमा बजेट छुट्याइयो, तर अर्थहीन बन्यो । कागजमा मात्र सीमित रहने गरी कार्यदल बनाउने, अध्ययन गर्ने मात्र काम भयो । उन्नाइस वर्षसम्म निरन्तर नाफामा चलेको हेटौँडा कपडा उद्योग २०५४ सालदेखि घाटामा चल्नथाल्यो । अरु सरकारी उद्योगमा झैँ हेटौँडा कपडा उद्योगमा पनि राजनीतिक हस्तक्षेप र राजनीतिक नियुक्ति अनि पटकपटकको श्रमिक आन्दोलनका कारण उद्योग धरासायी हुँदै गयो । दुईवटा सरकारी उद्योगमा आठ कक्षा मात्र पढेकालाई सञ्चालक समितिको सदस्यमा नियुक्त गरिएको कुरा यो लेखकलाई जानकारी छ । विज्ञता नभएका व्यक्तिहरूलाई सरकारी संस्थानहरूमा हुल्नु उपयुक्त थिएन ।
कुनै एक सरकारी उद्योगका मजदुरले महाप्रवन्धकलाई धम्क्याउने, हातपात मात्र होइन, लात पनि बर्साउने गरेको तीतो कहानी यस लेखकलाई थाहा छ । एक महाप्रवन्धक बनेर आएपछि संस्थानको गाडीमा तरुनी घुमाउने गरेको कुरा त सामान्य नै भयो । पार्टीको कार्यकर्ता हुनु नै ठूलो योग्यता ठानिएपछि सरकारी उद्योगहरू डुब्न गएको कुरा छर्लंगै छ ।लोकतन्त्र भनेर राजासँग बदला लिन सरकारी उद्योगहरू ध्वस्त पार्नु वा धरासायी तुल्याउनु राम्रो काम थिएन, बरु थप सरकारी उदेयोगहरू स्थापना गरेको भए कैयन युवाहरूले रोजगारी पाउने थिए । खाडी मुलुकको भर पर्नुपर्ने थिएन । कतिपय उपभोग्य वस्तुहरूका लागि आयातमा भर पर्नुपर्ने पनि थिएन । लोकतन्त्रवादीहरू साँच्चिकै हुन् वा नाटकीय भन्ने कुरा प्रष्ट भएन । गाउँगाउँमा बाटो पुगेकोलाई मात्र लोकतन्त्र भन्ने अवस्था छैन । पञ्चायत काल भए पनि गाउँगाउँमा बाटो पुग्थ्यो, विद्युत् विकास पनि अहिले झैँ भइसक्थ्यो । यो गर्यौँ र ऊ गर्यौँ भनेर धाक लगाउन पाइन्न, समयले विकास हुँदै जाने हो । नानाथरी तन्त्रको कुरा आवश्यक छैन । लोकतन्त्रमा विकासका क्रममा कच्चा काम गरेर कमिसन खाने र भ्रष्टाचार गर्ने गरेका धेरै समाचारहरू बाहिरिसकेका छन् ।
विकास त त्यो हो, जहाँ कमिसन र भ्रष्टाचार जोडिँदैन र निर्माणका कामहरू पक्का हुनेगर्छ । पञ्चायतकालमा नेताहरूभन्दा कर्मचारीहरू भ्रष्ट देखिन्थे भने लोकतन्त्रमा कर्मचारीहरूभन्दा नेताहरू बढी भ्रष्टाचारी भएका देखिन्छन् । ठगहरूसँग साँठगाँठ, गुण्डाहरूसँग हातेमालो, माफियाहरूसँग मिलेमतो, तस्करहरूसँग अंकमाल गरेर जनतालाई बेबकुफ बनाइनु के लोकतन्त्र हो? लोकतन्त्र साँचिकै लोकतन्त्र हो भने युवाहरूलाई विदेश जानबाट रोक्नुपर्छ । के युवाहरूलाई विदेशमा दास बनाउन बाध्य पारिनु लोकतन्त्र हो? अपराधीहरूका विरुद्ध उजुरी दिँदा उल्टै उजुरीकर्ता दुःखको भुमरीमा पर्छन् । फटाहाहरूले आफ्नो कालो धन्दा चलाइरहेका छन् नेताहरूको संरक्षणमा । सर्वहारा भनाउँदाहरूको घाँटीमा पाँचतोलाको दाम्लो पनि नदेखिएको होइन, गरिब र सुकुम्बासीको नाम भजाएर करोडपति बन्नेहरू नभएका होइनन् यहाँ ।
नयाँ उद्योगहरू थपिएमा मजदूरहरूले रोजगार पाउँछन्, साथै कच्चापदार्थ आपूर्ति गर्ने किसानहरूलाई राहत मिल्छ नगदे बाली उत्पादकत्वको कारण । सरकारी उद्योगहरू टाट पल्टाउँदै कौडीको भाउमा बेचेर कमिसन खाने अनि समृद्ध मुलुक भन्न सुहाउँछ? बेरोजगारको अवस्था सृजना गर्ने अनि सुखी नेपाली भन्ने? यहाँ कामभन्दा कुरा धेरै भइसके । विगतका कुराहरू गर्नुपर्दा सत्ता र कुर्सीका लागि हानाथाप भए । सधै टेकोको भरमा सरकार बन्नु नेपालीहरूका लागि दुर्भाग्य थियो भन्नुमा कुनै सन्देह छैन । हत्यारा, गुण्डा, माफिया, भ्रष्टाचारी पनि मन्त्री बन्ने कस्तो मुलुक हो यो? जता हेर्यो बेथिति बाहेक केही छैन झिना मसिना काम बाहेक । हरेक मन्त्रालयमा गएर मन्त्रीको सचिवालयमा एकछिन बसेर हेर्यो भने त्यहाँ मोटाघाटा, चिल्ला, सुकिला–मुकिला बाहेक गरिब, दुब्लाखालका मानिसहरू देखिँदैनन् ।
फटाहाहरूको सलबलाहट देखिन्थे मन्त्रीका सचिवालयहरूमा । मन्त्री पनि कस्ता कस्ता? डान्सबारबाट तरुनी उठाएर ल्याउने अनि कम्प्युटर अपरेटरमा भर्ना गरेका कुराको साक्षी यो लेखक नै हो । यस्ता नचाहिँदा काम कुरा हुन्थ्यो हाम्रो सिंहदरबारमा । नेताहरू नै चरित्रहीन भएपछि मुलुक कसरी उँभो लाग्थ्यो? स्वकीय सचिवले तरुनी कार्यकर्तालाई सचिवालयको ढोकामा चुकुल ठोकेर भित्र राखेको पनि यो आँखाले देखेकै हो ।
सिंहदरबार भनेको त विभिन्न खेलहरू खेलिने रंगशाला र विविध नाटकहरू मञ्चन गर्ने रंगमञ्च बन्दै आएको थियो । सिंहदरबारभित्र सरकारी नम्बर प्लेटका गाडीहरूभन्दा निजी नम्बर प्लेटका गाडीहरूको संख्या धेरै देखिनु दुःखद् विषय हो । त्यस्ता दृश्यहरूले सिंहदरबारमा के पाकिरहेको छ र गाँस खानका लागि त्यहाँ को–कोले प्रवेश पाउँछन् भन्ने प्रश्न उब्जिन्थ्यो । मन्त्रीहरू भ्रष्टाचारमा, नगरप्रमुख अनियमित काममा, गाउँपालिका प्रमुख र वडाअध्यक्षहरूसमेत भ्रष्टाचारमा लिप्त भएका समाचारहरू ह्वाह्र्वार्ती आइरहनु के यही हो त लोकतन्त्र? यो त ठोकतन्त्र हो । नेताहरूमा इमानदारिता नभएकै कारण जेनजीको नाममा आक्रोसको उत्पत्ति भयो । हुन त नक्कली जेनजीका कारण मुलुकले धेरै नै क्षति व्यहोर्नुपरेको बताइन्छ ।
अन्त्यमा, विगतका सरकारहरूमा बस्नेहरूकै कारण डुबेका सरकारी औद्योगिक संस्थानहरूमध्ये हेटौडा कपडा उद्योग झैँ अरु पनि क्रमशः सञ्चालन गर्नेतर्फ सोच्नु जरुरी छ र प्रत्यक्ष तथा अप्रत्यक्ष रोजगारीको अवसर पुनः सिजना गर्नु अति नै जरुरी छ । सरकारको तर्फबाट थप उद्योगहरू खोल्नु पनि आवश्यक छ । जसले गर्दा कामका लागि विदेश जान बाध्यता नहोस् ।